५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

स्पेनको फिनिसिङ समस्या यथावत्

स्विडेनका खेलाडीसँग बल खोस्ने प्रयासमा स्पेनका अल्भारो मोराटा (रातो) । तस्बिरस: एपी

युरो कप २०२० का लागि टोलीमा व्यापक परिवर्तन गर्दै नयाँ ढाँचामा जाने निर्णय गरेको स्पेनले प्रतियोगिताको पहिलो खेलमा स्विडेनविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँड्दा पुरानै समस्या दोहोरियो– प्रशस्त गोलको अवसर, फिनिसिङ शून्य।

स्पेनले अधिकांश समय दबाबमा राखेको पहिलो हाफमा अल्भारो मोराटाले एउटा अवसर खेर फाले, जुन खेलकै सुनौलोमध्येको एक थियो। स्पेनले खेलमा ४ सय १९ पास खेल्यो, जुन युरो कप इतिहासमा कुनै पनि टोलीले पहिलो हाफमा खेलेको सबैभन्दा धेरै पास हो। ६६औँ मिनेटमा मोराट मैदानबाहिर निस्कँदा घरेलु समर्थकले चर्को विरोध गरेका थिए। स्विडेनविरुद्ध पहिलो खेलमा बराबरी खेलेसँगै प्रशिक्षक लुइस इनरिकेको भिल्लारियालका स्ट्राइकर जेरार्ड मोरेनोलाई मैदान नउतार्ने निर्णयसमेत आलोचित बनेको छ।

मोरेनोले गत सिजन भिल्लारियालबाट २३ गोल गरेका थिए। स्पेनले पहिलो हाफपछि भने खेलको लय गुमाएको थियो। दोस्रो हाफमा स्विडेनले दुई गोलको अवसर खेर फालेको थियो। एलेक्जान्डर इसाकको प्रहार बारमा लागेर फर्किएको थियो भने मार्कुस बर्जले २ यार्डबाट गरेको प्रहार पनि बाहिरिएको थियो। ‘उनीहरूले रक्षात्मक खेल्ने निर्णय गरे र हामीलाई रोक्न सफल भए। हाम्रो रणनीतिविपरीतको नतिजा आयो,’ इनरिकेले भने, ‘खेलमैदान पनि स्तरीय भएन। खेलाडीले बल नियन्त्रणमा लिनै कठिन भयो।’

समूह ‘ई’ को अर्को खेलमा स्लोभाकियाले पोल्यान्डविरुद्ध जितका साथ सुखद सुरुआत गरेको थियो। स्पेन र स्विडेनले भने अंक बाँडेका हुन्। अर्को खेलमा स्पेनले शनिबार पोल्यान्डको सामना गर्र्दै छ। त्यस खेलले यो समूहबाट अघिल्लो चरण प्रवेश गर्ने टोलीको निर्धारण गर्न सक्छ।  

रूस विश्वकपमा पनि स्पेन घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा निराश भएको थियो। त्यसैले इनरिकेले युरो कप टोलीमा परिवर्तन गर्दै अधिकांश युवा खेलाडीलाई टोलीमा अवसर दिएका थिए। स्पेनले पछिल्ला केही मुख्य प्रतियोगितामा सुखद प्रदर्शन गर्न सकिरहेको छैन।

स्विडेनविरुद्धको पहिलो हाफमा उत्कृष्ट देखिएको स्पेन दोस्रो हाफमा भने निरीह देखिएको थियो। कप्तान सर्जियो बास्क्वेट र डिएगो लोरेन्टो कोभिड १९ संक्रमणका कारण टोलीको अभ्यासमा छैनन्। त्यसैले टोलीको प्रदर्शनमा उनीहरूको अनुपस्थिति देखिएको थियो। इसाकले गत सिजन रियाल सोसिडाडका लागि १७ गोल गरेका थिए। २१ वर्षे इसाकले आफूलाई प्रमाणित गरेको खेलमा स्विडेनले स्पेनलाई दबाबमा राखेको थियो।

प्रकाशित: २ असार २०७८ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App