२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘प्रतिभावान् खेलाडी उत्पादनमा सक्रिय हुन्छु’

सोलुखुम्बुको टाप्टिङका स्थायी बासिन्दा कमल मगर सानैमा काठमाडौंमा नै आएर पढे। जोरपाटीमा रहेको समता स्कुलमा पढ्ने उनी सानैदेखि खेलकुदप्रति निकै मोह राख्थे। गाउँघरमा अरू खेलेको देख्दा उनलाई पनि खेलौंखेलौं लाख्थ्यो।

तर, गाउँघरमा बस्दा उनले खेल्ने अवसर भने पाएनन्। त्यो अवसरमा जुर्‍यो, वि.सं.२०६० सालमा। उसुका खेलाडी भएर उनले खेल्ने रहर मेटाए। उनी बस्नेनजिकै उसु क्वान (खेल्ने ठाउँ) थियो। उनकी दिदी विमल थापामगरले उनलाई त्यहाँ भर्ना गरिदिइन्। जहाँ उनले उसुका प्रशिक्षक उद्धव थापामगरसँग उसु सिके। त्यति बेला कक्षा एकमा पढ्दै थिए, उनी। त्यस कारण पनि खेलबारे कमल पूर्ण जानकार थिएनन्। पछि खेल्दै जाँदा मात्र उनलाई आफूले के खेलेको रहेछु भन्ने थाहा भयो।

बिस्तारै यो खेलप्रति उनमा लगाव जाग्यो। उनलाई उसु निकै आकर्षक र फुर्तिलो खेल लाग्यो। त्योभन्दा पनि उनी मार्सल आटर्सप्रति रुचि नै राख्थे। चाइनिज कुम्फु फिल्म उनी खुबै हेर्थे। त्यसको प्रभाव पनि उनमा पर्‍यो। ‘सानोमा खेल्न म खुब मन पराउँथें रे। त्यसैले दिदीले खेलमा भर्ना गरिदिनुभएछ। खेल्दाखेल्दै खेलबारे जानकार भएँ र मोह पनि जाग्यो। पढाइ र खेललाई सँगै अगाडि बढाएँ,’कमलले भने, ‘खेलकै कारण ममा आत्मविश्वास पलायो। जे जति पाएँ खेलकै कारण सम्भव भयो।’

उनी स्कुलमा पढ्दै गर्दा उसु प्रशिक्षण पनि गराउँथे। केही प्रतियोगिता भइहाल्यो भने पनि कमल प्रतिस्पर्धा गर्न जान्थे। त्यहाँ पाउने सफलताका कारण उनले खेलमा भविष्य देखे। उनमा  महत्त्वाकांक्षा जागयो। ‘खेल या अन्यभन्दा खेल नै रोजेँ,’ कमलले भने, ‘दिदी संगीतकर्मी हुनुहुन्थ्यो र उहाँले संगीत पनि सिकाउनुभयो। तर, मैले खेल नै रोजेँ।’ खेल्दै जाँदा उनले आफैंले खेल्ने ठाउँमा सिकाउने अवसरमा पनि पाए। कमलका गुरु उद्धव थापामगरले उनमा क्षमता देखे र उनलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिए।

त्यसले गर्दा उनमा थप आत्मविश्वास बढ्न थाल्यो। ‘म ९ कक्षामा पढ्दै थिएँ। त्यति बेला गुरु पनि निकै व्यस्त हुन थाल्नुभयो। सिनियर पनि भइसकेको थिएँ। त्यसैले उहाँले मलाई नै क्वानमा सिकाउने जिम्मेवारी दिनुभयो। खेल्ने र सिकाउने फरक पाटो थियो,’ उनले भने, ‘सिकाउँदा थप जिम्मेवारीबोध हुने रहेछ। हरेक दिन नयाँ सिकाउन पाए हुन्थ्यो भन्ने लाग्यो। त्यसले मलाई थप अध्ययनशील बनायो र आत्मविश्वास पनि बढ्यो।’ विसं २०७० सालमा उनले समता स्कुलबाट एसएलसी दिए। त्यसपछि उनलाई गुरुले त्यो क्वान नै सुम्पिदिए।

त्यसयता उनी जोरपाटीमा प्रशिक्षण गराउँदै आएका छन्। क्याम्पियन कलेजबाट प्लस टु पूरा गरेपछि कमलले आफ्नो व्यवसाय पनि सुरु गरे। उनले ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि प्रशिक्षण केन्द्रको स्थापना गरे। जोरपाटीमा किङ गोर्खा नामक प्रशिक्षण केन्द्रका उनी प्रशिक्षक पनि हुन्। ‘मैले खेल करियर र व्यावसाय सँगै अगाडि बढाएँ। खेलले मलाई व्यवसाय सञ्चालनमा थप आत्मविश्वास दियो। अहिले खेल पनि व्यावसायिक भइसकेको छ। खेलाएर कमाउने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘दुई स्थानमा प्रशिक्षण केन्द्र खोलेको छु।’

