१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबलमा पुनरागमन गर्दै एरिक्सन

हृदयाघातपश्चात् आठ महिनापछि डेनमार्कमा क्रिस्टियन एरिक्सन फुटबल करियरमा फर्किंदा विश्वभरका सञ्चारमाध्यमका क्यामेरा उनीततर्फ केन्द्रित हुनेछन्।

किनकि मृत्युको मुखबाट फर्किएका एरिक्सनको फुटबलमा पुनरागमनबारे विश्वभर चासोको विषय बनेको थियो। युरोपियन च्याम्पियनसिपको खेलका क्रममा हृदयाघात भएपछि उनी लामो समयदेखि मैदानबाहिर नै छन्।

गत जुनमा युरो कप २०२० को फिनल्यान्डसँगको उद्घाटन खेलमा हृदयाघातका कारण उनी मैदानमा ढलेका थिए। खेल सुरु भएको पाँचौं मिनेटमा नै डेनमार्कका मिडफिल्डर एरिक्सनलाई हृदयाघात भएको थियो। त्यसयता उनी फुटबल मैदानमा देखिएका छैनन्।

उनको पुनरागमनलाई लिएर धेरैले सुरुआती चरणमा असम्भव रहेको प्रतिक्रिया पनि दिँदै आएका थिए। तथापि, डेनिस फिडफिल्डरलाई अब फेरि फुटबलको मैदानमा देख्न पाइने भएको छ। उनले सोमबार नै सामाजिक सन्जालमामार्फतआफू इङ्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आबद्ध भएको सार्वजनिक गरेका हुन्। ‘ब्रेन्टफोर्ड फुटबल क्लबमा अनुबन्धित भएको सार्वजनिक गर्न पाउँदा निकै खुसी छु। खेल सुरु गर्न निकै आतुर छु,’ सामाजिक सञ्जालमा सोमबार भिडियो सार्वजनिक गर्दै उनले  भनेका थिए।  

उनको फुटबलमा फेरि नयाँ सुरुआतका लागि प्रिमियर लिगबाट सम्भव हुने भएको छ। यसअघि प्रिमियर लिग क्लब टोटेनह्यामका लागि खेलेका एरिक्सनका लागि प्रिमियर लिगमा समेत पुनरागमन हुने भएको छ। 

दुई वर्षअगाडि मात्र उनी लन्डन छाडेर इन्टरमा अनुबन्धित भएका थिए। जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन उनी प्रिमियर लिग क्लबमा अनुबन्धित भए। हृदयाघातअगाडि उनी व्यावसायिक रूपमा इटालियन क्लब इन्टर मिलानमा आबद्ध थिए। उनले मुटुमा इम्प्लान्टेड कार्डियोभेर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरेका छन्।

इटालीमा त्यो प्रयोग गरेर खेल्न नपाउने भएकाले इन्टरले उनलाई रिलिज गरेको हो। गत वर्ष इन्टरले सिरी ‘ए’ जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। त्यति बेलाका प्रशिक्षक एन्टोनियो कोन्टे हाल टोटनह्यामका प्रशिक्षक छन्। त्यसैले एरिक्सन पनि टोटनह्याम आउने आकलन गरिए पनि अन्ततः उनी ब्रेन्टफोर्डमा आबद्ध भए। २९ वर्षे एरिक्सनका लागि लन्डन क्लब घरजस्तै हुनेछ। एरिक्सनको थोमस फ्रान्कसँग पुनर्मिलनसमेत हुनेछ, किनकि उनी डेनमार्कको यु–१७ टोलीका सदस्य हुँदा थोमस नै प्रशिक्षक थिए।

‘विश्वस्तरीय खेलाडीलाई ब्रेन्टफोर्डमा भित्र्याउन पाउँदा हामी एकदम खुसी छौं,’ थोमसले भने, ‘उनले सात महिनादेखि टिममा प्रशिक्षण गरेका छैनन्। तथापि, उनी आफैँले भने धेरै मिहिनेत गरिरहेका छन्। उनी फिट छन्। तर, उनलाई खेलमा फिट हुन केही समय लाग्छ। सबै प्रशिक्षण टोली र सहकर्मीसँगको सहकार्यमा उनी लयमा फर्कन सक्छन्।’ जारी सिजन नै प्रिमियर लिगमा डेब्यु गरेको ब्रेन्टफोर्ड २३ खेलबाट २३ अंकसहित १४औं स्थानमा छ। 

प्रिमियर लिगको अस्तित्व जोगाउन ब्रेन्टफोर्डलाई निकै कठिन हुन सक्छ, त्यसैले यसले एरिक्सनजस्ता अनुभवी मिडफिल्डरलाई भिœयायो। तर, एक पटक फेरि जीवन पाएका एरिक्सनको लामो समयपछि पुनरागमन कस्तो रहन्छ हेर्न बाँकी नै छ। 

प्रकाशित: १९ माघ २०७८ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App