५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नाडालले जिते २१औं ग्रान्ड स्लाम

दुई सेटले पछि परेको स्थितिमा राफाइल नाडालले उत्कृष्ट पुनरामगनसहित ड्यानिल मेदभेदेभलाई स्तब्ध बनाउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेपछि करियरको २१औं ग्रान्ड स्लाम उचालेका छन्।

स्पेनिस लिजेन्ड नाडालले दुई सेटले पछि परे पनि आइतबार सम्पन्न फाइनलमा विश्व नम्बर दुई मेदभेदेभमाथि रोमाञ्चक जित निकालेका हुन्। रड लाभेर एरिनामा पहिलो दुई सेट रसियन स्टार मेदभेदेभले ६–२ र ७–६ (७–५) ले आफ्नो बनाउँदै नाडाललाई कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्नबाट रोक्ने संकेत गरेका थिए। यद्यपि, अनुभवी नाडालले त्यसपछिका दुई सेट ६–४ र ६–४ ले लगातार आफ्नो बनाउँदै उत्कृष्ट पुनरागमन गरे। निर्णायक सेट पनि नाडालले ६–४ ले आफ्नो बनाउँदै वर्षको पहिलो ग्रान्ड स्लाम आफ्नो नाममा लेखाए।

३५ वर्षे पाका खेलाडी नाडालले पाँच घन्टा २४ मिनेटको संघर्षपश्चात् २५ वर्षे मेदभेदेभमाथि रोमाञ्चक जित रचे। शारीरिक रूपमा निकै संघर्ष गरेका नाडालले यो सफलतापछि समकालीन प्रतिद्वन्द्वी नोभाक जोकोभिच र रोजर फेडेररलाई पछि पारेका छन्।

विश्व टेनिसका तीन स्वर्णिम पुस्ता नाडालसहित जोकोभिच र फेडेरर पुरुषतर्फ सर्वाधिक २० ग्रान्ड स्लाम जित्ने खेलाडी थिए। तर, आइतबारको सफलतापछि नाडाल यो रेकर्डबाट एक कदम अगाडि बढेका छन्। जोकोभिच र फेडेरर दुवैले यो प्रतियोगिताका खेलेका थिएनन्।  

भ्याक्सिन लगाएको विवादमा अस्ट्रेलियाले जोकोभिचलाई डिपोर्ट गर्दा फेडेररले भने चोटका कारण अस्ट्रेलियन ओपन गुमाउनुपर्‍यो। २९औं ग्रान्ड स्लाम फाइनल खेलेका नाडालले दोस्रो पटक अस्ट्रेलियन ओपनको सफलता पाए। १३ वर्षअगाडि सन् २००९ मा उनले पहिलो पटक यस प्रतियोगिताको उपाधि जितेका थिए। चारै ग्रान्ड स्लाम दुई पटक या सोभन्दा बढी जित्ने उनी चौथो पुरुष खेलाडीसमेत बने। साथै ग्रान्ड स्लाम जित्ने सबैभन्दा पाका खेलाडीको सूचीमा पनि नाडालको नाम तेस्रो स्थान रह्यो। यसअघि केन रोजवाल र फेडेररले यो सफलता पाएका छन्।  

आइतबारको फाइनलमा भने स्पेनिस लिजेन्डका लागि खासै सुखद सुरुआत हुन सकेन। उनको सर्भिसले प्रभावकारी हुन नसक्दा उनी दबाब परेका थिए। तथापि, उनी समालिए र दुई सेटले पछि परेर पनि चौथो पटक उपाधि जित्न सफल भए।

 नाडालले मेदभेदेभलाई दोस्रो पटक ग्रान्ड स्लामको फाइनलमा हराएका थिए। सन् २०१९ को युएस ओपनको फाइनलमा पनि नाडालले मेदभेदेभलाई पाँच सेटमा पुगेर स्तब्ध बनाएका थिए। अगस्टमा चोटपश्चात् खेलमा फर्किएका नाडालले वर्षको सुरुआत राम्रो गर्दै समकालीन स्टारलाई समेत दबाब बनाइदिएका छन्।

प्रकाशित: १७ माघ २०७८ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App