५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

आर्सनल अग्रता जोगाउन असफल:अर्टेटाले गरे टोलीको आलोचना

प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा एभर्टनसँग २–१ ले पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोलीको कडा आलोचना गरेका छन्।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा एभर्टनले उत्कृष्ट पुनरागमन गर्दै अंक खोस्न सफल भएको थियो।

घरेलु टोली एभर्टनले पहिलो हाफमा गोल सुम्पिए पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै भ्रमणकारी टोलीमाथि स्पष्ट अंक खोस्न सफल भएको हो। आर्सनलमाथि संघर्षपूर्ण जित निकालेको एभर्टनले पछिल्ला आठ खेलबाट रहेको जितविहीन यात्रा टुङ्ग्याएको छ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा अर्टेटाको टोली आर्सनलले धेरै मौका सिर्जना गरिरहे पनि गोल भने गर्न चुकेको थियो। टोलीले जित निकाल्दै शीर्ष चारमा फर्किने मौका पनि गुमाएको छ।

यसअघि म्यानचेस्टर युनाइटेडसँग ३–२ ले पराजित भएको आर्सनलले स्पष्ट अंकका लागि एभर्टनको मैदानमा दबाब दिएर खेले पनि अंक लिन असफल रह्यो।

यस्तै एभर्टनले गरेका दुई गोलमा भिडियो सहायक रेफ्री (भिएआर) को निर्णय उल्टाउँदा गोलकर्ता रिचार्लिसन केही निराश देखिए। रिर्चालिसनले ४४औं मिनेटमा टोलीका लागि पहिलो गोल गर्दै अग्रता निकाले पनि भिएआरले मान्यता दिएन। इन्जुरी समयमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गर्दै भ्रमणकारी टोलीलाई पहिलो हाफमा अग्रता दिलाउन सफल भएका थिए।

त्यसपछि दोस्रो हाफमा घरेलु टोलीले आर्सनलमाथि दबाब दिएर काउन्टरको प्रयास गरिरह्यो। निर्धारित खेल सकिन ११ मिनेट बाँकी रहँदा आर्सनलविरुद्ध एभर्टन खेलमा फर्कन सफल भयो। दुई पटक गोल गरे पनि भिएआरले निर्णय उल्टाउँदा निराश बनेका रिचार्लिसनले ७९औं मिनेटमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए।

गोल गरेसँगै मनोबल बटुल्न सफल एभर्टनले इन्जुरी समयमा गोल थपेर आठ खेलको जितविहीन यात्रालाई पूर्णविराम लगाउँदै स्पष्ट अंक जोड्न सक्यो। इन्जुरी समयमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनलाई २–१ को रोमाञ्चक जित दिलाएका हुन्।

टोलीको प्रदर्शनबाट असन्तुष्ट रहेका आर्सनल प्रशिक्षक अर्टेटाले पाएको मौकालाई सदुपयोग गर्दै खेलाडीले परिपक्व खेल देखाउन नसकेको प्रतिक्रिया दिए।

‘पहिलो हाफमा टोलीले निकै खराब प्रदर्शन गर्‍यो। दोस्रो हाफमा फरक रणनीति अपनाए पनि रणनीतिक हिसाबमा टोली चल्न सकेन,’ आर्सनलका प्रशिक्षक अर्टेटाले भने, ‘मौका पाउँदा खेलाडी प्रयास गर्न चुके। खेलअवधिमा हामीले खेल नियन्त्रणमा राखे पनि जित निकाल्न सकेनौं।’

जित निकालेको एभर्टनले तालिकामा स्थान सुधार गर्दै १२औं स्थानमा उक्लिन सफल भएको छ। एभर्टनको १५ खेलबाट १८ अंक भएको छ भने पराजित आर्सनलले शीर्ष चारमा उक्लिने मौका गुमाएको छ। आर्सनल शीर्ष चारमा अटाउन ४ अंकले पछि छ।

उता भ्रमणकारी टोलीविरुद्ध रोमाञ्चक जित निकालेको एभर्टनका प्रशिक्षक राफाइल बेनिटेजले काउन्टर गर्दै जित दिलाउन सफल फरवार्डको प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरे।

‘समर्थकको साथ र समर्थन भएको अवस्थामा खेलाडीको प्रदर्शन उच्च रहन्छ भन्ने प्रमाणित भएको छ,’एभर्टन प्रशिक्षक राफइल बेनिटेजले भने, ‘अन्तिम मिनेटमा फरवार्डले निर्वाह गर्नुपर्ने भूमिका खेलमा देखिएको छ। ठीक समयमा गरेको निर्णयले अंक लिन सक्यौं।’

प्रकाशित: २२ मंसिर २०७८ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App