२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ब्याटिङ नचल्दा नेपाल पराजित

खराब ब्याटिङ लयलाई निरन्तरता दिँदा नेपाल बुधबार घरेलु टोली क्यानडासँग दोस्रो एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ। यसअघिको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो।

क्यानडाको किङ सिटी क्रिकेट मैदानमा घरेलु टोलीले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.२ ओभरमा समेटिएको थियो। जबाफी ब्याटिङ गरेको नेपाल १ सय ५ रन मात्र बनाउँदा ८३ रनले पराजित भएको हो।

सामान्य लक्ष्यको जबाफ दिन आएको नेपालको ब्याटिङ इनिङ निकै फितलो रह्यो। युवा खेलाडी देव खनालले सर्वाधिक २६ रन जोड्नुबाहेक अन्य अनुभवी ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन्। पवन सर्राफले १४ रन जोड्दा, विनोद भण्डारी, बसिर अहमेद र आदिल आलमले समान १३/१३ रन जोडेका थिए।

यस्तै, कप्तान सन्दीप लामिछानेले ११ रन जोड्दा नेपालका बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रोहित पौडेलले ६, करण केसीले पाँच र कुशत भुर्तेलले एक रन थप्दा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले खाता खोल्न सकेनन्।

नेपाललाई सस्तैमा समेट्न क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान दुई/दुई विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ८८ रनको योगफल तयार पारेको थियो।

क्यानडाको ब्याटिङमा श्रेयस मोभाले सर्वाधिक ५० रन बनाउँदा आरोन जोन्सनले ४४ र अमर खालिदले ३० रन जोडेका थिए। मध्यम बलिङ प्रदर्शन रहेको खेलमा नेपालका लागि सन्दीपले तीन विकेट लिएका थिए। यसबाहेक, दीपेन्द्रले दुई र बसिर अहमेद, किशोर महतो, करण केसी र आदिल आलमले समान एक विकेट लिए।

यसअघि नेपालले मंगलबार घरेलु टोलीविरुद्ध पहिलो एकदिवसीय शृंखला खेल्ने तालिका रहे पनि वर्षाका कारण सुरु नै नभई रद्द भएको थियो। आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपाल बिहीबार क्यानडाबाटै स्कटल्यान्ड प्रस्थान गरेको छ। विश्वकप क्रिकेट लिग-२अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ।

स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ। नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३ मा हुनेछ। नेपालले तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ मा खेल्दा जुलाई १७ मा स्कटल्यान्डविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ।

एकदिवसीय शृंखलाअघि नेपालले क्यानडाको स्थानीय क्लबसँग एक एकदिवसीय र एक ट्वान्टी २० अभ्यास खेल खेलेको थियो। जसअन्तर्गत नेपालले स्थानीय ओन्टारियो क्लबलाई एकदिवसीय खेलमा ६९ रनले र ट्वान्टी २० खेलमा ५५ रनले पराजित गरेको थियो।

आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपाल बिहीबार क्यानडाबाटै स्कटल्यान्ड प्रस्थान गरेको छ। विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ।

प्रकाशित: २४ असार २०७९ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App