४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तान लयमा

स्पिनर साजिद खानले ६ विकेट लिएपछि पाकिस्तानले ढाकामा वर्षाका कारण प्रभावित दोस्रो टेस्टमा मंगलबार लय फर्काएको छ।

ढाकामा भएको दोस्रो टेस्टमा साजिदले ६–३५ को प्रदर्शन गर्दा घरेलु टोली बंगलादेश ७६/७ को नाजुक स्थितिमा पुगेपछि पाकिस्तानले लय समातेको हो। शेरे बङ्ला नेसनल स्टेडियममा पहिलो दिनको खेल पनि वर्षाका कारण छिट्टै स्टम्प गर्नुपरेको थियो।

दोस्रो र तेस्रो दिनको खेल पनि वर्षाका कारण प्रभावित बन्न पुग्यो। चौथो दिनको खेल सकिँदा बंगलादेशका सकिब अल हसन २३ रन र तैजुल इस्लाम शून्यमा क्रिजमा छन्। फलोअनबाट बच्न घरेलु टोली बंगलादेशलाई अझै पनि २५ रन आवश्यक छ।

चौथो दिन नै मोहम्मद रिजवान ५३ रन र फवाद आलम ५० रनमा नटआउटमा रहँदा पाकिस्तानले ३००/४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्‍यो। पाकिस्तानले लन्चअगावै इनिङ सकाएपछि ब्याटिङ गर्न आएको बंगलादेशको सुरुआत निकै खराब रह्यो।

स्पिनर साजिदको बलिङसामु बंगलादेशको ब्याटिङ निरीह बन्न बाध्य भयो। उनले ओपनर मेहमुदुल हसनलाई शून्यमा नै पवेलियन फर्काउँदै बंगलादेशलाई पहिलो झड्का दिए। त्यसपछि साजिदले सादमानलाई ३ रन, मुस्फिकर रहिमलाई ५ रन, लिटन दासलाई ६ रन र नाजमुल हुसेनलाई ३० रनमा पवेलियन फर्काए। त्यसअघि कप्तान मोमिनुल हक १ रनमा नै रनआउट सिकार भएका थिए।

सात विकेटको पतनका बाबजुद सकिबले आक्रामक इनिङ खेल्ने प्रयास गर्दै बंगलादेशमाथिको दबाब हटाउने प्रयास गरे। उनले ३२ बलमा तीन चौका हिर्काए। यसबीच उनी रनआउटबाट पनि बचेपछि बंगलादेशलाई केही राहत पनि मिल्यो। पाकिस्तानका कप्तान बाबर आजमले सबै खेलाडीले जित प्राप्त गर्ने उद्देश्यका साथ प्रदर्शन गरेको बताए। ‘सबैले जित्ने तवरले प्रदर्शन गरेका छन्। हामीले राम्रो आक्रामण पनि बुन्यौं र सफल पनि भयौं,’ आजमले भने, ‘पहिलो खेलमा बल राम्रोसँग घुमिरहेको थिएन। तर, दोस्रो खेलमा बलले राम्रो साथ दियो।’

छिट्टै तीन विकेट लिने योजनाअनुरूप नै सफलता मिलेको आजमले बताए। वर्षा र खराब प्रकाशका कारण तीन दिनसम्म ६३.२ ओभरको खेल मात्र सम्भव बन्यो। यसबीच पाकिस्तानले १८८–२ को अवस्थाबाट ब्याटिङ गर्‍यो।

तेस्रो दिनको खेल वर्षाका कारण पूर्ण रूपमा प्रभावित हुँदा पाकिस्तानले चौथो दिन पनि छिट्टै दुई विकेट गुमायो। त्यस क्रममा दिनको दोस्रो ओभरमा नै पाकिस्तानले अजहर अलीलाई ५६ रनमा गुमायो। इबादत हुसेनको बलिङमा अली लिटन दासद्वारा क्याच आउट भए।

त्यसको तीन ओभरपश्चात नै पाकिस्तानका कप्तान बाबर पनि आउट भए। तीव्र गतिका बलर खलिल अहमदले बाबरलाई ७६ रनमा एलबिडब्लु धरापमा पारे। त्यसबीच बाबरले चौथो दिन पाँच रन मात्र थप्न सफल भए। रिजवानलाई अम्पायरले दुई पटक आउट गरे पनि उनी रिभ्युमार्फत बच्न सफल भए। 

उनलाई शून्य र १२ रनमा अम्पायरले आउट दिएका थिए। बंगलादेशका बलर तैजुलले दुई विकेट लिँदा हुसेन र खलिलको नाममा समान एक विकेट रह्यो। दुई खेलको टेस्ट शृंखलामा पाकिस्तानले चित्तागोङमा भएको पहिलो टेस्ट भने आठ विकेटले जितेको थियो।

प्रकाशित: २२ मंसिर २०७८ ०२:१४ बुधबार

तीव्र गतिका बलर खलिल अहमद स्पिनर साजिद खान पाकिस्तान लयमा