आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्ने नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ।
नेपालका कप्तान सन्दीप लामिछानेले पछिल्लो पटक सम्पन्न दुई शृंखलाबाट खेलाडीमा लय फर्किएको र अमेरिका भ्रमणमा ब्याटिङमा पनि सुधार आउने बाचा दिएका छन्। ‘हाम्रो टोली यसपटक सन्तुलित छ,’कप्तान सन्दीपले बिदाइ कार्यक्रममा भने, ‘पछिल्लो पटक सम्पन्न दुई शृंखलाबाट हामीले लय भेटेका छौं।’
एक दिवसीय मान्यता जोगाउन भ्रमणलाई सुखद बनाउने लक्ष्य रहेको उनको भनाइ छ। ‘एकदिवसीय मान्यता जोगाउनेभन्दा पनि हामी खेललाई सुखद बनाउने योजनामा छौं। राम्रो भएको अवस्थामा एकदिवसीय मान्यता पनि जोगिनेछ। भ्रमण एकदिवसीय मान्यता मात्र होइन,’सन्दीपले भने, ‘क्वालिफायर राउन्ड पनि हो। अघिल्लो चरणमा पुग्नका लागि चुनौती छन् र हामी त्यो चुनौती सामना गर्न तयार नै छौं। ब्याटिङ हाम्रो कमजोरी थियो। तर त्यो पक्ष सुधार गरेका छौं।
अमेरिका भ्रमणमा हामीले ब्याटिङबाटै जित आत्मसात गर्छौं।’ नेपालले पछिल्लो पटक जिम्बाब्वे ‘ए’ टोलीसँग पाँच ट्वान्टी र पाँच एकदिवसीय शृंखला खेलेको थियो। ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा सकिँदा एकदिवसीय शृंखला भने नेपालले २–१ ले जितेको थियो। जिम्बाब्वे ‘ए’ सँगको शृंखलाको नतिजा मूल्यांकन गर्दै सन्दीपले टोलीको लय फर्किएको उल्लेख गरेका हुन्। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको थियो। टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले बिदाइ गरे। कप्तान सन्दीपले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरेका छन्।
३६ मध्ये २४ खेल खेल्न बाँकी रहेकाले अहिले नै नेपाल अंकतालिकामा पछि पर्यो भन्नु हतार हुने सन्दीपको भनाइ छ। उनले नेपाल अर्को चरणमा पुग्न यो शृखंला निकै महत्त्वपूर्ण रहेको बताए। ‘हामीले लिग–२ का १२ वटा मात्र खेल खेलेका छौं। हामीले अझै २४ खेल खेल्न बाँकी छ। हाम्रो लक्ष्य शीर्ष तीनभित्र अटाउनु हो,’सन्दिपले भने, ‘अहिलेको अवस्थामा सुधार आवश्यकताभन्दा पनि हामी मानसिक हिसाबले तयार हुनुपर्छ।’ नेपालले आयोजक र ओमान सम्मिलित त्रिकोणात्मक शृंखला खेल्नेछ।
त्यसअघि नेपालले अमेरिकाका दुई क्लबसँग अभ्यास खेल्ने तालिका छ। नेपालका मुख्य प्रशिक्षक पुबुदु दसानायके पनि अमेरिकन टोलीबारे राम्रो जानकार राख्छन्। उनले यसअघि अमेरिकी टोलीको प्रशिक्षण गरेका थिए। दसानायकेले नेपालको तयारी राम्रो भएकाले सुखद नतिजा निकाल्नेमा आफू आशावादी रहेको प्रतिक्रिया दिए। ‘पछिल्ला ५÷६ साता टोलीले निकै मिहिनत गरेको छ। यो बीचमा हामीले आपसमा धेरै खेल पनि खेल्यौं। हामीले युवा खेलाडीमा केन्द्रीत रहेर अभ्यास गर्यौं,’दसानायकेले भने, ‘टोलीले उत्कृष्ट प्रदर्शनका साथै सुखद नतिजा ल्याउनेमा म विश्वस्त छु। यो मिहिनतले एकदिवसीय मान्यता गुमाउने छैनौं।’
नेपालले पहिलो खेल ओमानसँग जुन ८ मा खेल्नेछ। त्यसपछि जुन ११ मा नेपालले अमेरिकासँग र जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका छ। जुन १५ मा अमेरिकासँग नेपालले दोस्रो खेल्नेछ। विश्वकप लिग–२ मा प्रतिस्पर्धा गरिरहेका सात राष्ट्रले ३६ वटा म्याच खेल्नुपर्छ।
अहिलेसम्म ३२ खेल खेलेको ओमान ४० अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड २४ अंकसहित दोस्रो स्थानमा र युएई २२ अंकसहित तेस्रो स्थानमा छन्। १२ खेलबाट नेपाल १२ अंकसहित छैटौं स्थानमा छ। २० खेलमा एक मात्र जित निकालेको पपुवा न्युगिनी दुई अंक जोडेर पुछारमा छ। अमेरिका पाँचौंमा र नामिबिया चौथो स्थानमा छन्। सातमध्ये शीर्ष तीनमा पर्ने राष्ट्रले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउनेछन्।
प्रकाशित: १५ जेष्ठ २०७९ ०९:४१ आइतबार