१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

सन्ततिको जिम्मामा हिराको र्याकेट

गुवाहटी- स्क्वासको 'हीरा' भनेर चिनिने हीराबहादुर थापाले सन्नतिको काँधमा जिम्मेवारी सुम्पदै र्यािकेट बिसाउने भएका छन्। छोराछोरीसहित खेल्न आइपुगेका उनले जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) लाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बनाए।

हिराको यो लगातार चौथो साग खेलकुद सहभागिता हो। पहिलोपल्ट उनले सन् २००४ को इस्लामावादको नवौं साग खेल्दा पदक जिताए। उनीसम्मिलित टोलीले टिम इभेन्टमा कांस्य जितेको थियो। त्यसयताका सबै साग खेलेका हिराको गलामा सागको पदक भने त्यही एउटा नै रह्यो। राजीव गान्धी बरुह स्पोर्टस कम्प्लेक्सको स्क्वास कोर्टमा पुरुष टिम इभेन्टको खेल बंगलादेशसँग २–१ ले गुमाएपछि सागमा हिराको दोस्रो कांस्य जित्ने अवसर गुमाएको थियो। बाबुछोरासहित अरहान्तकेशर सिंहले टिमबाट प्रतिस्पर्धा गरेका थिए। बंगलादेशी सहिद इस्लामको खेल नै हिराका लागि अन्तिम अन्तर्राष्ट्रिय स्पर्धा हुनेछ।

उमेर त हिराको ४८ वर्ष कटिसकेकेा छ। त्यसैले पनि उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा र्यागकेट बिसाउने निर्णय गरेका हुन्। 'धेरै खेलियो, अब नयाँ पिंढीलाई पनि अवसर दिनुपर्छ,' उनले भने। अब हिराको ध्यान नेपालमा स्क्वासलाई फैलाउनु हुनेछ।

स्क्वासको विकास र विस्तारमा लाग्न आफनो ध्यान केन्द्रित हुने उनले बताए। उनले भने, 'स्क्वास बामेसर्ने अवस्थामा छ, त्यसलाई दरिलोसँग हिड्ँने अवस्थामा लैजाने सोच छ।'

उनको सोचलाई साकार पार्नका लागि आफना दुवै सन्तानलाई स्क्वास खेलाडी बनाइसकेका छन्। छोराछोरी दुवै राष्ट्रिय च्याम्पियन हुन्। दुई वर्षअघि छोरा अमृतले नै हिराको राष्ट्रिय च्याम्पियनको ताज खोसेका थिए। बाबुलाई हराएर अमृत च्याम्पियन भएका थिए। जबकि हिरा १९९४ देखिका राष्ट्रिय च्याम्पियन हुन्।

छोरी कृष्णाले भने दोस्रोपल्ट सागको पदक चुमेकी छन्। उनीसम्मिलित महिला टिम इभेन्टमा नेपालले कांस्य जितेको थियो। यसअघि १३ वर्षमै कृष्णा १० औं कोलम्बो साग खेल्ने मौका पाइन्, जहाँ नेपालले टिम इभेन्टमा कांस्य पाएको थियो।

हिराबहादुर भन्छन्, 'विरासत धान्ने जिम्मेवारी छोराछोरीको काँधमा छाडेको छु। मैले प्राप्त गर्न नसकेको सफलता यिनीहरुले प्राप्त गर्ने छन् भन्ने आशा छ। मेरो सम्पत्ति भन्नु नै यिनीहरुको सफलता हो।'

गोरखा बक्राङ गाविस ९ का स्थायी बासिन्दा हिराको काठमाडौं बसाइ ०४५ सालदेखि हो। उनी सातदोबाटोस्थित स्क्वास एकेडेमीमै बस्छन्। त्यहींबाट फक्रेका खेलाडी हुन् उनी।

चौथो साग खेलिसकेका हीरा अनुभव यसरी सुनाउँछन्, 'हामी नतिजामात्र राम्रो खोज्छौं, त्यो नतिजाका के गर्नुपर्छ भन्ने कहिल्यै सोच्दैनौं। सफलता पाउन त पर्याप्त लगानी अनि पूर्वाधार चाहिन्छ। त्यसमा हामी धेरै पछाडि छौं। जबसम्म त्यसमा सुधार ल्याउन सक्दैनौं, तबसम्म प्रतिस्पर्धीलाई टक्कर दिन सक्दैनौं। जुनसुकै खेलमा पनि दक्षिण एसियामा हामी जहाँको तहीं छौं, अरुले धेरै प्रगति गरिसकेका छन्। त्यसलाई राज्यले मनन गर्नुपर्छ। छोटो तयारीमा आएर स्वर्ण जित्ने कल्पना गर्नु मुर्खता हुन्छ।'

१३ औं साग हामीले आयोजना गदैछौं भने अहिल्यै त्यसको तयारी थाले मात्र राम्रो नजिता दिन सकिने उनको भनाइ थियो।

सन् २००६ मा भारतमै सम्पन्न बजाज एलमन्ड ड्रप स्क्वास च्याम्पियनसिपको प्रदर्शन खेलजीवनकै उत्कृष्ठ ठान्ने उनले त्यतिखेर ३५ वर्षमाथि दोस्रो स्थान पाएका थिए। हिराले भने, 'खेलाडी जीवनकै उच्च फर्ममा थिएँ। बजाज च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरे। त्यो मेरो खेलाडी जीवन गौरवमय क्षण हो, जहाँ विश्वका शीर्ष बरीयताका खेलाडीलाई टक्कर दिएको थिएँ।'

हिराबहादुर राष्ट्रिय खेलकुद परिषदको सहायक करार प्रशिक्षकमै सीमित छन्। उनी दिक्दारी व्यक्त गर्छन्, 'कहिलेकाहीं त किन लागें हुँला भन्नु सोच्छु। जिन्दगी बितिसक्यो। फेरि जे जस्तो छु त्यसमै चित्त बुझाउँछु।'

छोराछोरीलाई पनि आफ्नै पथमा ल्याउन सफल भएकोमा भने उनी निकै खुसी छन्। भन्छन्, 'छोराछोरी मैले डोर्याकएको बाटोमा हिँडेका छन्। त्यसमा एकदमै खुसी छ। मैले गर्न नसकेको उनीहरुले पूरा गर्छन् भन्ने आशा छ।'

उनकी छोरी कृष्णा पनि बाबुले आफूप्रति राखेको विश्वास मर्न नदिने बताउँछिन्। सँगै रहेकी उनी भन्छिन्, 'बुबाले जसरी हामीलाई यसमा लाग्न प्रेरित गरेर यहाँसम्म आइपुगेका छौं। यसलाई धेरै माथि लैजाने लक्ष्य छ।'

प्रकाशित: २८ माघ २०७२ २२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App