२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

दिपेशको उत्कृष्ट बलिङमा तनहुँमाथि कास्कीको जीत

म्यान अफ दि म्याच दिपेश खत्रीलाई पुरस्कार प्रदान गर्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ । तस्बिर नागरिक

अनुभवी दिपेश खत्रीको उत्कृष्ट बलिङ स्पेशलमा कास्कीले तनहुँमाथि ३१ रनको जीत निकालेको छ । १५५ रनको लक्ष्य पछ्याएको तनहुँलाई ३९ ओभरमा १२३ रनमै समट्दै कास्कीले दोस्रो जीत दर्ता गरेको हो । खत्रीको लोभलाग्दो बलिङ शैली पोखरा रंगशालामा देखिने क्रममा १० ओभरमा ५ मेडन राख्दै केवल ९ रन दिएर ४ विकेट लिएपछि तनहुँलाई जीतको लक्ष्य पुरा गर्न सामथ्र्य रहेन् । उनी ‘म्यान अफ दि म्याच’को हकदार बने ।  

समीर कँडेलले ८२ बल खेल्दै ४ चौकाको सहयोगमा ४१ रन हिर्काउँदै कास्कीका बलरलाई दबावमा राख्ने प्रयास गरे । उनको एकल प्रयास देखिएपनि अन्य व्याट्सम्यान भने सस्तैमा आउट भए । ओपनिङ आएका दिनेश अधिकारीलाई १८ रनमा खेलिरहँदा खत्रीले पहिलो विकेट लिएपछि तनहुँको विकेट पतन शुरु भएको थियो । लगातार चौथो ओभरसम्म बलिङ गर्ने क्रममा खत्रीले एक वाइड फाल्दै दुई विकेट लिईसकेका थिए । खत्रीले दोस्रो विकेटको रुपमा प्रवेश खड्कालाई बोल्ड आउट गरेपछि तनहुँलाई सम्हाल्ने जिम्मेवारी समीर कँडेलको काँधमा आएको थियो । खड्का केवल १० रनमा आउट भएका थिए । स्पीनर सुवास भण्डारीले पनि उत्कृष्ट बलिङ स्पेल देखाउने क्रममा १० ओभरमा २ मेडन राख्दै ३३ रन खर्चिएर ३ विकेट लिएका थिए ।  

टस जितेर व्याटिङ गरेको कास्कीले अर्जुन कुमाल र अभिषेक थापाले दोस्रो विकेटको लागि ६४ रनको साझेदारी गर्दै १५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मंगलबार पोखरा रंगशालामा गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा कास्कीका व्याट्सम्यानलाई सेट हुन नपाउँदै तनहुँका बलरले एकपछि अर्को गरी पभेलियनको बाटो देखाएपछि कास्कीले मध्यमलक्ष्यको स्कोर तयार पारेको थियो । खासगरी कास्कीका मध्यम र बटम अर्डरका खेलाडी सस्तैमा आउट भएका थिए । ओपनर आएका अर्जुन कुमाले विकेट जोगाउँदै टिकिरहँदा अर्का ओपनर दिपेश खत्री भने दोहोरो अंकको रन विनालै क्रिजबाट प्लेयरबक्समा फर्किए ।  

कास्कीले ९ रन बनाई खेलिरहँदा खत्रीको विकेट गुम्यो । कुमालले दोस्रो विकेटको लागि अभिषेक थापासँग महत्वपूर्ण साझेदारी निभाए । ६४ रनको साझेदारी निभाउने क्रममा कुमालले ९७ बल खेल्दै ४३ रन बनाए । तीन चौका हिर्काए । थापाले पनि ३५ रन बनाई खेल्ने क्रममा ४६ बल खैल्दै ४ चौका र १ छक्का हिर्काउन सफल भए । उनीहरुको विकेट पतनपछि कास्की कमजोर बन्दै गएको थियो । ७३÷२ को अवस्थाबाट खेल्न थालेको कास्कीले ९ रन जोड्दा अर्को विकेट गुमाउन पुग्यो ।  

९९ रन बनाउँदा कास्कीले चौथो विकेट गुमाईसकेको थियो । थप दुई रन जोड्ने क्रममा कास्कीले पाँचौ विकेट गुमाएपछि धरासायी अबस्थामा पुग्यो । सातौ विकेटको लागि अमृत गुरुङ र सुवास भण्डारीले ३२ रनको साझेदारी गर्दै इनिङलाई उकास्ने प्रयास गरे । अमृत गुरुङ तनहँुका कप्तान राजु गुरुङको बलमा बोल्ड हुदैं पभेलियन फर्किएपछि क्रिजमा आएका कृष्ण पौडेल पनि दोहोरो अंकको रन विना नै क्रिज छाड्दै प्लेयरबक्समा पुगे । अमृतले २० रन बनाउने क्रममा तीन चौका हाने । ४७.५ ओभर खेलेको कास्कीका लागि भण्डारी भने अविजिति रहँदै १८ रनमा रहे । दिनेशजंग बुढामगरले ८–१–१५–३ को प्रदर्शन गरे । राजु गुरुङले पनि ९ ओभरमा १ मेडनसहित १३ रन दिएर २ विकेट लिएका थिए । 

प्रकाशित: ७ पुस २०७७ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App