६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेट मैदानको डेढदशक, आकार लियो रुप फेरिएन

१३ वर्ष अघि पोखरा रंगशालास्थित क्रिकेट मैदान निर्माणको क्रममा । तस्बिरः नागरिक

ढुंगे क्रिकेट मैदानबाट अन्तर्राष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप भने फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यूँका त्यूँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तर्राष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ ।  

किर्तिपुरस्थिति त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानपछि सबैभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने अवसर पोखराकै यही मैदानले पाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आयोजना गरिदैं आएपनि पूर्वाधार भने स्थानीयस्तरकै भन्दा पनि गएगुज्रेको छ । सरकारले जेठ १५ गते बजेट भाषण ग¥यो । देशका विभिन्न आठवटा क्रिकेट मैदानलाई ५ करोड रुपैयाँ छुट्टाइयो । छुट्टाइएको बजेटले पोखरा रंगशाला क्रिकेट मैदानलाई भने छुन सकेन् ।  

तीन तहको सरकार छ । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयको अभावले पनि खेलकुद पूर्वाधार रुमल्लिएको छ । पूर्वाधामा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयको खाँचो रहेको क्रिकेट पदाधिकारीको भनाई छ । एउटाको योजनालाई अर्कोले सपोर्ट नगर्ने परिपाटी छ । खेलकुदमा राजनीतिक नियुक्तिले पनि पूर्वाधार विकासमा प्रभाव पारेको ठम्याई छ । सरकार र कर्मचारी बीच समन्वय नहुदाँको पीडा योजनामा परेको प्रष्टै देखिन्छ ।  

‘राजनीतिक पहँुचको अभाव, कर्मचारी र सरकारबीच समन्वयको कमजोरीले खेलकुद पूर्वाधार लगानी हुन सकेको छैन्,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘हिजो आईसिसीले पोखरामा सेन्ट्रल क्रिकेट एकेडेमी बनाउन चासो दिएको थियो । तर केन्द्रीकृत मानसिकताले बन्न सकेन् । हाम्रो लागि दुर्भाग्य हो ।’ बजेट फ्रिज हुने समस्या छ । दुईवर्ष पोखरा क्रिकेट मैदानको लागि एककरोड रुपैयाँ छुट्टाइएको थियो । तर अन्त्यमा बजेट फ्रिज हुन पुग्यो । ‘मैदानको एक्सपोज अन्तर्राष्ट्रिय जगतमा पुग्यो तर मैदानको अवस्था उस्तै छ,’ उनको भनाई थियो ।

पोखरा रंगशालाको क्रिकेट मैदान बनाउन सरकारले १४ वर्षको अवधिसम्म आईपुग्दा एककरोड रुपैयाँ खर्चिएको छैन् । राष्ट्रिय खेलकुद परिषद मार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म जम्माजम्मी आधा करोडरुपैयाँ खर्चिएको छ । रंगशालाभित्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले चासो दिएसँगै काम शुरु गरिएको थियो ।  

नेपाल क्रिकेट संघले २०६४ सालमा तत्कालिन कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष डा. वीरेन्द्रसिंह गुरुङको अध्यक्षतामा समिति गठन गर्दै काम अघि बढाएको थियो । तत्कालिन समितिमा संघका सचिव देवेनसन प्रजु, अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लालचन लगायत थिए । मैदान बनाउन नेपाल क्रिकेट संघले २७ लाख रुपैयाँ खर्चिएको थियो । केही श्रमदान रह्यो । समिति अहिले पनि सक्रिय छ । समितिको खातामा केही रकम अझै मौज्दात छ ।  

२०६८ सालमै निर्माणकै क्रममा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाईएको थियो । २०७० सालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने राष्ट्रिय क्रिकेट टोलीको क्लोजक्याम्प पोखरामै शुरु गरेको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउने भेन्युको अवस्था विडम्बनायुक्त छ । ‘राज्यले छुट्टाएको बजेटले एउटै खेलमैदानमा लगानी गर्नुपर्छ । अर्को वर्ष अर्को ठाँउमा लगानी गरेर पूर्वाधार विकास हुन्छ नत्र थोरै बजेट दिदाँ काम सबैजसो आधाआधीमै रहन्छ,’ नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले भने, ‘लगानी भएका मैदान मर्मत सम्भार नै हुदैन् । त्यसले गर्दा लगानी गरेको खासै प्रभावकारी देखिदैन् ।’  

परिषदले मैदानको लागि दशवर्ष अघि १३ लाख उपलब्ध गराएको थियो । १३ लाखले माटो भरियो । फेरी १० लाख रुपैयाँ क्रिकेट मैदानलाई बजेट छुट्टियो । त्यो १० लाखले पानीको पाईप जडान गरिएको थियो । चालु आर्थिक वर्षको असार मसान्तभित्र काम गर्ने गरी २५ लाख रुपैयाँ उपलब्ध गरायो । जसले तारजाली(फेन्सिङ)लगाउने काम भईरहेको छ । परिषद बाहेक क्यान र स्थानीयस्तरमै जुटाइएको सहयोगबाट मैदान निर्माण गरिएको थियो । ‘स्थानीय तहले समेत खेलकुद पूर्वाधार मर्मत सम्भार गर्ने तर्फ चासो र ध्यान पुर्याउनुपर्छ,’ प्रशिक्षक टमटाले भने–‘लगानी मात्रै होईन मर्मत सम्भार निरन्तर भईराख्नुपर्छ । त्यसको लागि स्थानीय तहले व्यवस्थापन गर्नुपर्छ ।’  

मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आयोजना गरियो । जुन आयोजनासँगै केही किर्तिमान बने । सन २०१५, ०१७ र ०१९ मा लगातार तीन वर्ष बेलायति मेलिब्रोन क्रिकेट क्लबसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धा खेलिसकिएको छ । दुईवर्ष अघि मलेसियाको राष्ट्रिय टोलीसँग नेपाली राष्ट्रिय क्रिकेट टोली र स्थानीय टोलीले दुई दिन मैत्रीपूर्ण खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमै खेलिएको थियो । ‘व्यस्त रहने मैदान भएपनि सरकारको लगानी भने उदेकलाग्दो छ’ क्रिकेटप्रेमीको गुनासो छ ।  

१४ वर्षको अवधिमा मैदानमा खासै परिवर्तन भएको छैन् । ‘हिजो मैदान जस्तो थियो । अहिले पनि त्यस्तै छ । बाउण्ड्री बढाईयो । त्यो बाहेक उपलब्धी छैन् । साग आयोजना हुदाँ मेसिनरी सामान थपियो । त्यो नै उपलब्धी हो,’ लामो समय क्रिकेट मैदानमा क्युरेटरको भूमिका निर्वाह गर्दै आएको पूर्वा क्रिकेट खेलाडी प्रदीप राउतले भने । उनका अनुसार पहिलो नै पाँचवटा पीच बनाईको थियो । अहिले पनि छ । प्राक्टिसको लागि सागमा नेट्स थपियो । यो आर्थिक वर्ष परिषदले दिएको २५ लाखले इनर फेन्सिङ शुरु गरिएको छ त्यो नै सबैभन्दा उपलब्धी मान्नुपर्ने उनको भनाई थियो ।  आईसिसीको डेभलपमेन्ट प्रोजेक्ट गुमेसँगै पोखरा रंगशाला क्रिकेट मैदानले विकासको फड्को मार्न सकेन् । नेपालले क्रिकेटमा एकदिवसीय मान्यता पाएसँगै मैदान निर्माणले गति लिएको हो । यद्यपी पोखराको मैदानले अपेक्षाकृत परिवर्तन पाउन सकेको छैन् । 

प्रकाशित: ७ असार २०७८ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App