४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

इपिएल शनिबारबाट: लामो प्रतीक्षापछि चौथो संस्करण

नेपालकै ठूलो व्यावसायिक क्रिकेट एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण लामो समयको प्रतीक्षापछि शनिबारदेखि सुरु हुँदै छ।काठमाडौं किङ्स–११ र ललितपुर प्याट्रियोट्सबीचको खेलसँगै चौथो संस्करण सुरु हुनेछ। 

यसअघिका तुलनामा चौथो सिजन बहुप्रतीक्षित प्रतियोगिता हो। विश्वस्तरीय खेलाडीको सहभागिता, पुरस्कार, ब्रोडकास्टिङ र अन्य तयारीका हिसाबले यस संस्करण निकै रोचक र बहुप्रतीक्षित बनेकोमा दुईमत नै छैन। 

विश्व क्रिकेटकै हस्ती साहिद अफ्रिदीका साथै अन्य स्टार बंगलादेशका तमिम एकबाल, जिम्बाब्वेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद साहजाद, श्रीलंकाका उपुल थरंगा, धामिका प्रसाद, असेला गुनरत्ने तथा वेस्ट इन्डिजका चन्द्रपाउल हेमराज र केसरिक विलियम्सजस्ता क्रिकेटरको प्रदर्शन कस्तो रहला भन्ने चासोको विषय पनि छ।  

यसबीच काठमाडौं किङ्स–११ का अफ्रिदीले दुई खेल मात्र खेल्ने भएपछि नेपाली समर्थकमा केही निराशा भने छाएको छ। आगामी सिजन भने पूरै खेल्ने आश्वासन दिएका अफ्रिदीले आइतबार नै माउन्टेन फ्लाइट जाने कार्यक्रम पनि बनाएका छन्। 

एसोसिएट राष्ट्रबाट उत्कृष्ट प्रदर्शन गरिरहेका क्रिकेटरको प्रदर्शन पनि हेर्न लायक नै हुनेछ। यस पटक टेस्ट राष्ट्र श्रीलंका, पाकिस्तान, बंगलादेश, जिम्बाब्वे र दक्षिण अफ्रिकाका खेलाडी छन्। एसोसिएट राष्ट्र मलेसियाका सार्बिन मुनियन्डी, वीरेन्द्रदीप सिंह, क्यानडाका रायन पठान र सिंगापुरका जनक प्रकाशलगायतको प्रदर्शनले पनि यस संस्करणको इपिएललाई थप उचाइमा पुर्‍याउन सक्नेछ।  

विश्व क्रिकेटकै कान्छो राष्ट्र भुटानका खेलाडी मिक्यो दोर्जी पनि फ्रेन्चाइज टोलीको नजरमा परे। मिक्योले कुशल भुर्तेलको कप्तानीको ललितपुर प्याट्रियोट्सबाट खेल्नेछन्। लयमा देखिएका नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम समयमा व्यक्तिगत कारण देखाउँदै यस सिजनको इपिएल नखेल्ने घोषणा गरेपछि ललितपुरले कुशललाई नेतृत्वको जिम्मेवारी सुम्पियो। 

त्यसअघि नै पूर्वकप्तान पारस खड्काले नखेल्ने घोषणा गरिसकेका छन्। इपिएल आयोजकका प्रमुख आमिर अख्तरसँगको विवादका कारण पारस र ज्ञानेन्द्रले यस सिजन नखेलेको आरोप पनि उनीहरूमाथि लागिरहेको छ।  

यसबीच नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि चोटका कारण यस संस्करण खेल्ने छैनन्। नेपाली समर्थकले घरेलु मैदानमा नेपालका यी तीन महत्वपूर्ण ब्याट्सम्यानलाई यस सिजन देख्न नपाउने भएका छन्। सन् २०१८ को पछिल्लो संस्करणको च्याम्पियन ललितपुर प्याट्रियोट्स हो। 

चौथो संस्करण सन् २०१९ मा नै हुने भनिए पनि कोभिड–१९ को महामारीका कारण प्रभावित बन्न पुग्यो। त्यो संस्करण सञ्चालन हुँदो हो त विश्व क्रिकेटकै अर्का लिजेन्ड क्रिकेटर क्रिस गेलले नेपालको फ्रेन्चाइज क्रिकेट खेल्ने थिए। उनलाई पोखरा राइनोजले अनुबन्धित गरेको थियो। तर, महामारीका कारण प्रतियोगिता सर्‍यो।  

ट्वान्टी–२० विश्वकप क्रिकेट र इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता कारण उनले इपिएलबाट हात झिके। इपिएलमा एउटा टोलीले कम्तीमा तीन विदेशी खेलाडी अनुबन्धित गर्नुपर्ने अनिवार्य गरिएको छ। सोही नियमअनुसार ललितपुरले भुटानका मिक्योसहित दुई श्रीलंकन ओसदा फर्नान्डो र सन्दुन विराक्कोडी तथा अफगानिस्तानका अज्मुतुल्लाह उमरजाई राखेको छ। 

