coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

गण्डकी सरकारः पोखरा रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याइने

रातिमा पनि खेल्न योग्य बनाउने

पोखरा रंगशालाको पूर्वाधार सुधार गर्दै रातको समयमा पनि अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन गर्न योग्य बनाउने लक्ष्य गण्डकी प्रदेश सरकारले लिएको छ।  

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता रातमा समेत गर्न सकिने योजना छ। त्यसको लागि प्रदेश सरकारले पोखरा रंगशालाको स्वामित्व प्रदेशको मातहमा ल्याउन पहल गरिने उल्लेख गरेको छ।  

प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले पोखरा रंगशालाभित्रका पूर्वाधारमा रातको समयमा समेत खेल्न मिल्ने गरी सोलार बत्ती जडान गर्न आवश्यक बजेट छुट्टयाई आवश्यक काम अघि बढाईसकेको छ। व्याडमिन्टन, स्क्वास, मार्शल आर्टस लगायतका खेलको लागि रातमा समेत प्रशिक्षण गराउने उद्देश्यसहित सोलार बत्ती जडान अभियान अघि सारिएको छ।  

पोखरा रंगशाला फुटबल मैदानमा फ्लडलाईट जडान गर्ने योजना छ। यद्यपी योजनाले मूर्त रुप पाउन सकेको छैन। फ्लडलाईट जडान गरिए पोखरा रंगशाला फुटबल मैदानमा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सकिनेछ। टेनिस कोर्टमा समेत सोलार बत्ती जडान गर्ने तय भएको छ। ‘सोलार बत्तीको लागि टेण्डर आह्वान गरिसकिएको छ,’ कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठले भने, ‘अब छिट्टै जडान गर्ने छ।’

प्रदेश सरकारले सोलार बत्तीको लागि ४० लाख बजेट छ्ट्टयाएको छ। सोलार बत्तीको लागि आशयपत्र जारी भईसकेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक अनिल अधिकारीले बताए। उनले भलिबल, बास्केटबल, पुरानो कभर्ड हल, व्याडमन्टिन, स्क्वास , लनटेनिस तथा बहुउद्देश्यीय कभर्ड हलमा रहेको मुआथाई प्रशिक्षण केन्द्रमा सोलार बत्ती जडान गरिने जानकारी दिए।  

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै असोज अन्तिम साता पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नेपाल सरकारसँग समन्वयमा आवश्यक कार्य गर्ने जनाएको छ। प्रदेश सरकारले नै कास्कीको भेडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माणको कामलाई नेपाल सरकारसँग समन्वय गर्ने जनाएको छ।  

प्रदेश सरकारले ‘खेल्छ गण्डकी’ नारा अघि सारेको छ। युवाको बढ्दो चाँसोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने छ। गण्डकी प्रदेशलाई खेलकुदको पर्यटन केन्द्रको रुपमा विकास गर्न युवा तथा खेलाडी स्वास्थ्य, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन गरिने उल्लेख गरेको छ।  

उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्ने प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा समेटेको छ। प्रदेशको प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग गरिने छ।  

एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छ। सार्वजनिक निजी साझेदारी मोडलमा रंगशाला निर्माण तथा स्तरोन्नति गरिने छ। उच्च उचाई तालिम केन्द्र स्थापनालाई समेत जोड दिने जनाएको छ। प्रदेश स्पोर्टस एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति लिईने छ। प्रदेशको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बाचन गरेका थिए।

प्रकाशित: २५ जेष्ठ २०७९ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App