coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एनएसएल र ‘ए’ डिभिजन क्लबको लडाइँ थप उत्कर्षमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै सुरु भएको ‘ए’ डिभिजन क्लब र नेपाल सुपर लिगबीच अस्तित्वको लडाइँ थप उत्कर्षमा पुगेको छ।

‘ए’ डिभिजन लिग दौरान र लिग सकिएलगत्तै नेपाल स्पोटर््स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) का सहभागी १० क्लबले मार्की खेलाडी भिœयााउन थालेदेखि ‘ए’ डिभिजन क्लब र एनएसएलबीचको असन्तुष्टि बाहिरिएको थियो।

‘ए’ डिभिजनका आठ क्लब न्युरोड टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, सातदोबाटो युथ क्लब, फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूले खेलाडी रिलिज नगरिसकेकाले आफ्ना खेलाडी अनुबन्धित नगर्न एनएसएल आयोजकलाई चेतावनी दिएका थिए। उनीहरूले आफूहरूको मागलाई बेवास्ता गरिए कानुनी उपचार खोज्ने बताएका थिए।

क्लबको विरोधपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा बसेको पदाधिकारी र असन्तुष्ट क्लबबीचको छलफलपछि फागुन १९ गते एन्फाले एनएसएल आयोजकलाई पत्र काट्दै फागुन २० गतेका लागि तय खेलाडीको अक्सन रोक्न निर्देशन दिएको थियो तर नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले भने एन्फाको निर्देशनको अवज्ञा गर्दै खेलाडीहरूको अक्सन समापन गरिसकेको छ। त्यसपछि असन्तुष्ट क्लब एनएसल र एन्फाप्रति थप आक्रोशित बनेका छन्।

‘हामी त्रिपक्षीय संवादको माध्यमबाट यो समस्याको समाधान होस् भन्ने चाहन्छौं,’ थ्री स्टार क्लबका महासचिव सञ्जीव सिल्पकारले भने, ‘विश्वमा कुनै पनि देशमा समान्तर लिग हुँदैन। हामीले पनि फिफा, एएफसी र एन्फाकै विधानअनुसार खेलाडी अनुबन्धित गरेका छौं तर हामीले अनुबन्धित खेलाडी फुकुवा नगर्दा समेत हाम्रा खेलाडीलाई एनएसएल क्लबले अक्सन मार्फत अनुबन्धन गरेका छन्।’ 

‘हामी खेलाडी र समग्र फुटबल नै मारमा परेको हेर्न चाहँदैनौं। हामी असन्तुष्ट क्लब, एन्फा र एनएसएलबीच त्रिपक्षीय संवादमार्फत यो विवादको शृंखलामा पूर्णविराम लागोस् भन्ने चाहन्छौं,’ सिल्पकारले अगाडि भने, ‘त्यसका लागि हामी मंगलबार बस्ने एन्फा कार्यसमिति बैठकमा यो विषयलाई पनि एजेन्डाका रूपमा समावेश गर्दै यो समस्याको समाधान होस् भन्ने चाहन्छौं। हाम्रो मागको उचित सम्बोधन नभएको खण्डमा हामी कानुनी उपचार खोज्न बाध्य हुने छौं।’

यद्यपि सुरुआती चरणमा आठ क्लब विरोधमा रहे पनि आइतबार आयोजित पत्रकार सम्मेलनमा थ्री स्टार, मनाङ, एनआरटी र संकटा गरी चार क्लब मात्र उपस्थित थिए। प्रेस विज्ञप्तिमा समेत यी चार क्लबका पदाधिकारीको मात्र हस्ताक्षर थियो। मच्छिन्द्र, जावलाखेल, फ्रेन्ड्स र सातदोबाटो क्लब भने बोर्ड बैठकबाट यसबारे निर्णय नगरिसकेकाले आइतबारको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको सिल्पकारले बताए।

एन्फा र नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबीचको सम्झौता पत्रको बुँदा पाँचमा उल्लिखित एनएसएल क्लबले पनि एएफसी, फिफाको मान्यता प्राप्त प्रतियोगितामा सहभागिता जनाउन पाउने बारे पनि क्लबहरू असन्तुष्ट छन्।

‘ए’ डिभिजन क्लबमा आएका सबै क्लब ‘डी’, ‘सी’ र ‘बी’ हुँदै ‘ए’ डिभिजनमा आएका हौं,’ सिल्पकारले भने, ‘हामी एकै पटक शीर्ष डिभिजनमा आएका होइनौं। एनएसएलका क्लब पनि प्रक्रिया पुरयाएर ‘ए’ डिभिजनमा उक्लिन्छन् र एएफसी क्लब लाइसेनिङमा सहभागी हुन्छन् भने हाम्रो कुनै आपत्ति छैन। तर प्रक्रिया मिचिएमा भने हामी चुप बस्दैनौं। यो नेपाली फुटबलकै लागि ठूलो दुर्घटना हुन सक्छ।’

त्यस्तै संकटा र मनाङका प्रतिनिधिले भने क्लबको निर्णयभन्दा क्लबबाट प्रतिनिधिका रूपमा एन्फामा पुगेका पदाधिकारी ठूलो नभएको भन्दै आवश्यक परे उनीहरूलाई फिर्ता बोलाउने बताए।

‘एन्फामा हाम्रो अध्यक्ष इन्द्रमान तुलाधार महासचिव पदमा हुनुुहुन्छ,’ संकटाका कार्यवहाक अध्यक्ष सुरेन्द्र सिख्राकारले भने, ‘उहाँ पनि यो समस्याका बारे जानकार हुनुहुन्छ। आवश्यक परे हामी बोर्ड बैठकबाट उहाँलाई फिर्ता बोलाउँछौं।’

‘विजय घले एन्फामा हाम्रो प्रतिनिधि हुनहुन्छ। क्लब बोर्डमा १४ जना छौं,’ मनाङका महासचिव तेन्जिङ गुरुङले भने, ‘हामी बोर्ड बैठकबाट निर्णय गरेर आज यहाँ आएका हौं। त्यसैले हामी पनि आवश्यक परे, हाम्रो मागको सम्बोधन नभए विजयजीलाई फिर्ता बोलाउँछौं।’

एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीले पनि आफूहरू खेलाडीको हितको विरोधमा नभएको तर एन्फाले आफूहरूको अस्तित्व नै समाप्त पार्न खोजेको दाबी गरे।

प्रकाशित: ३० फाल्गुन २०७८ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App