९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

प्रकाश स्मृति बक्सिङ कात्तिक अन्त्यमा

प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कात्तिकको अन्त्यदेखि सुरु हुने भएको छ। नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रतियोगिता आगामी कात्तिकको २९ गतेदेखि सुरु हुने भएको हो। 

तीन विभागीय टोलीसहित करिब दुई सय ५० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेले महामारीका कारण सुस्ताएको खेलक्षेत्रलाई अगाडि बढाउन प्रतियोगिताले मद्दत पुग्ने विश्वास व्यक्त गरे।  

प्रत्येक तौलसमूहका विजेताले कम्तीमा १० हजार नगद पुरस्कार पाउनेछन्। प्रायोजक बढेमा पुरस्कार राशिमा पनि वृद्धि गर्न हुन सक्ने आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा बक्सिङ संघले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ।  

अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडी घोषण गरियो। खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो। 

उक्त छनोटको आआफ्ना पाँच तौलसमूहमा पहिलो भएका पाँच खेलाडीमध्येबाट चार खेलाडी छनोट गरिएको हो। विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भूपेन्द्र थापामगर छन्। सनिल र भूपेन्द्र १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।

प्रकाशित: २१ आश्विन २०७८ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App