८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

द हिमालयन र गुल्मी टाइगर्सको दोस्रो जित

द हिमालयन क्लब, गुल्मी टाइगर्स र एक्सपर्ट सगरमाथा ब्लुजले अस्ट्रेलियाको मेलबर्नमा जारी कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभलमा आइतबार दोस्रो सफलता निकालेका छन्।

द हिमालयन क्लब अस्ट्रेलियाको आयोजनामा आइतबार भएको पहिलो खेलमा समूह ‘ए’ को आयोजक द हिमालयन क्लबले रोयल राइनोज क्रिकेट क्लबमाथि सात विकेटको जितसहित दोस्रो सफलता निकालेको हो। निर्धारित १०० बलमा १ सय २ रनको लक्ष्य पछ्याएको द हिमालयनले तीन विकेटको क्षतिमा पूरा गर्‍यो।

हिमालयनका भूपराज पंगेनीले २४ र सरोज क्षत्रीले २० रन बनाए। प्लेयर अफ दी म्याच सरोज घोषित भए। यसै समूहको गुल्मी टाइगर्सले पनि गोर्खाली क्रिकेट क्लबमाथि १० रनको जित निकाल्दै दोस्रो सफलता प्राप्त गरेको छ। १ सय ३८ रनको लक्ष्य पछ्याएको गोर्खालीले पूरै बल खेल्दै सात विकेटको क्षतिमा १ सय २७ रन मात्र जोडेपछि गुल्मीले दोस्रो सफलता पाएको हो।

गुल्मीका पदम गौतमले ३८ र आकाश क्षत्रीले २६ रनको योगदान दिए। पदम प्लेयर अफ दी म्याच घोषित भए। समूह ‘ए’ मा द हिमालयन र गुल्मीले समान दुई खेलबाट शतप्रतिशत जितसहित समान चार अंक जोडेका छन्। गोर्खाली र रोयल राइनोज समान दुई खेलमा नै जितविहीन छन्।

आइतबारकै तेस्रो खेलमा समूह ‘बी’ को एक्सपर्ट सगरमाथा ब्लुजले फारवेस्ट हन्टर्समाथि तीन विकेटको जित निकाल्यो। १ सय ४९ रनको लक्ष्य सगरमाथाले सात विकेटको क्षतिमा भेट्टयो। सगरमाथाको जितमा हरविन्दर सिंहले ४३ र हम्जा अलीले ४० रन बनाए। फारवेस्टका मुसद्दिक अलीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त भएन। हरविन्दर प्लेयर अफ द म्याच भए।

चौथो खेलमा मभेन क्रिकेट क्लबले एभरेस्ट लायन्समाथि ६ विकेटको जित निकाल्दै जारी प्रतियोगितामा पहिलो सफलता प्राप्त गरेको छ। १ सय ९ रनको लक्ष्य मभेनले चार विकेटको क्षतिमा पूरा गर्‍यो। मभेनको जितमा गुरप्रताप सिंहले ३३ र सौरभ अरोराले २२ रन बनाए।

समूह ‘बी’ मा सगरमाथा ब्लुजले शतप्रतिशत जितसहित चार अंक बटुल्दा समान दुई खेलबाट मभेन र फारवेस्टले समान दुई अंक जोडेका छन्। समूह चरणका अन्तिम खेल आगामी शनिबार मार्च २६ मा हुँदा नकआउट र फाइनल खेल भने मार्च २७ मा हुनेछन्।

प्रकाशित: ७ चैत्र २०७८ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App