१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद गर्न आठ निर्णय

आगामी असोजको अन्त्यदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको पहिलो बैठकले शुक्रबार आठ मुख्य निर्णय गरेको छ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ। त्यसका लागि शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक कमिटीले तयारी थालेको हो।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षता शुक्रबार बसेको मूल आयोजक समितिको पहिलो बैठकले प्रतियोगितासम्बन्धी विभिन्न आठ निर्णय गरेको हो। बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङद्वारा पेस भएका विभिन्न प्रस्ताव सर्वसम्मतिले पास गरेको थियो।

सो बैठकले सदस्यसचिव घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने, प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता सञ्चालन गर्ने, प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, १४ वटा उपसमिति गठन गर्ने लगायत निर्णय गर्‍यो।

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफी निर्माण गरिने, उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने र लगातार तीन वटा प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरिने निर्णय पनि सो बैठकले गरेको छ।

उक्त बैठकमा मन्त्री गहतराजले प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत भएको समेत उल्लेख गरेका थिए। बैठकमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, सात वटै प्रदेश खेलकुद परिषद्का सदस्यसचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा तीनवटा विभागीय टिम र एनआरएनका प्रतिनिधिलाई बोलाइएको थियो।

खेल आयोजना हुने गण्डकी प्रदेशका सदस्यसचिवसहित बाँकी चार प्रदेशका खेलकुद परिषद्का सदस्यसचिव बैठकमा उपस्थित भएनन्। प्रदेश दुईबाहेक सबै प्रदेशको खेलकुद परिषद् गठन भैसकेको छ। उक्त बैठकमा सुदूर पश्चिम र प्रदेश-१ खेलकुद परिषद्का सदस्यसचिव मात्र उपस्थित भए।

नवौं राष्ट्रिय खेलकुद हुने गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ भने सदनमा जबाफ दिनुपर्ने भएकाले उपस्थित नभएको बुझिएको छ। सो प्रदेशका सदस्यसचिव तेज गुरुङ अनुपस्थित हुनुको कारण भने खुलाइएको छैन। प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन समेत गरी ११ टिमले सहभागिता जनाउनेछन्। उक्त नवौं राष्ट्रिय खेलकुद गत जेठ २२ गतदेखि २८ गतेसम्म तय भए पनि अन्तिम समयमा सारिएको थियो।

प्रकाशित: २५ असार २०७९ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App