१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पोखरालाई बदला लिने अवसर

ट्रफीका साथ पोखरा राइनोजका कप्तान विनोद भण्डारी (बायाँ) रचितवन टाइगर्सका कप्तान सोमपाल कामी।तस्बिरः नागरिक

एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्सको सामना गर्दा पोखरा राइनोजसामु लिग चरण र प्लेअफमा भोगेको हारको बदला लिँदै उपाधि जित्ने अवसर हुनेछ।  

लिगको पहिलो खेलमा चितवनलाई २ विकेटको नतिजा सुम्पिएको पोखरा पहिलो क्वालिफायरमा पनि नौ विकेटले पराजित भएको थियो। पोखरा बिहीबार भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो।  

पोखराका कप्तान विनोद भण्डारीले लिग चरण र प्लेअफमा पोखरालाई नतिजा सुम्पिए पनि फाइनल खेल फरक भएको बताए। ‘हामी दुवै टोली नयाँ चरणमा पुगेका छाैँ,’ विनोदले भने, ‘पछिल्लो हारका कारण हाम्रो टोली नराम्रो र चितवन राम्रो भन्न मिल्दैन। 

फाइनल प्रवेश गर्ने दुवै टोलीको स्तर एउटै हो। दुई उत्कृष्ट टोली फाइनल प्रवेश गरेका हुन्। दुवै टोलीका लागि पहिलो पटक इपिएलको उपाधि उचाल्ने अवसर छ। जसले भोलि राम्रो प्रदर्शन गर्छ उही विजेता बन्ने हो। दुवै टोलीमाथि उत्तिकै दबाब छ।’

विनोदले आफूहरूले स्वाभाविक खेल खेल्दै इपिएल उपाधि लक्ष्य साकार पार्ने बताए। ‘चितवनविरुद्धको दुवै भिडन्तमा हामीले पहिलो ब्याटिङ गरेका थियौं तर गतिलो लक्ष्य प्रस्तुत गर्न सकेनौं,’ विनोदले भने, ‘ओपनरले गतिलो सुरुआत गर्नेमा म विश्वस्त छु।’ विनोदले इपिएलमा सहभागी विदेशी खेलाडीबाट नेपाली खेलाडीले धेरै सिक्ने अवसर पाउने बताए। ‘खेलाडी जुन क्लबबाट खेले पनि सबै खेलाडीले सिक्न पाउनेछन्,’ विनोदले भने, ‘इपिएलको पहिलो सिजनबाट अहिलेसम्म आइपुग्दा धेरै परिवर्तन आएको छ। 

खेलाडीहरूको स्तर पनि बढेको छ।’ यता चितवनका कप्तान सोमपाल कामीले पोखरालाई यसअघि दुई पटक हराए पनि त्यो नतिजाले शनिबारको फाइनलमा कुनै अर्थ नराख्ने बताए। ‘फाइनल एउटा पाटो हो। हामी बिनादबाब स्वाभाविक खेल खेल्छाैँ,’ सोमपालले भने, ‘हाम्रा लागि पोखराविरुद्धको खेल आफ्नो क्षमता प्रमाणित गर्ने सुनौलो अवसर हो।’

सोमपालले लिगचरण र प्लेअफमा पोखरालाई हराए पनि उनीहरूलाई कमजोर रूपमा नलिने बताए। ‘यसअघिका दुवै खेलमा हामी बलिङ र ब्याटिङमा चलेका थियाैँ। शनिबार पनि स्वाभाविक प्रदर्शन गर्ने हो भने उपाधि टाढा छ जस्तो लाग्दैन,’ सोमपालले थपे, ‘ट्वान्टी–२० क्रिकेट हो, एउटा बलले पनि खेलको नतिजामा फरक पार्न सक्छ। धेरै पछि मैदान फर्किएका छाैँ, त्यसैले टोलीमा जितको भोक छ। हामी स्वाभाविक खेल खेल्ने प्रयास गर्नेछौं।’

प्रकाशित: २३ आश्विन २०७८ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App