२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मौजाको सेमी हाईअल्टिच्यूड खेल मैदान सम्याउन सुरु

शिलान्यास कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी। तस्बिर : सन्देश/नागरिक

पोखराको मौजामा निर्माण गर्न प्रस्तावित सेमी हाइअल्टिच्यूड रंगशालाको खेल मैदान सम्याउन सुरु भएको छ। पोखरा महानगरपालिकाको ४० लाखको लागतमा पोखरा महानगरपालिका वडा नम्बर २० मा निर्माण गर्न प्रस्तावित सेमी हाइअल्टिच्यूड रंगशालाको खेल मैदान सम्याउन सुरु गरिएको हो। रंगशालाको विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरेर सेमी हाइअल्टिच्यूड रंगशाला निर्माण गर्ने पक्का भएपछि खेल मैदान सम्याउन सुरु गरिएको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीमबहादुर गुरुङले जानकारी दिए।

मैदान सम्याउने कार्यको शनिबार शिलान्यास गरिएको छ। मैदान सम्याउने कार्यको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्की २ (ख)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले शिलान्यास गरे।

सेमी हाइअल्टिच्यूड रंगशालाको डिपीआर तयार गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए। पोखरा महानगरपालिकाले ४० लाख छुट्याएकाले डिपीआर तयार गरेर बाँकी रहेको रकमले मैदान सम्याउन थालिएको उनले बताए।

यो खेल मैदान बनेमा पोखराको सबैभन्दा उचाईको खेल मैदान बन्नेछ। एक हजार सात सय मिटरको उचाईमा रहेको यो खेल मैदानमा इलाभेन अ साईड फुटबल खेल्न मिल्नेगरी संरचना निर्माण गरिनेछ। महानगरले तयार गरेको डिपीआर अनुसार यो मैदान पूर्ण रुपमा निर्माण सम्पन्न गर्न १६ करोड खर्च लाग्नेछ। मैदानसँगै त्यहाँ करीब ३ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत निर्माण गरिने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए। त्यस्तै, खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचनापनि निर्माण गरिनेछ।

त्यस्तै सो मैदानको दक्षिणी भागमा बास्केटबल र भलिवल कोर्टसमेत बनाईनेगरी डिपीआर तयार भएको छ। मैदानमा प्राकृतिक दुबो रोपिने उनले जानकारी दिए। पोखरा महानगरपालिकाका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले मैदानको भागमध्ये कहिं २ मिटर त कहिं ५ मिटर गरेर ८ हजार घनमिटर माटो निकालिने बताए।

पोखराको पर्यटकीय क्षेत्र मानिने मौजामा बन्ने खेल मैदानबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमालका श्रृंखलाहरु दृश्यावलोकन गर्न सकिन्छ। उसो त खैल मैदान नजिकैको थुम्कोबाट पोखरा बजारसँगै नजिकका क्षेत्रहरु प्रष्टसँग देखिन्छ। नजिकै जंगलसमेत भएकाले त्यहाँ मृग, हरिण, कालिज, वन कुखुरालगायतसँग साक्षात्कारसमेत गर्न सकिने वडाध्यक्ष गुरुङले बताए।

शिलान्यास कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मौजाको सेमी हाइअल्टिच्यूड रंगशाला पोखरा र पोखरेलीको गौरवको विषय भएको बताए। उनले पोखरा विश्वको उत्कृष्ट १० गन्तव्यमा पर्ने भन्दै त्यसमा खेल पर्यटनपनि एक महत्वपूर्ण पाटो भएको बताए। तर खेल खेल्न मौजा आउने र फेरि पोखरा फर्किने हो भने त्यसको औचित्य नहुने भन्दै त्यसका लागि स्थानिय होमस्टेमा बस्ने र त्यहिंका अर्गानिक उत्पादन खाने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

कास्की २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य विन्दुकुमार थापाले सेमी हाइअल्टिच्यूड रंगशाला पोखराको लागि महत्वपूर्ण भएकाले यो निर्माणका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १४ चैत्र २०७७ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App