अहिले उनले खेलबाटै व्यावसायिक उडान पनि भरेका छन्। विसं २०६० सालयता उसु खेल्दै आएका उनी पछिल्ला समय उमा कुङ्फुका खेलाडी भए। कमलका गुरु नै उमा कुङ्फुतर्फ जोडिएकाले उनी पनि त्यसतर्फ प्रेरित भए। जहाँबाट उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता पनि प्राप्त गरे। यसलाई नै उनले करियरका रूपमा रोजे र आफूले खेलेका अधिकांश प्रतिस्पर्धामा पदक प्राप्त गरे। उसु र उमा कुङ्फुको खेल्ने शैली मिल्छ। उसुको उत्पत्ति चीनबाट भयो भने उमा कुङ्फुलाई इङ्ल्यान्डले परिष्कृत रूपमा अगाडि बढायो।

उमा कुङ्फुमा लागेपछि उनले चीनको बेइजिङस्थित बेइजिङ साउलिन उसु स्कुलबाट डिप्लोमा सम्म अध्ययन गरे। ‘उमा कुङ्फुमा लागेपछि बेइजिङमा गएर पढेँ। हरेक दिन आठ घण्टा पढाइ र अभ्यास गर्नुपर्थ्यो। त्यहाँबाट ७ वटा विधामा डिप्लोमा पूरा गरें। त्यो दिन सम्झँदा गर्विलो महसुस हुन्छ,’ उनले भने। उमा कुङ्फुकै तेस्रो डान प्राप्त कमलले सन् २०१२ मा पहिलोपटक अन्तर्राष्ट्रिय पदकको सफलता चुमे। इङ्ल्यान्ड सम्पन्न पहिलो उमा कुङ्फु च्याम्पियनसिपका उनी स्वर्ण विजेता हुन्।

उनले तेस्रो डान भने सन् २०२० मा उमा कुङ्फुको हेडक्वार्टर युकेबाट प्राप्त गरे। बेइजिङको साउलिन उसु स्कुलबाट उनले कुङ्फुको डिप्लोमा पनि पूरा गरेका छन्। सन् २०१८ र ०१९ उनको खेल करियर यादगार बन्यो र यो दुई वर्ष उनले सीमित प्रतिस्पर्धाबाट पनि धेरै सफलता पाए। युकेमा सन् २०१८ मा सम्पन्न उमा विश्व च्याम्पियनसिपमा उनले स्वर्ण पदक जिते।

सोही वर्ष नै थाइल्यान्डमा सातौं अन्तर्राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा पनि उनले स्वर्ण पदक दोहोर्‍याए। जहाँ उनले फरक विधामा रजत पदक पनि जिते।

लगत्तै अर्को वर्ष पनि उनले दुई स्वर्ण, तीन रजत र एक कांस्य पदक हासिल गरे। क्रोएसियामा सम्पन्न डब्लुएमएसी विश्व मार्सल  आटर्स गेम्समा उनी दुई स्वर्ण र एक रजत पदक हासिल गर्न सफल भए। अस्ट्रियाको वर्ल्ड गेम्समा भने उनी स्वर्ण पदकविहीन भए र जहाँ उनले दुई रजत र एक कांस्य पदकमा चित्त बुझाउनुपर्‍यो। उनी अहिले उमा कुङ्फुको राष्ट्रिय रेफ्री र इन्सट्रक्टर पनि हुन्। ‘प्रतियोगितामा सहभागी भइनँ भने रेफ्री गर्छु। यसले आफूलाई प्राविधिक पक्षमा थप बलियो बनाउँछ। त्यसैले रेफ्री कोर्स गरेको हुँ,’ कमलले भने।

पछिल्ला समय उनी खेलाडी उत्पादनमा सक्रिय छन्। जोरपाटी र सानेपा दुई ठाउँमा उनी प्रशिक्षण गराउँछन्। ‘मेरो गुरुको शिक्षाले नै गर्दा मैले धेरै पाएँ। म पनि देशका लागि खेलाडी उत्पादन सदैव खेट्नेछु। मैले विदेशमा सिकेका ज्ञान प्रतिभावान् खेलाडी उत्पादनमा लगाउने मेरो लक्ष्य छ,’ कमलले आफ्नो योजना सुनाए।

प्रकाशित: २६ असार २०७९ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App