२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

स्कटल्यान्डसँग अंक बाँड्न बाध्य

युरो कप २०२०

युरो कप फुटबलअन्तर्गत शुक्रबार स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इङ्ल्यान्डले एक खेलअगावै नकआउट चरणमा स्थान बनाउने मौका गुमाएको छ।  

चिर परिचित प्रतिद्वन्द्वी स्कटल्यान्डविरुद्ध १९९९ देखि सहज जित निकाल्दै आएको इङ्ल्यान्डले बराबरी खेल्दा अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा इङ्ल्यान्डले घरेलु मैदान वेम्बलीमा एक प्रहार मात्र निसानामा गरेको थियो भने अन्य प्रयास निकै फितलो रहेका थिए। निर्धारित ९० मिनेटको खेल सकिन १५ मिनेट बाँकी रहँदा कप्तान ह्यारी केनलाई प्रतिस्पथापन गरेका प्रशिक्षक साउथगेटको टोलीले फितालो प्रदर्शन गरेको थियो। केनको स्थानमा मार्कुस रसफोर्डलाई मैदान प्रवेश गराए पनि उनको जादु चल्न सकेन।  

घरेलु मैदानमा दर्शकको साथ पाएको इङ्ल्यान्डका लागि ११औं मिनेटमा जोन स्टोन्सको हेडर बल क्रस बारमा लागेर फर्किएको थियो। मेसन माउन्टको कर्नरमा ६ यार्ड बक्सभित्रबाट फ्री हेडर पाएका स्टोन्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो। लगत्तै माउन्टको प्रहार अकासिएको थियो।  

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा इङ्ल्यान्डका रक्षक रिस जेम्सले गोललाइनबाट बल क्लियर गर्दै खेल बराबरी अवस्थामा कायम राखेका थिए। बाँकी समयमा दुवै टोली स्पष्ट जितका लागि प्रयास गरे पनि सफल हुन सकेन र अंक बाँड्न बाध्य बने।  

गोलरहित बराबरीमा खेल सकिएपछि इङ्ल्यान्डका प्रशिक्षक साउथगेट आलोचित भएका छन्। विशेष गरी कप्तान ह्यारी केनलाई प्रतिस्थापन गर्दै मार्कुस रसफोेर्डलाई मैदान प्रवेश गराएपछि उनको आलोचना भएको थियो।  

‘प्रतिस्पर्धात्मक खेल चलिरहेको अवस्थामा रसफोर्डलाई मैदान प्रवेश गराएर अग्रता निकाल्ने योजना थियो,’ प्रशिक्षक साउथगेटले भने, ‘गोलका लागि फरक रणनीति बनाए पनि सफल हुन सकेनौं।’

यी दुईको बराबरीले चेक रिपब्लिकले नै समूहमा शीर्षता कायम राखेको छ। चेक र इङ्ल्यान्डको ४/४ अंक भएको छ भने क्रोएसिया र स्कटल्यान्ड १/१ अंकसहित तेस्रो र चौथो स्थानमा छन्। समूहका अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इङ्ल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछन्।  

त्यसअघि समूह ‘डी’ कै अर्को खेलमा क्रोएसिया र चेक रिपब्लिकले पनि बराबरी खेल्दै अंक बाँडे। ग्लास्गोस्थित हाम्पडेन पार्कमा चेकले ३७औं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो। प्याट्रिक शिकले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै अग्रता निकालेका थिए।  

पहिलो हाफको सोही अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा खेल १–१ को प्रतिस्पधात्मक बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुआतमा नै क्रोएसिया बराबरी गोल फर्काउँदै खेलमा फर्किएको थियो। इभान पेरिसिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। क्रोएसियाका लागि क्रामरिचको पासमा पेरिसिचले गोल गरेका थिए। त्यसपछिको बाँकी समयमा दुवै तर्फबाट थप गोल हुन सकेन र अंक आपसमा बाँडिएको थियो।  

त्यस्तै स्विडेनले पहिलो जित दर्ता गर्ने क्रममा स्लोभाकियालाई पराजित गरेको थियो। स्लोभाकियामाथि १–० को झीनो जित निकाल्दै स्विडेन समूह ‘ई’ को शीर्ष स्थानमा पुगेको छ।

प्रकाशित: ६ असार २०७८ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App