पहिलो पटक फ्रेन्चाइज टोलीको नेतृत्व गरेका कुशलको ललितपुरमा सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, ललित राजवंशीलगायत खेलाडी छन्। इपिएलमा काठमाडौं किङ्स–११ र ललितपुरसहित कुल ६ फ्रेन्चाइज टोली छन्। 

जहाँ शरद भेषावकरको कप्तानीमा भैरहवा ग्ल्याडिएटर्स, सोमपाल कामीको कप्तानीमा चितवन टाइगर्स, करण केसीको कप्तानीमा विराटनगर वारियर्स, विनोद भण्डारीको कप्तानीमा पोखरा राइनोजले चौथो संस्करणको उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन्। 

भैरहवाबाहेक सबै फ्रेन्चाइज टोलीले कप्तान फेरेका छन्। स्कटल्यान्डका कायल कोट्जरको स्थानमा पोखराले नेपालका विकेटकिपर विनोदलाई जिम्मेवारी सुम्पिएको छ। गत संस्करण पृथु बास्कोटाले चितवन, सोमपालले काठमाडौं किङ्स–११ र पूर्वकप्तान पारसले विराटनगरको कप्तानी गरेका थिए। यस पटक काठमाडौंको कप्तानमा सन्दीप लामिछाने छन्।

गत वर्ष भेषावकरले आफ्नो कप्तानीमा भैरहवालाई फाइनलमा पु¥याए पनि १४ रनले चुकेका थिए। घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरदको टोली यस पटक पनि सन्तुलित देखिएको छ। उनको टोलीमा अनुभवी क्रिकेटर तमिमसहित उपुल थरंगा, धम्मिका प्रसाद र सार्भिन क्रिकेटर छन्। आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की र हरिशंकर शाहलगायत स्वदेशी खेलाडी छन्। भैरहवा यस पटक नेपालका पूर्वप्रशिक्षक पुपुबु दसानायकेको प्रशिक्षणमा छ।  

उनलाई नेपाली क्रिकेटरका बारेमा राम्रोसँग ज्ञान छ र त्यसको फाइदा भैरहवाले लिन सक्नेछ। काठमाडौंले अफ्रिदीबाट दुई खेलसम्म साथ पाउनेछ। सन्दीपको स्पिन जादुको साथ पाउने काठमाडौं पनि अनुभवी ओपनर सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, सांसद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला र गुल्सन झाको साथले बलियो देखिएको छ। सोमपालको चितवनमा दिलीप नाथ, राजेश पुलामी, ईशान पाण्डे, कमलसिंह ऐरी, शाहब आलम, सन्दीप सुनार, हसिम अन्सारी, आदिल खान, भीम सार्की र सागर ढकाल छन्।  

जहाँ विदेशी खेलाडी मोहम्मद शाहजाद र करिम जनत, श्रीलंकाका सेक्कुगे प्रसन्ना, मलेसियाका वीरनदीप सिंह र पाकिस्तानका डनिस अजिजको साथले चितवन थप बलियो हुनेछ। विकेटकिपर विनोदको पोखरा राइनोजमा सुनील धमला, रित गौतम, लोकेश बम, रवीन्द्र शाही, विवेक यादव, सुशन भारी, किशोर महतो, विक्रम सोब, नन्दन यादव र अर्जुन कुमाललगायत स्वदेशी क्रिकेटर छन्। जहाँ अनुभवी रिचर्ड लेभी, केसरिक विलियम्स, असेला गुनरत्ने र सहान अरचिगको साथ पोखराले पाएको छ। गत सिजनमा एक खेल पनि जित्न नसकेको पोखरामाथि यस पटक राम्रो गर्ने दबाब हुनेछ।

करण केसीको विराटनगरमा आसिफ शेख, सन्दीप रसाइली, सौरभ खनाल, सुमित महर्जन, हरिबहादुर चौहान, रामनरेश गिरी, विक्रमकुमार भुसाल, अनिल खरेल र अर्जुन चुनारा छन्। विराटनगरमा राष्ट्रिय टोलीका सीमित खेलाडी भए पनि यी खेलाडीले घरेलु प्रतियोगितामा भने राम्रो छाप छोडिसकेका छन्। 

साथै जिम्बाब्वेका सिकन्दर राजा र चन्द पाउल हेमराजजस्ता अनुभवी क्रिकेटरले युवा टोलीलाई बलियो बनाउन पनि सक्छन्। श्रीलंकाका मुनाविरा र क्यानाडाका पठानले विराटनगरका लागि जित भूमिका खेल्न सक्नेछन्।  

गत संस्करणको तुलना यस संस्करणमा पुरस्कार राशि पनि बढाइएको छ। यस संस्करणले विजेता ५० लाख र उपविजेताले १५ लाख रूपैयाँ पाउनेछन्। गत संस्करणको विजेताले २५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाएका थिए। पहिलो संस्करणको उपाधि भने पञ्चकन्या तेजले जितेको थियो। दोस्रो संस्करणदेखि मात्र सहरको प्रतिनिधित्व गरेर फ्रेन्चाइज टोली बनाइएको हो।  

प्रकाशित: ९ आश्विन २०७८ ०१:५५ शनिबार

क्रिकेट एभरेस्ट प्रिमियर लिग सोसिएट राष्ट्रबाट उत्कृष्ट प्रदर्शन