५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

लुकाकु आगमनले आशावादी चेल्सी

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु सात वर्षपछि स्टाम्फोर्ड ब्रिज फर्किएका छन्। चेल्सीले लुकाकुलाई बिहीबार क्लबको कीर्तिमानी १ सय ३५ मिलियन डलरमा अनुबन्धन गरेको हो। गत सिजन इन्टर मिलानले इटालियन सिरी ‘ए’ को उपाधि जित्दा लुकाकु टोलीका प्रमुख सदस्य थिए। तर आर्थिक संकटका लागि इन्टर लुकाकुलाई प्रिमियर लिग क्लब चेल्सीलाई बेच्न बाध्य भयो। सात वर्ष अघि लुकाकु स्टाम्फोर्डबाट बिदा भएका थिए। सन् २०१४ मा चेल्सीबाट लोनमा एभर्टन गएका लुकाकुले तीन सिजन त्यहाँ बिताएपछि म्यानचेस्टर युनाइटेडमा अनुबन्धन भए। गत दुई सिजन भने उनी इन्टरमा आबद्ध थिए।

‘म निकै खुसी छु र क्लब फर्किंन पाउँदा आफूलाई भाग्यमानी सम्झँन्छु,’लुकाकुले ५ वर्षको सम्झौतापछि भने, ‘मेरो लागि चेल्सीको यात्रा निकै लामो रह्यो। म पहिलो पटक स्टाम्फोर्ड ब्रिजमा आउँदा मैले सिक्नुपर्ने धेरै पक्षहरू थिए। तर यसपटक चेल्सी फर्कंदा मैले धेरै अनुभव बटुलेको छु र म निकै परिपक्व भैसकें। मेरो लागि यो नयाँ चुनौती र अवसर पनि हो। आशा छ हामीले अझ धेरै सफलता पाउनेछौं।’ इन्टरबाट लुकाकुले दुई सिजनमा ६४ गोल गरेका थिए। चेल्सीबाट लुकाकुको पहिलो सिजन यादगार भने बन्न सकेको थिएन। उनले १५ खेलमा कुनै पनि गोल गर्न सकेका थिएनन्। १८ वर्षमा लुकाकु पहिलो पटक चेल्सीमा अनुबन्धन हुँदा उनलाई डिडियर ड्रोग्बाको उत्तराधिकारीको रूपमा हेरिएको थियो।

तर, पहिलो टोलीमा विरलै अवसर पाएपछि उनी निराश बन्न पुगे। चेल्सीबाट लोनमा एभर्टन गएपछि मात्र लुकाकु आफ्नो क्षमता प्रमाणित गर्न सफल भए। एभर्टनमा तीन सिजनमा ८७ गोल गरेपछि चेल्सीले लुकाकुलाई क्लबमा फिर्ता बोलाउन चाहे पनि उनी ७५ मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्धन भएका थिए । ‘चेल्सी छोडेपछि मैलै धेरै आरोहअवरोह भोग्नुपर्‍यो। तर अनुभवले मलाई थप बलियो बनायो,’लुकाकुले भने, ‘आशा छ म क्लबको उपाधि लक्ष्यमा साथी बन्न सक्नेछु। म चेल्सीको जर्सीमा पुनः मैदान फर्कन आतुर छु।’

गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थोमस टुचेलको टोली लुकाकुको आगमनले यस सिजन इङ्लिस प्रिमियर लिगको उपाधि भित्राउने लक्ष्यमा छ। ‘लुकाकु अहिले विश्वकै उत्कृष्ट स्ट्राइकर हुन्,’चेल्सीकी निर्देशक मरिना ग्रनोभास्कियाले भनिन्, ‘हामी लुकाकुलाई टोलीमा फर्काउन पाउँदा हर्षित छौं। आशा छ, हामीले यस सिजन थप सफलताहरू चुम्नेछाैँ र लुकाकुको उपस्थिति टोलीको उपाधि लक्ष्यका लागि अर्थपूर्ण रहनेछ।’

प्रकाशित: ३० श्रावण २०७८ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App