१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

समूह चरणबाटै नर्वेको बहिर्गमन

अस्ट्रियासँग शुक्रबार १–० गोलअन्तरले पराजित नर्वेको महिला युरोकप २०२२ को यात्रा समाप्त भएको छ।

‘ए’ मा सम्पन्न तीन खेलमध्ये दुई खेल गुमाएको नर्वेको यात्रा पराजयपश्चात् समाप्त भएको हो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोली स्पष्ट जितका लागि मैदान उत्रिएका थिए। तर, ३७औं मिनेटमा अस्ट्रियाकी निकोल बिलाले हेडरमार्फत गोल गर्दै अग्रता दिलाइन्। त्यसपछिको बाँकी समयमा थप गोल हुन नसक्दा निकोलको गोल नै निर्णायक बन्यो र नर्वेको युरोकप २०२२ को यात्रा समाप्त हुनपुग्यो। लियोनकी स्टार अदा हेगर बर्गबिना मैदान उत्रिएको नर्वेलाई त्यो निर्णय निकै महँगो साबित भयो।

नर्वेको र क्षापंक्तिमा तालमेलको अभाव हुँदा अस्ट्रियाले त्यसको फाइदा लियो र गोल पनि गर्‍यो। अस्ट्रियाले सोही अग्रता अन्तिम मिनेटसम्म कायम राख्दै क्वार्टरफाइनलमा स्थान बनायो। समूह ‘ए’ बाट इङ्ल्यान्डले सतप्रतिशत नतिजासहित अन्तिम आठमा स्थान बनाइसकेको छ। लगातार दुई खेलमा स्पष्ट जित निकाल्दा अघिल्लो चरणको यात्रा निश्चित गरेको इङ्ल्यान्ड शुक्रबार पनि अपराजित यात्रालाई निरन्तरता दिन सफल भयो। सोही क्रममा इङ्ल्यान्डले उत्तरी आयरल्यान्डमाथि ५–० को रबाफिलो जित निकाल्यो।

आयरल्यान्ड भने जितविहिन रहँदै प्रतियोगिताबाट बाहिरियो। यस समूहबाट इङ्ल्यान्ड विजेता र अस्ट्रिया उपविजेता बन्दै अन्तिम आठमा प्रवेश गरे। पहिलो हाफमा पछि परेको नर्वे दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। अघिल्लो चरण प्रवेशका लागि नर्वेलाई ठूलो अन्तरको जित आवश्यक थियो।

सोही रणनीतिका साथ मैदान उत्रिए पनि अस्ट्रियाको बलियो र क्षापंक्ति नर्वेले पार गर्न सकेन। नर्वेलाई ठूलो अन्तरको जित आवश्यक थियो। तर, उल्टै नर्वेले गोल बेहोर्‍यो। नर्वेकी गोलकिपर गुरो पिटरसनले धेरै उत्कृष्ट बचाउ गरिन्। उनको उत्कृष्ट खेल रहे पनि अग्रपंक्तिले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नर्वेले गोल बेहोर्‍यो।

नर्वे अघिल्लो खेलमा इङ्ल्यान्डसँग ८-० को फराकिलो अन्तरले स्तब्ध भएको थियो। त्यसअघि नर्वेले आयरल्यान्डमाथि ४–१ को जित निकाले पनि सोही प्रदर्शन निरन्तरता दिन सकेन। नर्वेका प्रशिक्षक मार्टिन सोजग्रेनले अपेक्षा अनुसार खेलाडीको प्रदर्शन नहुँदा बाहिरिनुपरेको प्रतिक्रिया दिए। ‘हामीले केही खेलाडीबाट धेरै अपेक्षा राखेका थियौं। अपेक्षा गरिएका खेलाडीबाट सन्तोषजनक प्रदर्शन भएन र उनीहरू चल्न सकेनन्। बार्हिगमनका कारण निःशब्द छु,’ नर्वेका प्रशिक्षक मार्टिनले भने। 

पूर्व बालोन डिओर विजेता हेगर बर्गले भने हारको जिम्मा सबैले लिनुपर्ने र आफैं पनि त्यसको हिंसा भएको बताइन्। अर्को खेलमा फराकिलो जित निकाल्ने क्रममा इङ्ल्यान्डका लागि एलिसिया रुसोले दुई गोल र फ्रान किरबाई तथा बेथ मेडले समान १/१ गोल थपे। इङ्ल्यान्डले एक गोल भने उपहार पायो। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा फ्रान किरबाइको गोलबाट इङ्ल्यान्डले अग्रता लियो।  

४५औं मिनेटमा नै अर्को गोल थप्दै इङ्लिस टोलीले पहिलो हाफमा २–० को अग्रता बनायो। पहिलो हाफमा लिएको अग्रतापछि उच्च मनोबलमा रहेको इङ्ल्यान्डले दोस्रो हाफमा तीन गोल थप्यो। रुसोले ४८औं र ५३औं मिनेटमा गोल गर्दै अग्रता ४–० मा पुर्‍याइन्। आयरल्यान्डकी ज्याक्विलन ब्रुनोले ७६औं मिनेटमा उपहार गोल दिइन्। पछि परेको आयरल्यान्डले खेलमा फर्किन प्रयास गरे पनि सफलता पाउन सकेन। उल्टै इङ्ल्यान्ड फराकिलो अन्तरमा जित निकाल्न सफल भयो। 

प्रकाशित: १ श्रावण २०७९ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App