त्यहीअनुरुप दुवै राष्ट्र निर्णायक मोडमा उभिएका छन्। शुक्रबार विजेता टोलीले एसिसी यु–१९ प्रिमियर लिग जित्ने लगभग निश्चित छ। दुवैले पहिलो ३ खेल जितेर प्रतियोगितामा स्पष्ट दाबेदारिता प्रस्तुत गरिसकेका छन्।
यी दुई टोली यु–१९ मा पाँचपटक भिडिसकेका छन्। नेपाल ३–२ ले अगाडि छ। तर यसपल्ट अफगानलाई दाबेदार मानिएको छ। टोलीले मलेसियालाई १० विकेट, युएईलाई ३ सय ६ रन र साउदी अरेबियालाई २ सय ७७ रनले पराजित गरेको छ। खुलेर ब्याटिङ गर्ने हुनाले अफगानलाई दाबेदार मानिएको हो।
तुलनात्मक कमजोर मानिएको साउदी र कुवेतविरुद्ध नेपालले पनि ३ सयभन्दा बढी रन बनाउँदै खेल क्रमशः १ सय ९५ र २ सय ६२ रनले जितेको थियो। तर मलेसियासँग नेपालको ब्याटिङ कमजोर बन्यो। मलेसियाले बुधबार नेपाललाई ४० ओभरभित्र १ सय १५ रनमै अलआउट गर्योन। नेपालले बलरको उत्कृष्ट प्रदर्शनमा खेल ५३ रनले जित्दै प्रतियोगिता जित्ने आशा जिवितै राखेको हो।
'अफगानिस्तानसँगको खेल निकै कठिन छ, तर हामी तयार छौं,' नेपाली टोलीका व्यवस्थापक धीरेन्द्र साउदले भने, 'पहिला हामी आफ्नो खेल खेल्नेछौं। उनीहरूको ब्याटिङ राम्रो छ। उनीहरूलाई साउदी अरेबिया जस्तो टोलीले अलआउट गरेको थियो। हामीले आफ्नो खेलमा त्यसैमा केन्द्रित गर्ने हो। हामी आत्तिएका छैनौं। जे पनि हुनसक्छ।'
साउदका अनुसार अर्जुन चापागाईं गोलिगाँठा दुखाइका कारण शुक्रबारसँग खेल्नेमा निश्चित छैन। खेलअघि मात्र अर्जुनको टुंगो लाग्नेछ। अर्जुनले व्यक्तिगत पहिलो खेल खेल्दा मलेसियाविरुद्ध ३ विकेट लिए, त्यसमा २ विकेट पहिलो ओभरमै थियो।
नेपाली टोलीले अर्को स्पिनर थप्नेमा सोच बनाएको छ। 'स्पिन ट्र्याक भएकाले इर्शाद अहमदलाई खेलाउने सम्भावना छ। अफगानीले तीब्र बलरविरुद्ध राम्रो खेलिरहेको छ। त्यही भएर स्पिनरबारे विचार भएको हो,' साउदले भने। इर्शाद खेलेमा योगेन्द्रसिंह कार्की र सन्दिप सुनारमध्ये एक बाहिर बस्ने छन्। कुवेत जानुपूर्व अफगास्तिानले पाकिस्तानविरुद्ध उसैको भूमिमा २–१ ले शृंखला जितेको थियो।
यसअघि युथ एसिया कप र एसिसी यु–१९ कप एलिटको नामले आयोजित यो प्रतियोगिता नेपालले चारपटक जितिसकेको छ। पछिल्लोपल्ट नेपालले मलेसियामा २००७ मा यो प्रतियोगिता जित्दा अफगानिस्तानलाई नै फाइनलमा ४८ रनले पराजित गरेको थियो।
२००५ मा नेपालमै भएको एसिसी यु–१९ कपबाट यात्रा अगाडि बढाएको अफगानिस्तानले नेपालसँग २००७ मा पाएको पराजय बदला दुई वर्षपछि लियो। २००९ मा कुवेतमै सम्पन्न एसिसी यु–१९ कपको सेमिफाइनलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपाल १० वर्षमा पहिलोपल्ट आइसिसी यु–१९ विश्वकप पुग्न सफल भयो।
दुई टोलीबीचको खेलले थाइल्यान्डमा २०११ को एसिसी यु–१९ एलिट कपमा पनि निरन्तरता पायो। नेपालले समूह चरणमा ६ विकेटको बाजी मार्यो। तर अफगानिस्तान फाइनलमा ६१ रनको विजयी हुँदै नेपालसँग बदलामात्र लिएन पहिलोपल्ट विजेता पनि बन्यो। गत वर्ष मलेसियामा अफगानिस्तानले उपाधि जोगाउँदा नेपाल सेमिफाइनलमै रोकिएको थियो।
प्रकाशित: २७ कार्तिक २०७१ २१:३० बिहीबार