१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको लज्जास्पद हार

बिर्सनलायक ब्याटिङ प्रदर्शनका कारण नेपालले मलेलियामा जारी आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा लज्जापूर्ण हार बेहोरेको छ। संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार १० विकेटले स्तब्ध भएपछि नेपालको छनोट यात्रामा गम्भीर धक्का लागेको हो।

युकेएम ओभलमा खराब ब्याटिङ प्रदर्शन गर्दै नेपाल ८ रनमै अलआउट हुन पुग्यो। जबाफमा ९ रनको झीनो लक्ष्य पछ्याएको युएईले बिनाविकेट मात्र ७ बलमा लक्ष्य पूरा गर्दै सहज जित निकाल्यो। ६ राष्ट्रको सहभागिता रहेको छनोटको शीर्ष स्थानमा रहने राष्ट्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने महिला ट्वान्टी २० विश्वकपको लागि छनोट हुनेछ।

छनोट खेल्न जानुअघि च्याम्पियन भएर विश्वकप खेल्ने लक्ष्य राखेको नेपालले युएईसँगै अप्रत्याशित लज्जापूर्ण हार बेहोर्न पुग्यो। छनोटमा थाइल्यान्डलाई सबैभन्दा बलियो टोलीका रूपमा आकलन गरेको नेपालले युएईसँग नै हार बेहोर्‍यो। समान दुई खेलबाट युएई र थाइल्यान्ड शतप्रतिशत जितका साथ नेट रनरेटका आधारमा शीर्ष दुई स्थानमा छन्।

त्यति नै खेल खेलेको नेपाल र मलेसिया १/१ जित निकाल्दै क्रमशः तेस्रो र चौथो स्थानमा छन्। दुई खेल नै खेलेका कतार र भुटान भने जितविहीन छन्। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि युएईकी महिका गौरले घातक बलिङ गर्दै पाँच विकेट लिइन्।

त्यस्तै इन्दुजा नन्दाकुमारले तीन र समायरा धर्नीधर्काले एक विकेट लिँदै नेपालको इनिङलाई धराशयी बनाए। नेपालले ४ रन हुँदा ६ विकेट गुमाएको थियो। ५ रन हुँदा ८ रन मात्र जोडेको नेपाल ८.१ ओभरमा समेटिएको थियो। नेपालका कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

स्नेहा महराले ३ तथा मनीषा राना र किरणकुमारी कुँवरले समान २ रन जोडे। त्यस्तै आश्मा पुलामी मगर र अनु कडायतले समान एक रन जोडे भने ६ खेलाडी शून्यमा पवेलियन फर्किए। नेपालले प्रस्तुत गरेको झीनो लक्ष्य युएईले सात बलमा नै पूरा गर्‍यो।

युएईका लागि ओपनर थ्रिथा सतीशले चार बलमा ४ र लावन्या केनीले चार बलमा ३ रनको पारी खेल्दै सहजै पूरा गरेका थिए। यससँगै युएईले एसियाली क्षेत्रको छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ।

यसअघि भएको पहिलो खेलमा युएईले भुटानलाई हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। पहिलो खेलमा कतारमाथि ७९ रनको सानदार जित निकालेको नेपाल दोस्रो खेलमा पनि सुखद लक्ष्यको खोजीमा मैदान उत्रिएको थियो। अब नेपालले तेस्रो खेल सोमबार भुटानविरुद्ध खेल्नेछ। 

प्रकाशित: २२ जेष्ठ २०७९ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App