६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टोकियो ओलम्पिक: पार्कीको स्थानमा सरस्वती

आगामी टोकियो ओलम्पिकमा एथलेटिक्सबाट धावक गोपीचन्द्र पार्कीले खेल्ने पक्का रहेको भनिएको थियो।  युनिभर्सिलिटी स्कलरसिपअन्तर्गत रहेका गोपीचन्द्रको ओलम्पिक खेल्ने सपना टोकियो ओलम्पिक उद्घाटन हुन एक महिनाभन्दा कम समय बाँकी रहँदासम्म थियो। 

तर, बिहीबार सञ्चारमाध्यममा एकाएक गोपीचन्द्रको स्थानमा स्प्रिन्टकी सरस्वती चौधरीको नाम समावेश भएको समाचार बाहिरिएपछि नेपाली खेलक्षेत्र नै अचम्मित बन्यो। बिहीबार नै नेपाल ओलम्पिक कमिटी (एनओसी) मा बैठक बस्यो र सरस्वती चौधरीले नै जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने पुष्टि गर्‍यो।  

बिहीबार एक विज्ञप्ति जारी गर्दै एनओसीले नियमित कोटा (युनिभर्सिलिटी) बाट सरस्वतीले ओलम्पिक खेल्ने जनाएको हो। विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला सय मिटरमा कोटा छुट्ट्याएका कारण सरस्वतीलाई पठाइएको एनओसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महासंघको प्राविधिक कमिटीले अन्तिम समयमा म्याराथनको सट्टा छोटो दूरीमा नाम पठाउन गत जुन २९ मा नेपाललाई पत्राचार गरेको थियो।  

नेपाललाई म्याराथनमा नभई महिला विधाको सय मिटर दौडमा कोटा छुट्ट्याइएको जानकारी प्राप्त भएको थियो। तर एनओसीले पार्कीका लागि प्रयास गरे पनि सम्भव नभएको एनओसीको उपाध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिए। ‘ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सम्बन्धित निकायमा पार्कीको सहभागिताका लागि अथक प्रयास गरिएको थियो,’ चतुरानन्दले भने, ‘तर, म्याराथनमा खाली नभएकाले स्प्रिन्ट भर्न पत्र आएपछि संघको निर्णयअनुसार सरस्वतीको नाम पठाएको हो।’ नेपालगन्ज म्याराथनको उपाधिसहित गोपीचन्द्रले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए । त्यहीअनुरूप उनले तयारी पनि गरिरहेका थिए। तर ओलम्पिक नजिकिँदै गर्दा उनी अभागी साबित भएका छन्। 

प्रकाशित: १८ असार २०७८ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App