८ वैशाख २०८१ शनिबार
खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरा रंगशालाकाे निरीक्षण

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पोखरा रंगशालाको शनिबार बेलुकी अवलोकन गरेका छन्। आइतबार दिउँदो घिसिङले नै बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालयबारे पनि जानकारी लिएका छन् । 

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालाभित्रको आवश्यक भौतिक पूर्वाधारको अवलोकन गरेका थिए। शनिबार बेलुकी हुनै लाग्दा पूर्वाधार हेरेर फकिएको यो भने पहिलो घटना होइन। यसअघि १३ औं दक्षिणएशियाली खेलकुद प्रतियोगिताको समयमा समेत तत्कालिन युवा तथा खेलकुद मन्त्री एवं सदस्य सचिवले साँझमै पूर्वाधार हेरेका थिए। दक्षिण एशियाली खेलकुदका लागि आएका डेलिगेट्सले पनि साँझै पूर्वाधार हेरेर फर्किएका थिए।  

‘झमक्कै साँझ परेको थियो। सदस्य सचिव आउनुभयो। रंगशाला अवलोकन गरेर होटल फर्र्किनु भयो,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यलय प्रमुख लक्ष्मणप्रसाद योगीले भने, ‘साँझमा पूर्वाधारसहित सदस्य सचिवले सोलार बत्तीको समेत अवलोकन गर्नुभएको थियो।’ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा पोखरा रंगशालाभित्रको अधिकांश पूर्वाधारमा सोलार बत्ती जडान गरिएको छ। सोलार बत्तीकै कारण साँझमा पनि प्रशिक्षण गर्न सहज भएको छ।  

आईतबार बिहान सदस्य सचिव घिसिङले पोखरा लामाचौरस्थित गण्डकी आवासिय विद्यालयको प्राङ्गणभित्र रहेको पौडी पोखरी, फुटबल मैदान तथा कभर्ड हलको निरीक्षण गरेका थिए। त्यसभन्दा अघि सदस्य सचिव घिसिङले पोखरा–१७ दोविल्ला सहारा एकेडेमीले समेत निरीक्षण गरेर फर्किएका थिए। केही दिन अघि मात्रै खेल व्यवस्थापन उपसमितिका संयोजक लगायतको टोलीले सहारा एकेडेमीको मैदानलाई रग्बीको लागि प्रस्ताव गरेको थियो। प्रस्ताव गरेपनि परिषदले ठोस निर्णय भने गरिसकेको छैन् । संघहरुको सल्लाह अनुसार नै खेल मैदान तय गरिने छ।  

‘हामीले एकेडेमीलाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको भेन्यु बनाउन आग्रह गरेका छौं ।’ सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले भने, ‘खेल व्यवस्थापन उपसमितिले पनि अवलोकन गरेर रग्बीको लागि प्रस्ताव गरेको छ।’ उनका अनुसार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिकले पनि रग्बीको लागि उपयुक्त हुने ठहर गरेका छन्। उनका अनुसार सदस्य सचिवले मैदानको लम्बाई चौडाईको मापदण्ड सोधेपछि एकेडेमीको मैदान राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि एउटा भेन्यु बन्ने अपेक्षा क्लबले गरेको छ।  

सदस्य सचिवसहितको टोलीले दिउँसो पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदानको निरीक्षण गरेर फर्किएको छ। सचिवले गोस्ते खेल मैदान अवलोकन गर्दै मैदान निर्माण पुरा गर्ने तर्फ आफु केन्द्रीत हुने स्पष्ट पारे। ‘मैदान राम्रो बनेको छ। यसलाई पुरा गर्नुपर्छ। मेरो ध्यान पुरा गर्ने तर्फ छ,’ सदस्य सचिवको भनाई थियो। युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद, पोखरा महानगरपालिका लगायतका विभिन्न संघसंस्थाको सहयोगमा गोस्ते खेल मैदान निर्माण गरिएको खेल मैदान निर्माण उपभोक्ता समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले बताए।  

प्रकाशित: २२ श्रावण २०७९ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App