२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

ब्राइटनविरुद्ध सिटीको सुखद जित

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा (बायाँ) र ब्राइटनका ड्यान बर्न बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिरः एपी

पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा शनिबार ब्राइटनविरुद्ध ४–१ को सुखद नतिजा निकाल्दा अर्को खेलमा वाटफोर्डले एभर्टनविरुद्ध उसैको मैदानमा ५–२ को सानदार जित निकालेको छ।

ब्राइटनको घरेलु मैदानमा सुरुआतबाट नै दबाब दिएर खेलको साबिक विजेता सिटीले पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल खाएर दुई गोल थपेको थियो।पहिलो हाफमा ३–० को अग्रता निकाल्ने क्रममा फिल फोडेनले दुई गोल गर्दा इल्के गुन्डोगानले एक गोल गरे।

दोस्रो हाफमा थप एक गोल गरेको सिटीका लागि रियाद महारेजले एक गोल थपेका थिए। ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए।  

१३औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। २८औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–० को तथा ३१औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए।

पछि परेको ब्राइटनले खेलमा फर्किन निकै प्रयास गर्‍यो। सोही क्रममा ८१औं मिनेटमा ब्राइटनका माकले पेनाल्टीबाट एक गोल गर्दै खेलको अन्तर घटाउने प्रयास गरे। त्यसपछि खेलको इन्जुरी समयमा महारेजले गोल गर्दै सिटीलाई ४–१ को जित निश्चित गरे।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ब्राइटन बलियो टोली भएको भन्दै सोही अनुसार अपनाएको रणनीतिमा आफ्नो टोली सफल भएको बताए।  

‘घरेलु मैदानमा भएकाले टोलीले आक्रामक खेल खेल्दै हामीलाई दबाब दिन चाहन्थ्यो। तर हामीले रणनीति रोक्ने राखेका थियौं। सोहीअनुसार आक्रामक खेलको योजना बनाएका थियौं,’ प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘उनीहरूको खेल निकै आकर्षक थियो। शीर्ष टोलीले खेलेभन्दा पनि राम्रो खेल प्रदर्शन गरेको थियो र पनि हामीले उनीहरूको रणनीतिलाई विफल पार्न सफल भयौं। ’

जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ। सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ। ब्राइटन १५ अंक जोडेर चौथो स्थानमा रहेको छ।

प्रिमियर लिगको अर्काे खेलमा वाटफोर्डले एभर्टनलाई ५–२ को गोलअन्तरले पराजित गरेको हो। एभर्टनको मैदानमा सुरुवाती घरेलु टोलीले अग्रता लिएको थियो। तर, जोसुवा किङले ह्याट्रिक पूरा गरेपछि वाटफोर्डले सानदार जित निकालेको हो।

तेस्रो मिनेटमा टम डाभिसले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। १३औं मिनेटमा जोसुवाले गोल गर्दै वाटफोर्डलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन। ६३औं मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए। तर ७८औं मिनेटमा जुराज कुकाले गोल गर्दै वाटफोर्डलाई पुनः २–२ को स्थितिमा ल्याए।

८०औं मिनेटमा जोसुवाले व्यक्तिगत दोस्रो गोल गर्दै वाटफोर्डलाई ३–२ को अग्रता दिलाए। ८६औं मिनेटमा जोसुवाले ह्याट्रिक पूरा गरेपछि वाटफोर्डले ४–२ को अग्रता बनायो। त्यसपछि खेलको इन्जुरी समयमा इमानुएलले गोल गर्दै वाटफोर्डलाई ५–२ को जित सुनिश्चित गरे।जितसँगै १४औं स्थानको वाटफोर्डले १० अंक जोडेको छ।आठौं स्थानको एभर्टनले १४ अंक जोडेको छ।

प्रिमियर लिगकै अर्को खेलमा साउथह्याम्पटन र बर्नलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा लिड्स र उल्भ्स तथा क्रिस्टल प्यालेस र न्युक्यासलले १–१ गोलको बराबरी खेले। 

प्रकाशित: ८ कार्तिक २०७८ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App