विगत पाँच दिनदेखि दम्बुलामा वर्षा भइरहेको छ। पछिल्लो तीन दिनयता वर्षा निरन्तर जस्तो भइरहेको छ। मंगलबार साँझसम्म रानगिरी दम्बुला वर्षाले भिजेको थियो।
नेपालले आइतबार श्रीलंका कम्बाइन ११ सँगको खेलमा ६५ रनको विजय लक्ष्य पाउँदा भोजनपछि वर्षाले खेल हुन दिएको थिएन्। त्यसयता वर्षा जारी छ।
नेपाल र हङकङले पछिल्लो दुई दिनयता अभ्यास गर्न पाएका थिएनन्। हङकङ आइतबार श्रीलंका पुगेको थियो। खेल श्रीलंकाली समय अनुसार बुधबार बिहान १० बजे (नेपाली १०.१५) बजे सुरु हुने कार्यक्रम थियो। तर निरन्तर वर्षा भएपछि टस समेत नभइ खेल रद्द भएको हो।
नेपाल हङकङबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय म्याच आइसिसी वरियतामा केन्द्रित छ। ८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेपछि मात्र आइसिसी वरियतामा प्रवेश पाउने प्रावधान छ। 'विश्वकपमा पाएको सफलताले हाम्रो जित प्रतिशत ६६ भन्दा माथि छ, त्यसैले हङकङसँगको शृंखला महत्वपूर्ण छ,' प्रशिक्षक दासानायकेले भने, 'हामी यो विजय प्रतिशतलाई कायम राख्न चाहान्छौं।'
प्रकाशित: ३ मंसिर २०७१ ०२:२६ बुधबार