२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

शहरी विकास तथा भवन कार्यालयलाई प्रादेशिक क्रिकेट मैदान निर्माणको जिम्मा

पोखरा–३३ पशुपतिघाटस्थित प्रस्तावित प्रादेशिक क्रिकेट मैदानस्थल । तस्बिर फाईल–नागरिक

सामाजिका विकास मन्त्रालयले आवश्यक प्राविधिक जनशक्तिको अभाव जनाउँदै पोखरा–३३ पशुपतिघाटस्थित प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको टेण्डरसहितको सम्पूर्ण कामको जिम्मेवारी भौतिक मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयलाई दिएको छ ।  

सामाजिका विकास मन्त्रालयले क्रिकेट मैदानको विस्तृत परियोजना प्रतिवेदन अनुसार छुट्टाइएको बजेटबाट तत्कालै गर्नुपर्ने कामको टेण्डर आह्वानको जिम्मेवारी सुम्पिएको हो । मन्त्रालयले शहरी विकास तथा भवन कार्यालयलाई चैत नलाग्दै सबै जिम्मेवारी दिइएको जनाएको छ ।  

क्रिकेट मैदानको लागि यो आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट छुट्टाइएको छ । छुट्टाइएको बजेटबाट २५ लाख रुपैयाँ नदी नियन्त्रणको लागि राख्ने र बाँकी रहेको १ करोड ७५ लाख रुपैयाँबाट काम अघि बढाउने योजना रहेको सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले बताए । ‘सामाजिक विकास मन्त्रालयसँग प्राविधिक छैनन् । त्यसैले प्राविधिक रुपमा अध्ययन गर्नुपर्ने विषय भएकोले भौतिक मन्त्रालय मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयलाई सम्पूर्ण फाईल पठाईएको छ ।’ उनले भने, ‘बजेट पनि अर्थमन्त्रालयबाट शहरी विकास तथा भवन कार्यालयमै पठाइएको छ ।’ उनका अनुसार रकम हस्तान्तरण गरेसँगै बजेटको कार्यान्वयन कार्यालयले गर्ने छ ।

नदी नियन्त्रणको लागि बातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने खाँचो छ । त्यसपछि मात्रै बाँकी कामको अघि बढ्ने छ । नदी नियन्त्रणको लागि सामाजिक विकास मन्त्रालयले आवश्यक परामर्श लिएको उनको भनाई थियो । ‘कति लागत लाग्छ, परामर्श लिएका छौ,ं’ उनले भने, ‘छुट्टाइएको बजेटबाट २५ लाख रुपैयाँ नदी नियन्त्रणको लागि राखेर बाँकी बजेट सिंचाई मार्फत माग्ने योजना छ ।’  

१ करोड ७५ लाख रुपैयाँको बजेटबाट आगामी वर्षमा क्रिकेट खेल्न मिल्ने मैदान तयार गर्ने लक्ष्य सामाजिक विकास मन्त्रालयको छ । कास्की जिल्ला क्रिकेट संघले पनि आगामी वर्ष पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिता प्रादेशिक क्रिकेट मैदानमा खेलाउने योजना बनाएको छ । मन्त्रालयले छुट्टाएको बजेटबाट मैदानको चारैतिर नाला निर्माण गरिने प्रारम्भिक योजनामा छ । त्यसपछि मैदानसम्म पुग्ने पहँुच मार्ग निर्माण गरिने छ । पहुँच मार्गपछि मैदानको लेभल मिलाउन माटो भरेर सम्याउने छ । तारजाली लगाउने र अन्तिममा ३ देखि ५ वटा पीच(विकेट) निर्माण गर्ने जनाइएको छ ।  

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले पनि आगामी वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी मैदान निर्माण गर्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेश सरकारले आफनो महत्वपूर्ण योजनाको रुपमा अघि सारेपनि बजेट कार्यान्वयनमा देखिएको फितलोपनले समस्या सृजना भएको जिकिर गरे ।  

गण्डकी प्रदेश सरकारकै बहुवर्षिय एवं बहुप्रतिष्ठित योजनाको रुपमा पोखरा–३३ पशुपतिघाटमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने योजना हो । योजना अनुसार जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार आईसकेको पनि दुई वर्ष पुगिसकेको छ । तर मैदान निर्माणस्थललाई सेतीनदीले किनारतर्फ तिब्र कटान गर्दै लगेको छ । यो वर्ष पोखरामा अत्याधिक वर्षा भएको थियो । वर्षायामले आएको बाढीले नदी किनार भत्काउँदै लगेको छ । क्रिकेट मैदान बनाउन १७४ रोपनी क्षेत्रफल रहेको छ ।

प्रकाशित: ८ चैत्र २०७७ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App