रियो दी जेनेरियो, असार २४ (एपी)– कोरोना महामारीका बीच आयोजनाको संस्करण सम्पन्न गर्नका लागि मात्र भएको कोपा अमेरिकाको फाइनल हेर्ने सबै समर्थकले सपना देखेका थिए।
ब्राजिल र अर्जेन्टिनाले दक्षिण अमेरिकन फुटबल उपाधिका लागि शनिबार रियो दी जेनेरियोको ऐतिहासिक माराकाना स्टेडियममा प्रतिस्पर्धा गर्दै छन्। माराकाना स्टेडियम फुटबलको घरको रूपमा पनि चिनिन्छ, जहाँ असफलताले ग्रस्त प्रतियोगिताको सुखद बिदाइ आवश्यक थियो। कोभिड–१९ का कारण यस संस्करणको कोपा अमेरिका अन्तिम समयमा मात्र ब्राजिलमा गर्ने निर्णय हुँदा त्यसको व्यापक विरोध भएको थियो। विरोधका बीच बन्द रंगशालामा खेल सञ्चालन भयो र सम्पन्न हुने सँघारमा पनि छ। नेइमारको ब्राजिल डिफेन्डिङ च्याम्पियन हो भने लियोनल मेसीको अर्जेन्टिना पनि चनौतीपूर्ण टोली हो।
यी दुईले गरेर सात पटक विश्वकप र २३ पटक क्षेत्रीय उपाधि जितेका छन्। विश्व फुटबलका प्रतियोगितामा यी दुवैलाई सदाबहार दाबेदारका रूपमा हेरिन्छ। तथापि, अर्जेन्टिनाले सन् १९९३ देखि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। सन् १९९३ मा कोपा अमेरिका जितेयता अर्जेन्टिना उपाधिको भोको छ। स्टार खेलाडी मेसीले नै अर्जेन्टिनाबाट सन् २००७, २०१५, २०१६ को कोपा अमेरिका फाइनल र सन् २०१४ को विश्वकप फाइनलमा हार बेहोरेका छन् । अर्जेन्टिनाले माराकाना स्टेडियममा नै २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग हार बेहोरेको थियो।
‘देशका लागि सदैव उपाधि जित्ने लक्ष्य हुनेछ,’ मेसीले भने, ‘यस पटक पनि लक्ष्य ठूलो थियो। पहिलो फाइनल खेल्ने र उपाधि पनि जित्ने ।’ सन् २०१९ को कोपा अमेरिका ब्राजिलले जित्दा उसका स्टार खेलाडी नेइमार चोटका कारण टोलीबाट बाहिर थिए। उनै नेइमारले सेमिफाइनल खेल जितेपछि अर्जेन्टिनासँग फाइनल खेल्ने इच्छा व्यक्त गरेका थिए। देशमा यस संस्करणको कोपा अमेरिका आयोजना गर्ने अन्तिममा निर्णय हुँदा चिन्ता गर्ने ब्राजिली खेलाडीमध्ये नेइमार पनि एक हुन्। खेलको उद्घाटन हुनुभन्दा दुई हप्ताअगाडि मात्र अर्जेन्टिना र कोलम्बियाबाट आयोजना सारिएको थियो। मेसी र नेइमारले बार्सिलोनामा सहकर्मी भएर च्याम्पियन्स लिग जिताएका थिए। त्यसैले उनीहरूबीच राम्रो सम्बन्ध पनि रहेको छ। सन् २०११ को क्लब विश्वकप फाइनलमा यी दुई नै प्रतिद्वन्द्वी थिए। जहाँ नेइमार ब्राजिली क्लब सान्तोस र मेसी बार्सिलोनाको महŒवपूर्ण सदस्य भएर अर्काविरुद्ध चुनौती प्रस्तुत गरेका थिए। उक्त खेल बार्सिलोनाले ४–० ले बाजी मारेको थियो । शनिबार पनि विश्वका यी दुई एकअर्का प्रतिद्वन्द्वी हुनेछन्। ब्राजिल र अर्जेन्टिना एक सय पटकभन्दा बढी भिड्दै छन्, जहाँ चार फाइनल खेल पनि समावेश छ।
तीमध्ये अर्जेन्टिनाले सन् १९३७ को दक्षिण अमेरिकन च्याम्पियनसिपको फाइनल जितेको थियो । त्यसपछिका तीन फाइनल भने ब्राजिलले हत्याएको छ। सन् २००४ को कोपा जितेको एक वर्ष पछि नै ब्राजिलले अर्जेन्टिनासँग जर्मनीमा कन्फेडेरसन कप फाइनल खेलेको थियो । जहाँ, काका, रोनाल्डिन्हो र एन्ड्रिनोप्रेरित ब्राजिलसँग अर्जेन्टिना ४–० ले स्तब्ध भयो। सन् २००७ को कोपा अमेरिकामा पनि अर्जेन्टिनालाई प्रमुख दाबेदारको रूपमा हेरिएको थियो । तर ब्राजिलले फाइनलमा मेसीको प्रेरणामा रहेको अर्जेन्टिनालाई ३–० ले हरायो।
गत संस्करणमा पनि सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले स्तब्ध बनाउँदा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरेका थिए। तर, फाइनलमा जेसुसमाथि प्रतिबन्ध लागेको छ भने फिर्मिनोलाई लयमा लुकास पाक्वेटाले विस्थापित गर्न सक्छन् । अर्जेन्टिना १५औं उपाधि कोपा अमेरिका जित्दा उरुग्वेको नाममा रहेको दक्षिण अमेरिकी प्रतियोगितामा सर्वाधिक उपाधिको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा हुनेछ। ब्राजिल पनि दशौं पटक कोपाको उपाधि उचाल्न चाहन्छ। दर्शकबिनाको माराकाना स्टेडियमा क्षेत्रीय उपाधि जित्ने टोलीले आगामी कतार विश्वकपमा पनि दाबेदारी प्रस्तुत गर्नेछ।
प्रकाशित: २५ असार २०७८ ०४:०२ शुक्रबार