८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालद्वारा उपाधि रक्षा

उज्बेकिस्तानलाई प्रतिस्पर्धात्मक ३–२ सेटमा हराउँदै नेपालले मंगलबार बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ।

उज्बेकिस्तानमाथि रोमाञ्चक जित निकाल्ने क्रममा साबिक विजेता नेपालले २६–२४ र २४–२६, २५–१५, २२–२५, १५–११ को नतिजाका साथ उपाधि रक्षा गर्न सफल भएको हो। १८–१८ को बराबरीपछि उत्कृष्ट प्रदर्शन गर्दै २६–२४ को स्कोरमा पहिलो सेटमा बाजी मारेको नेपालले दोस्रो सेट २६–२४ ले गुमाउन पुगेको थियो। तेस्रो सेटमा नेपालले २५–१५ को सहज जित निकाल्दै २–१ को अग्रता निकाल्दा चौथो सेटमा भने अपेक्षाअनुसारका प्रदर्शन गर्न सकेन।

उज्बेकिस्तानले २५–२२ ले सेट जित्दै खेल २–२ को बराबरीमा पुगेको थियो। अन्तिम तथा निर्णायक सेटमा नेपालले उज्बेकिस्तानलाई १५–११ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो। सन् २०१९ मा बंगलादेशमा नै सम्पन्न पहिलो संस्करणमा नेपालले माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै भलिबलमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक प्राप्त गरेको थियो।

यसअघि लिग चरणका सबै खेलमा शतप्रतिशत जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो। लिग चरणमा नेपालले श्रीलंकासँग बाहेक अन्य कुनै पनि टोलीसँग अंक गुमाएको थिएन। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराउँदा एक अंक गुमाएको थियो भने बाँकी सबै टोलीलाई ३–० को सोझो सेटमा हराएको थियो। प्रतियोगितामा महिलातर्फ नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका, उज्बेकिस्तान र किर्गिस्तान सहभागी थिए।

प्रतियोगितामा नेपालकी प्रतिभा माली ‘बेस्ट स्पाइकर’ घोषित भइन् भने कप्तान अरूणा शाही ‘बेस्ट सेटर’ चुनिइन्। मंगलबारै तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो। श्रीलंकाले किर्गिस्तानलाई २६–२४, २५–१६, २५–२१ को स्कोरमा पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाएको हो।

पुरुषतर्फ भने नेपाल चौंथो

यस्तै एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत पुरुषतर्फ भने नेपाल चौथो भएको छ। मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित हुँदा नेपाल पाँच टोलीमध्ये चौथो भएको हो। उज्बेकिस्तानविरुद्ध नेपालले २५–१५, २५–१७ र २५–२१ ले खेल गुमाएको हो। पुरुषतर्फको उपाधि भिडन्तमा श्रीलंकाले बंगलादेशलाई हराउँदै उपाधि चुम्न सफल भयो।

प्रकाशित: १४ पुस २०७८ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App