१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अरुणालाई जिताउन मैत्रीपूर्ण भलिबल प्रतियोगिता

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाईस अवार्डमा मनोनित भएकी नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई जिताउन आज पोखरामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।  

मैत्रीपूर्ण भलिबल प्रतियोगिताबाट आर्थिक संकलन गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जनाए । उनले दुईदिन प्रतियोगिता आयोजना गरेर बचत रकम अरुणा शाही जिताउ अभियानलाई हस्तान्तरण गरिने बताए । लक्ष्य ५ लाख रुपैयाँ उठाउने रहेको पराजुलीको भनाई छ । दुई दिने प्रतियोगिताबाट दुईलाख रुपैयाँ बचत गर्ने विश्वास कास्की जिल्ला भलिबल संघले लिएको छ ।

कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको संयुक्त प्रयासमा पोखरा रंगशाला शुक्रबार र शनिबार मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा कास्की, स्याङजा, पर्वत, बाग्लुङ र नवलपुरले प्रतिस्पर्धा गर्ने छन् । शनिबार भने न्यु डायमन्डको टोलीसँग पोखराको टिमले प्रतिस्पर्धा गर्नेछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले यही पुस २८ गते एनएसजेएफ स्पोर्टस अवार्डको लागि केही समय अघि नै पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गर्दै भोटिङ शुरु गरिएको थियो । सर्वाधिक भोट पाउने खेलाडी पिपुल्स च्वाईस अवार्डबाट पुरस्कृत हुनेछन् ।

भोटिङकै आधारमा पिपुल्स च्वाईस गर्ने अभियानकै कारण पोखरामा अरुणा शाहीलाई जिताउन आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको थियो । विभिन्न संघसंस्थाले आर्थिक सहयोग संकलन गर्दै भोटिङ शुरु गरिएको छ । कप्तान शाहीलाई जिताउने अभियानमा साथ दिन नेपाल भुतपूर्व खेलाडी मञ्चले आर्थिक सहयोग गरेको छ । मञ्चका अध्यक्ष तेज गुरुङले अरुणालाई मञ्चका तर्फबाट नगद १० हजार प्रदान गरेका थिए ।

अरुणा कास्की जिल्ला खेलकुद विकास समितिले प्रदान गरेको उत्कृष्ट खेलाडीबाट पुरस्कृत भईसकेकी हुन् । उनी खेलकुद पत्रकार मञ्च कास्कीले समेत आयोजना गरेको स्पोर्टस अवार्डबाट उष्कृष्ट महिला खेलाडीबाट समेत सम्मानित भईसकेकी छन् ।

प्रकाशित: २४ पुस २०७७ ०७:५५ शुक्रबार

पल्सर स्पोर्टस अवार्ड