२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आर्मीबाट यु–१३ युथ एकेडेमी सञ्चालन

त्रिभुवन आर्मी क्लबले यु–१३ युथ एकेडेमी मंगलबारबाट सञ्चालनमा ल्याएको छ। मंगलबार सैनिक मुख्यालयमा आयोजित एक सामारोहबीच प्रधानसेनापति प्रभुराम शर्मा, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले युथ एकेडेमीको उद्घाटन गरे।

युथ एकेडेमी सञ्चालनका लागि गत वर्ष माघमा आर्मी, एन्फा र सैनिक आवासीय महाविद्यालयबीच सम्झौता भएको थियो। 

एएफसीले क्लब लाइसेन्सका लागि युथ एकेडमी पनि अनिवार्य गरेपछि आर्मीसहित ‘ए’ डिभिजनका अन्य नौ क्लबले युथ एकेडेमी सञ्चालनका लागि विभिन्न विद्यालयसँग सम्झौता गरेका थिए। आर्मी नेपालमा एएफसी लाइसेन्स प्राप्त गर्ने एक मात्र क्लब हो।

युथ एकेडेमीको विधिवत् सुरुआत गर्ने पनि आर्मी पहिलो क्लब बनेको छ। आर्मीले एन्फाले उपलब्ध गराएका १४ खेलाडीमा ११ खेलाडी थप गर्दै मंगलबारबाट एकेडेमी सञ्चालनमा ल्याएको हो। 

एन्फाले युथ एकेडेमीका लागि गोलाप्रथाबाट ४२ खेलाडीलाई आर्मीसहित, एपिएफ र नेपाल पुलिस क्लबमा समान १४ खेलाडी उपलब्ध गराएको थियो। कार्यक्रममा बोल्दै सेनापति शर्माले युथ एकेडेमी सञ्चालन नेपाली फुटबल विकासका लागि फलदायी हुने विश्वास व्यक्त गरे।  

‘आर्मीले स्थापनाकालदेखि नै खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै आएको छ,’ प्रधानसेनापति शर्माले भने, ‘एकेडेमीबाट प्रतिभावान् खेलाडी उत्पादन हुने र उनीहरूले राष्ट्रिय टोलीमा उपस्थिति जनाउने हाम्रो विश्वास छ।’

एन्फा अध्यक्ष शेर्पाले आर्मीले युथ एकेडेमी सञ्चालनमा ल्याएकामा धन्यवाद दिँदै आगामी दिनमा महिला युथ टोली निर्माणमा पनि आर्मी क्लबले ठोस कदम चाल्ने विश्वास व्यक्त गरे।

‘आर्मीलाई एकेडेमी सञ्चालनका लागि विशेष धन्यवाद दिन चाहन्छु,’ शेर्पाले भने, ‘हामीले आर्मीसहित अन्य ८ क्लबसँग पनि युथ एकेडेमी सञ्चालनका लागि सम्झौता गरेका छौं। अन्य क्लबले पनि छिट्टै एकेडमी सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छन्। एकेडेमीबाट उत्कृष्टभन्दा उत्कृष्ट खेलाडी उत्पादन हुनेमा हामी विश्वस्त छौं।’

सोही दौरान राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवास र जर्ज प्रिन्स कार्कीको कप्तानीमा रहेको टोलबीच प्रदर्शनी खेल खेलाइएको थियो। जहाँ भरतको टोली १–० ले जितेको थियो। कार्यक्रममा युवा खेलाडीलाई खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको थियो।

प्रकाशित: २० आश्विन २०७८ ०१:५७ बुधबार

त्रिभुवन आर्मी क्लब युथ एकेडेमी