१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सातौं प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको तयारी पूरा

प्रतियोगिताको पुरस्कार राशी दुई लाखबाट बढाएर पाँच लाख पुर्‍याइयो

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक गर्ने क्रममा उपस्थित टिम कप्तान लगायत । तस्बिर : अर्जुन/नागरिक

‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिता शुक्रबारबाट नेपालगन्जमा सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र हुन लागेको उक्त प्रतियोगितामा तीन विभागियसहित कुल पाँच वटा टिम सहभागी हुँदैछन् । प्रतियोगितामा सहभागी हुन पाँचवटै टिमका खेलाडी बिहीबार नेपालगन्ज पुगिसकेको प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

विगतमा जस्तै यसपटक पनि विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र होगाजी न्यू डायमण्डले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने र स्थानीय टोली ‘लुम्बिनी युनाइटेड’ ले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । प्रतियोगिताको छैठौं संस्करणमा गतवर्ष नेपाल पुलिस क्लबले उपाधी जितेको थियो । प्रतियोगितामा खेलाडीको उत्साहलाई बढाउनका लागि यसपटक पुरस्कार राशीमा भारी रुपले बृद्धि गरिएको अध्यक्ष ठकुरीले प्रष्ट्याए ।  

उनका अनुसार यसपटक विजेतालाई नगद पाँच लाखसहित ट्रफी प्रदान गरिनेछ । यस्तै दोस्रो हुने टिमलाई नगद दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । गतवर्ष छैठौं संकरणमा प्रतियोगिताको विजेता टिमलाई नगद दुई लाख, दोस्रो हुनेलाई एक लाख र तेस्रो हुने टिमलाई ५० हजार प्रदान गरिएको थियो ।  

तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाका पालामा २०७० सालबाट सुरु भएको प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लबले हात पारेको थियो, भने दोस्रो र पाँचौंमा नेपाल एपिएफ तथा तेस्रो र चौथो संस्करणमा रेल्वे इण्डियाले उपाधी जितेको थियो । प्रतियोगिताको सातौं संस्करणमा आईपुग्दा सहभागी हुन लागेका पाँच वटै टिम उपाधी जित्ने दाउमा छन् ।  

पत्रकार सम्मेलनमा उपस्थित भएका टिम कप्तान सबैले सातौं संस्करणको उपाधी जित्ने उद्घोष गरे । कोरोना महामारी पश्चात भएको हालै पोखरामा सम्पन्न भएको टाइगर कपमा समेत उपाधी हात पारेको पुलिस क्लब यसपाली प्रधानमन्त्री कपको पनि उपाधी दोहोर्याउने दाउमा छ । पुलिस क्लबका कप्तान कोपिला उप्रेतीले प्रधानमन्त्री कपको छैटौं संस्करणमा प्राप्त गरेको जितलाई यसपटक पनि दोहोर्‍याउने उद्घोष गरिन् ।  

उनी भन्छिन्, ‘प्रधानमन्त्री कपको छैठौं संस्करण र पोखरामा प्राप्त गरेको जितलाई नेपालगन्जमा पुनः दोहोर्याउने आशाका साथ आएका छौं, प्रतियोगितामा जसरी पनि उपाधी जितेर जाने हाम्रो कोसिस हुनेछ ।’ एपिएफ क्लबकी कप्तान रेश्मा भण्डारीले कोरोना महामारीपछि भएको यस प्रतियोगिताको उपाधी जित्ने प्रयास आफ्नो टिमबाट हुने बताईन् । ‘हाम्रो टिमबाट उपाधी जित्ने अन्तिमसम्म प्रयास हुनेछ,’ उनले भनिन् ।  

त्रिभुवन आर्मी क्लबसँग नयाँ खेलाडी भएपनि निरन्तर अभ्यासमा रहेका कारण उपाधी जित्ने खेलाडीमा आत्मविश्वास जागेको छ । ‘म भर्खरै तालिमबाट फर्केकी छु, हामी निरन्तर प्रशिक्षणमा छौं, हाम्रो टिम नयाँ हो, बिगतमा हार ब्यहोरिरहेको अवस्थामा विगतका कमी कमजोरीलाई सुधार गरेर यसपाली उपाधी जित्न चाहन्छौं, त्यो आत्मविश्वास हामीलाई छ,’ त्रिभुवन आर्मी क्लबका कप्तान कृपा अधिकारी भनिन् ।  

विभागिय क्लबलाई प्रतियोगितामा सधैं टक्कर दिने टिम हो, होगाजी न्यू डायमण्ड । जसको नेतृत्व चर्चित खेलाडी ललिता नाथले गरिरहेकी छन् । उक्त क्लबबाट राष्ट्रिय टिमका प्रतिनिधित्व गर्ने तीन खेलाडी छन् । उक्त टिमले पनि प्रधानमन्त्री कपको सातौं संस्करणलाई निकै चासोका साथ हेरिरहेको छ ।  

क्लबकी कप्तान ललिता भन्छिन्, ‘पोखरामा केही समयअघि सम्पन्न भएको प्रतियोगितामा हाम्रो त्यति राम्रो प्रस्तुती हुन सकेन, आशा एवम् विश्वास छ, नेपालगन्जमा हामीले आफ्नो जित सुनिश्चित गर्नेछौं ।’ नेपालका चार चर्चित क्लबसँग खेल्न भर्खरै अगाडी बढ्दै गरेको स्थानीय क्लब हो, स्थानीय लुम्बिनी युनाइटेड । जसको नेतृत्व गर्दैछिन्, कप्तान शर्मिला नेपालीले । ‘हाम्रो टिम नयाँ हो, तर आफूभन्दा सिनियर दिदीहरुसँग खेल्न पाउनु नै हाम्रो लागि गर्वको कुरा हो,’ सर्मिलाले भनिन् । पत्रकार सम्मेलनमा ‘मिस नेपाल वल्ड–२०२०’ तथा प्रधानमन्त्री कपका सद्भावना दुत नम्रता श्रेष्ठ, लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानगरगालिकाका उप–प्रमुख उमा थापामगर लगायत जिल्लाका विभिन्न स्थानीय तहका उपप्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित: २० फाल्गुन २०७७ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App