६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः प्रदेश १ द्वारा लुम्बिनी पराजित

धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मंगलबारको खेलमा समूह ए मा रहेको प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको छ। समूह ए बाट यसअघि नै सेमिफाइनल पुगेका दुवबै टोलीमध्ये लुम्बिनीलाई प्रदेश १ ले हराएको हो।  

फाप्ला मैदानमा मंगलबारको पहिलो खेलमा प्रदेश नम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनाएको थियो। प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन जोडिन्। काजोल श्रेष्ठले ४० रनको योगदान गर्दा कप्तान रुविना क्षेत्रीले १५ रन थपिन्। दोस्रो विकेटका लागि काजोल र अप्सरीले ६२ रनको साझेदारी गर्दै टिमलाई उच्च स्कोरतिर डोराइन्।

लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक/एक विकेट लिइन्। ११५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो। निर्धारित २० ओभरमा लुम्बिनीले ९ विकेट क्षतिमा ४७ रन बनायो। लुम्बिनीको पारीमा कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। सरस्वती पुन र नितु भण्डारीले बनाएको ९ रन नै सर्वाधिक रह्यो। तीन खेलाडी शून्यमा आउट भए भने तीन जना रनआउट भए। प्रदेश नम्बर १ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन्। अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिइन्। खेलमा प्रदेश नम्बर १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भइन्।

यस्तै मंगलबार भएको दोस्रो खेलमा वागमती प्रदेशले कर्णाली प्रदेशलाई हराउँदै सान्तवना जित हात पारेको छ। समूह ए अन्तर्गतको अन्तिम लिग खेलमा वागमतीले कर्णाली प्रदेशलाई ७९ रनले हराएको हो। सान्त्वना जितसँगै वागमती प्रतियोगिताबाट बाहिरिएको छ भने कर्णालीले भने जितविहीन प्रतियोगितामा टुङ्गाएको छ। टस जितेर पहिले ब्याटिङ गर्दै वागमती प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १३० रन बनायो। वागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रनको पारी खेलिन्।

त्यस्तै हेलिशा गुरुङले २५ रन र अस्मिना कर्माचार्यले १६ रन बनाइन्। पहिलो विकेटका लागि कञ्चन र हेलिशाले ७२ रनको साझेदारी समेत गरिन्। कर्णाली प्रदेशका लागि दिव्या धामीले ३ विकेट लिइन्। एन्जिला क्षेत्रीले २ र निशा पराजुलीले एक विकेट लिइन्।

१३१ रनको विजय लक्ष्य पछ्याएको कर्णाली प्रदेश १८ दशमलव ३ ओभरमा ५१ रनमा समेटियो। कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाइन्। अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन्। कर्णालीका लागि दीपा रानाले ९ रन बनाइन्। अन्य खेलाडीले ५ रन पनि पार गर्न सकेनन्। वागमतीका लागि आरती विडारी र विपिशा शाहीले तीन/तीन विकेट लिइन्। त्यस्तै सोनी पाख्रिन, खुशी डंगोल र ज्ञानुका बस्नेतले एक/एक विकेट लिइन्। खेलमा वागमतीकी कञ्चन श्रेष्ठ प्लेयर अफ द म्याच भइन्।

प्रतियोगिता अन्तर्गत बुधबार समूह बी का दुई खेल हुनेछन्। पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टिम एपिएफ क्लब खेल्नेछन्। बुधबारकै अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन्।

प्रकाशित: ६ पुस २०७८ १४:०८ मंगलबार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट