१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

ओलम्पिक डेमा विभिन्न कार्यक्रम

आधुनिक ओलम्पिकको जन्मदिनलाई सम्झेर ओलम्पिक डेको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी पाँच दिनसम्म मनाइने भएको छ।  

सोही अवसरमा शनिबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यालयमा युवा तथा खेलकुदमन्त्री एकबाल मियाँले राष्ट्रिय झन्डा र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झन्डा झन्डोत्तोलन गरी ओलम्पिक डे उद्घाटन गरेका थिए। सो अवसरमा मन्त्री मियाँले नेपाली खेलकुदको विकासका लागि टिम स्पिरिटको भावनाले अगाडि बढ्ने बताए। एनओसीका अध्यक्ष श्रेष्ठले भने अन्तर्राष्ट्रिय ओलम्पिकसँग आबद्ध विश्वका सबै राष्ट्रमा विभिन्न कार्यक्रम आयोजना भइरहेको र त्यही क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमसहित पाँच दिनसम्म कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

उनले खेलाडी मात्र नभई सबैलाई समेटेर व्यापक रूपमा ओलम्पिकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। ओलम्पिक खेल मात्र नभई सांस्कृतिक रीतिरिवाज र विश्व भ्रातृत्वमार्फत शान्ति अभियानलाई अघि बढाउनुपर्ने श्रेष्ठको भनाइ थियो। सो अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठले मैत्रीपूर्ण टेबल टेनिस खेलेका थिए। ओलम्पिक डेकै अवसरमा पोखरमा आर्चरी संघको आयोजनमा टोकियो ओलम्पिकलाई मध्यनजर राख्दै प्रशिक्षणमा रहेका खेलाडीले आर्चरी खेलको प्रदर्शन गरेका छन्। 

यस्तै फेन्सिङ संघको आयोजनामा फेन्सिङ प्रदर्शन र बाँकेमा मंगोलियन जुडो डोजोद्वारा जुडो खेल प्रदर्शन भएका थिए। साथै भिएस निकेतन स्कुलले २ सय ५० विद्यार्थीलाई भर्चुअल चित्रकला आयोजना गरी ओलम्पिक डे मनाएको छ। पाँच दिनसम्म विभिन्न ३५ जिल्लामा विभिन्न कार्यक्रम गरी ओलम्पिक डे मनाइने भएको छ।

प्रकाशित: ६ असार २०७८ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App