८ वैशाख २०८१ शनिबार
खेल

नेपालको एसिया कप सपना अधुरै

हङकङसँग बराबरीमा रोकिएसँगै नेपाली महिला राष्ट्रिय फुटबल टोलीको एसिया कप सपना अधुरै रह्यो। उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा नेपाल मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपालको आगामी वर्ष भारतमा आयोजना हुने एसिया कप खेल्ने लक्ष्यमा पूर्णविराम लागेको हो।  

नेपाल र हङकङबीचको खेलमा एउटा संयोग पनि थियो। नेपालले सन् १९८६ मा एएफसी महिला एसियन कप च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गर्दा पहिलो प्रतिद्वन्द्वी हङकङ नै थियो, जहाँ नेपाल १–० ले पराजित भयो। त्यसको तीन वर्र्षपछि पनि सोही प्रतियोगितामा नेपालले समूहचरणमा हङकङलाई प्रतिद्वन्द्वीका रूपमा पाएको थियो। सो खेलमा नेपालले हङकङलाई ३–० को नतिजा सुम्पिएको थियो।

सन् १९८६ ,१९८९ र १९९९ गरी तीन पटक एएफसी महिला एसियन कप च्याम्पियनसिप खेलेको नेपालको यात्रा तीनवटै संस्करणमा समूहचरणबाट माथि उठ्न सकेको थिएन। पछिल्लो केही वर्षयता दक्षिण एसियाली फुटबलमै रुमलिएको नेपाली महिला फुटबलका लागि उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेल्ने अवसर जुरेको थियो।

नेपालका लागि आफूलाई दक्षिण एसियाली फुटबलमा फड्को मार्दै एसिया कपमा छनोट अवसर जुरेको थियो। भारतमा आयोजना हुने एसिया कपको सपना साकार पार्न नेपालले समूह ‘एफ’ मा फिलिपिन्स र हङकङको चुनौती पार गर्नुपर्ने थियो। प्रत्येक समूहको विजेता मात्र एसिया कपमा छनोट हुने थिए। पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम मिनेटमा सम्हालिन नसक्नु नै नेपालका लागि धेरै महँगो साबित बन्यो।

खेलको १०  औं मिनेटमा विमला चौधरीको गोलमा आग्रता लिएको नेपाल अन्तिम मिनेटमा सम्हालिन नसक्दा अन्ततः फिलिपिन्सलाई २–१ को नतिजा सुम्पिन बाध्य भएको थियो। त्यसैले एएफसी महिला एसियन कप छनोट पार गर्ने गणितीय सम्भावना कायम राख्न पनि नेपाललाई हङकङविरुद्ध स्पष्ट ३ अंकको आवश्यकता थियो। तर खेल पूर्ण रूपमा दबाबमा राखे पनि फिनिसिङमा चुकेको नेपालको यात्रा समूहचरणमै सीमित बन्यो।

समूह ‘एफ’ मा दुई खेलबाट नेपालले मात्र १ अंक जोड्यो। एक खेलमा ३ अंक जोडको फिलिपिन्स शीर्ष स्थानमा छ भने एक खेलमा १ अंक जोडेको हङकङ दोस्रो स्थानमा छ। नेपालसँग बराबरी खेलेको हङकङको भने एसिया कप छनोट सम्भावना जीवित नै छ। समूह ‘एफ’ मा हङकङ र फिलिपिन्सविरुद्ध हुने खेलले समूह ‘एफ’ को विजेताको टुङ्गो लगाउनेछ। विजेताले भारतमा आयोजना हुने एसिया कपको टिकट पक्का गर्नेछ।

प्रकाशित: ६ आश्विन २०७८ ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App