२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिगः शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

पोखरा रंगशाला फुटबल मैदान। तस्बिरः उमेश पुन/नागरिक

मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन। पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ। मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन्। दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुनेछ। मनाङमस्र्याङ्दीको होम ग्राउण्ड हो पोखरा रंगशाला फुटबल मैदान। त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ।  

२०४० सालमा पोखरा रंगशाला फुटबल मैदान बनेको हो। दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मेवारीसँगै पोखरामा रंगशाला निर्माण हुन पुग्यो। फुटबल मैदानसहित केही पूर्वाधार बने। अहिले फुटबल मैदानले नयाँ स्वरुप लिईसकेको छ। लिगकै इतिहासमा पहिलो पटक राजधानी बाहिर ए डिभिजन लिगको प्रतिस्पर्धा गराउने अवसर पोखराले पाएको छ।  

नकाउट फुटबल म्याच हेर्दै आएका पोखरेली दर्शकले पहिलो पटक ए डिभिजन लिग अन्तर्गत चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब बीचको प्रतिस्पर्धा हर्ने अवसर पाउने छन्। अन्यथा लिगकै खेल हेर्न राजधानी धाउनुको विकल्प थिएन। २०७६ सालमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल आयोजना भएको थियो।  

ए डिभिजन लिगको लागि पोखराको फुटबल मैदान तयारी गरिएको छ। गोडमेल गरिएको छ। १६ हजार ५ सय दर्शक अटाउने प्यारापिट तयारी छ। ३ हजार ५ सय सिट क्षमता जडान गर्न बाँकी छ। मनाङले पोखराको मैदानमा लिगका तीन खेल खेल्ने छ। दोस्रो खेल मनाङले ब्रिगेड ब्वाईज(पुस १७ गते) र तेस्रो खेल च्यासल युथ क्लबसँग(पुस २४ गते) खेल्ने कार्यतालिका छ। 

अखिल नेपाल फुटबल संघ(एन्फा)ले लिगलाई होम एण्ड अवेको अवधारणा ल्याएसँगै मनाङ मस्र्याङ्दी क्लबले होम ग्राउण्ड बनाएपछि पोखरेली दर्शकले लिग हेर्ने पाउने अवसर जुरेको हो। आगामी वर्ष एन्फाले होम एण्ड अवेलाई महत्वको साथ जोडदिए मोफसलका फुटबल मैदानलाई क्लबहरुले होम ग्राउण्ड बनाउने छन्। त्यसले फुटबल विकासमा नयाँ आयाम थपिने विश्वास छ।  

मनाङ मस्र्याङ्दी गण्डकी प्रदेशकै क्लब हो। मनाङको शीरविन्दुबाट बगेको मस्र्याङ्दी नदीकै नामबाट मनाङ मस्र्याङ्दी क्लब नामाकरण हुन पुग्यो। मनाङ मस्र्याङ्दी मोसफल मध्ये सबैभन्दा बढी फ्यान पोखरामै छन्। मनाङको खेल हेर्न दर्शक लालायित छन्। त्यसमा पनि मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब बीचको प्रतिस्पर्धा रोचक रोमाञ्चक र प्रतिस्पर्धात्मक हुन्छ। ‘मैदान मर्मत सम्भारको काम सकिएको छ। अब मार्किङ गर्न बाँकी छ’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने, ‘मैदानको घाँस काटेपछि मार्किङ गर्ने छौं।’ प्यारापिट समेत सरसफाई गरिएको छ। मोफसलमा आयोजना हुने लिगले फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास अध्यक्ष गुरुङको थियो।  

लिगलाई उपत्यका बाहिर लैजाने एन्फाको योजना थियो। त्यसलाई नै आधार बनाएर मनाङ मस्र्याङ्दी क्लबले पोखरामा खेलाउने निर्णयसहित एन्फामा प्रस्ताव गरेको थियो। ‘मनाङ मस्र्याङ्दी क्लबले लिग उपत्यका बाहिर लैजाने प्रस्तावलाई एन्फाले स्वीकार गरेपछि पोखरामा ल्याएका हौं।’ मनाङ मस्र्याङ्दी क्लबका सदस्य विजय घलेले भने, ‘लिग खेल्ने क्लबलाई समेत मनाङ मस्र्याङ्दीले सहमति गराईसकेको छ।’ पोखरामा लिग खेल्न मनाङको प्रस्तावलाई नेपाल पुलिस क्लब, ब्रिगेड व्वाईज र च्यासल युथ क्लबले सहयोग गरेको उनको भनाई थियो। ‘पोखरामा लिग गराउने योजनालाई तीनवटै क्लबले प्रस्तावलाई स्वीकार गरे,’ उनले भने।  

क्लबलाई लिगकै लागि उपत्यका बाहिर जाउ भन्न मिल्ने अवस्था छैन्। क्लबहरुले सहमति नजनाएसम्म आयोजना हुदैन्। उनका अनुसार क्लबहरुले सहमति जनाएपछि पोखरामा लिग खेलाउने सम्भव भएको हो। ‘मैदानको तयारी फाईनलस्टेजमा आईपुगेको छ। दशदिन अघिदेखि मर्मत शुरु गरिएको थियो’, उनले भने, ‘लिगको खर्च मनाङ मस्र्याङ्दीले नै गर्ने छ।’ एन्फाले प्राविधिक सहयोग गरेको छ। उनका अनुसार एउटै खेलको लागि ६–७ लाख रुपैयाँ खर्च हुन्छ। खर्चको लागि मनाङ मस्र्याङ्दीले टिकटको व्यवस्था गर्ने जनाएको छ। यद्यपी पोखरामै खेलायने लिगको लागि मनाङ मस्र्याङ्दीले विभिन्न संघसंस्थाबाट समेत सहयोग जुटाएको छ। ‘फुटबल इतिहासमा ए डिभिजन लिग उपत्यका बाहिर आयोजना पहिलो हो,’ उनको भनाई थियो।  

प्रकाशित: २८ मंसिर २०७८ ०७:१९ मंगलबार

ए डिभिजन लिग