युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलकुदमा प्रतिबन्धित औषधिको प्रयोग एवं विधिसम्बन्धी एकदिने सचेतना तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद पत्रकारहरूलाई एकदिने एन्टी डोपिङसम्बन्धित प्रशिक्षण दिइएको हो।
दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ अर्गानाइजेसन (एसए राडो) का सदस्य डा. ज्ञानेन्द्र शाहले कसरी खेलाडीहरू डोपिङ टेस्टमा असफल हुन्छन्, त्यसको सजगता, प्रतिबन्धित औषधि, एन्टी डोपिङ टेस्टको प्रक्रिया र विश्व एन्टी डोपिङ संस्था वाडाको अवधारणाबारे प्रशिक्षित गराएका थिए। उक्त प्रशिक्षण कार्यक्रममा १५ खेलकुद पत्रकारका साथै मन्त्रालयका कर्मचारीको पनि सहभागिता थियो।
वाडाले प्रतिबन्धित गरेको प्रक्रिया जसलाई खेलाडीले चोटबाट छिटो निको हुन अपनाउँदा डोपिङ टेस्टमा असफल हुने गरेको डा. शाहले जानकारी दिए। खेलाडीले प्रतिबन्धित औषधि आफ्नो साथमा राख्दा या प्रयोग गर्दा, डोपिङ टेस्टमा बाधा पुर्याउँदा र आफू कहाँ छु भन्नेबारे जानकारी नदिँदा पनि डोपिङमा पर्ने उनको भनाइ थियो। प्रतिबन्धित औषधि प्रयोग गरेको दुई वर्षसम्म पनि डोपिङ टेस्ट पोजिटिभ आउने र त्यसले खेलाडीको करियरकै कालो दिन बन्ने भएकाले उनीहरू यसबारे सजग हुनुपर्ने शाहले उल्लेख गरे।
‘हरेक वर्षको जनवरी १ मा वाडाले प्रतिबन्धित औषधिको सूची निकाल्ने गर्दछ। त्यसबारे खेलाडीले पनि हेर्न सक्छन्। यद्यपि, उनीहरूले औषधिको प्रयोग गर्दा वाडाका प्रतिनिधिहरू जानकारी लिँदा थप सहजता हुन्छ,’ डा. शाहले भने, ‘उपचारका लागि खेलाडीले औषधि प्रयोग गर्नुपरेमा आयोजना हुनुभन्दा अगाडि थेरापेटिक युजेज एजम्पसन (टियुई) बारे पठाउँदा त्यहाँका कमिटीको विश्लेषणबाट केही सहजता हुनेछ।’ अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघअन्तर्गत एन्टी डोपिङको कार्यकारी सदस्यसमेत रहेका शाहले कुनै पनि खेलाडीले औषधिको प्रयोग गर्दा वाडा या क्षेत्रीय एन्टी डोपिङ संस्थाका प्रतिनिधिसँगको सल्लाहमा मात्र प्रयोग गर्न आग्रह गरे।
नयाँ खेलकुद विकास ऐन २०७६ ले नेसनल एन्टी डोपिङ अर्गनाइजेसन (नाडो) को अनिवार्यताको अवधारणा पनि अवलम्बन गरेको छ। त्यसबारे छिट्टै नेपालमा पनि प्रक्रिया सुरु हुने डा. शाहको भनाइ छ। ‘नयाँ ऐनमा नाडो स्थापनाबारे स्पष्ट उल्लेख गरिएको छ। दक्षिण एसियामा बंगलादेश, श्रीलंका र भुटानले त्यसको सुरुआत गरिसकेका छन्। हाम्रो देशभित्र पनि छिट्टै सुरु हुनेछ भन्ने आशा गरौं,’ उनले भने, ‘यो एक स्वतन्त्र संस्था हो। तर, यसको स्थापनाले देशका हरेक कुनाका खेलाडीहरू एन्टी डोपिङबारे सचेत हुनेछन्।’
युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले उक्त प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन तथा समापन गरेका थिए। उनले सहभागी पत्रकारलाई प्रशिक्षणको प्रमाणपत्रसमेत प्रदान गरे। सो अवसरमा सचिव न्यौपानेले खेलाडीलाई शक्तिवर्धक औषधि प्रयोगबाट रोक्न र एन्टी डोपिङबारे जानकारी दिन सरकार र सञ्चारमाध्यमको संयुक्त प्रयासबाट मात्र सम्भव हुने धारणा राखे।
प्रकाशित: १४ असार २०७८ ०५:४१ सोमबार