२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सदस्य सचिवसँग संघहरुको प्रश्न : सागको पैसा कहिले आउँछ ?

पोखरा रंगशालामा संघहरुद्वारा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै राखेप सदस्य सचिव सिलवाल। तस्बिर : नागरिक

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) सकिएको एक वर्ष वित्यो। एक वर्षको अवधिमा समेत बनाइएको पूर्वाधारको रकम अझै निकासा भएको छैन्। रकम निकासा नहुँदा संघहरु ऋणमा छन्।  

वर्षदिनसम्म रकम निकासा नहुँदा मर्कामा रहेका संघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसँग गुनासाका पोकाहरु एकपछि अर्को गरी फुकाए। अधिकांश गुनासो भने रकम निकासा नहुँदा भोग्नुपरेको पीडाबारे वर्णन सुनाए। २०७६ मंसिर १५ गतेख २४ गतेसम्म पोखरा रंगशालामा आयोजित सागमा ८ वटा खेलहरु खेलाइएको थियो। आर्चरी, ह्याण्डबल, विच भलिबल, क्रिकेट, फुटबल, व्याडमिन्टन, ट्रायथोलन र भारोत्तोलन आयोजना गरिएको थियो।  

‘साग आयोजना गरिदाँ पूर्वाधार निर्माण र प्रतियोगिताकै रकम निकासा भएको छैन्’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जकान्त सिग्देलले भने–‘वर्षदिनसम्म रकम नआउँदा अन्य काम गर्न कठिनाई भएको छ।’ सागकै लागि क्रिकेट मैदान भित्र ट्रेनिङ सेन्टर, मोबाईल शौचालय तथा साईटस्क्रिन लगायत अन्य पूर्वाधार बनाइएको थियो। तिनीहरुको रकम राखेपबाट निकासा नहुदाँ रुनु न हाँस्नुको अवस्थामा पुगिएको गुनासो अध्यक्ष सिग्देलको थियो। उनका अनुसार २८ लाख रुपैयाँ भन्दा बढी रकम आउनुपर्ने छ। ‘क्रिकेटको सागको एकपैसा पनि आएको छैन्।’ उनको भनाई थियो। क्रिकेट प्रतियोगिता आयोजना खर्च समेत आएको छैन्।  

त्यतिमात्रै नभई गतआर्थिक वर्ष परिषदले निर्णय नगरिदाँ छुट्टाईएको तीन करोड रुपैयाँ समेत फिर्ता हुन पुग्यो। क्रिकेट मैदानको स्तरोन्नति गर्ने उद्देश्यसहित दुई वर्ष अघि बनाइएको डिपिआर अनुसार पूर्वाधार तयार गर्ने योजनासहत टेण्डर समेत आह्वान गरिएको थियो। तीन पटक म्याद थप्दै टेण्डरको फाईनल प्रक्रियामा लैजाने समेत अनिर्णित हुदैं रद्द हुन पुग्यो। ‘अन्तराष्ट्रिय क्रिकेट मैदानको रुपमा परिचित गराउने ध्येयसहित छुट्टाइएको बजेट अनुसार काम गर्ने योजना थियो ’ उनले भने–‘तर त्यो तुहिन पुग्यो।’ पभेलियनसहित चेन्जिङ रुम, मैदानमा तारजाली लगाउने, नाली(ड्रेनेज) निर्माण गर्ने लगायतका कामहरु गर्ने योजना बनाइएको थियो।  

समुद्रको किनारका खेलिने विच भलिबलका लागि फेवा किनारमा सागकै कोर्ट तयार गरिएको थियो। तयार गरिएपनि पुरा पैसा नआउँदा समस्यामा घेरिनुपरेको पीडा कास्की जिल्ला भलिबल संघको थियो। ‘७ लाख रुपैयाँ पाउन बाँकी छ। ५० लाख रुपैयाँ आएको थियो। खर्च ५७ लाख रुपैयाँ हुन पुग्यो।’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने–‘कोर्टसँगै दर्शकको लागि प्याराफिट समेत निर्माण गरिएको थियो।’ आर्चरी संघले पनि परिषदका सदस्य सचिव स्वागत गर्ने क्रममा आफना गुनासो फुकायो। संघका अध्यक्ष योगेन्द्र शेरचनले सागकै बेलामा आन्तरिक रुपमा खर्च गरिएको साढे ३ लाख रुपैयाँ जति आउनुपर्ने बताए। ‘हिजो सागको बेलामा मन्त्री, सदस्य सचिवले तपाईहरु काम गर्नोस, पैसाको चिन्ता नगर्नोस भन्ने अभिव्यक्ति दिए’ उनले भने–‘धमाधम काम गरियो। आउने बेलामा पैसा थोरै थोरै आउँछ। तिर्नुपर्ने ठाँउमा तिर्न पाइएको छैन्।’ उनका अनुसार साढे तीनलाख रुपैयाँ संघकै अध्यक्षले तिर्ने र आएपछि पाउने गरी माईन्युट गरिएको छ। काम गरेपछि पैसा नपाउँदा कामदार घरमै आउन थालेपछि आफनो इज्जतले पनि दिनुपर्ने बाध्यता आएको उनले सुनाए। शीर्षक अनुसार पैसा आएपनि खर्च बढी भएको उनको भनाई थियो।  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि परिषदसँग तिर्नुपर्ने फेहरिस्ते तयार गरी पत्रचार गरिसकेको छ। पत्रचार गरेपनि परिषदबाट रकम निकासा नहुदाँ गुनासो दैनिकजसो सुन्नु परेको बताउँदै आएको छ। ‘सागकै मात्रै २ करोड रुपैया तिरनतारन गर्नुपर्ने छ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डम्बरबहादुर (डि.बी) नेपालीले भने–‘परिषदलाई एकमुष्ठ हिसाब गरी भुक्तानीको लागि पत्राचार गरिसकिएको छ। तर निकासा भएको छैन्।’ रकम निकासा नहुदाँ कार्यालयमै संघका पदाधिकारी दैनिकजसो पैसा आयो कि आएन भनेर मात्रै गुनासो सुनाउँछन्।  

आर्चरी र भारोत्तोलनको भने शीर्षक अनुसार सबै पैसा आईसकेको उनले बताए। उनका अनुसार व्याडमिन्टन कभर्ड हलको ८४ लाख रुपैयाँ आउनुपर्ने छ। सागकै लागि हतारिएर कभर्ड हल तयार गरिएको थियो। तयारी गरिए अनुसार परिषदबाट फटाफट रकम निकासा हुने अपेक्षा गरिएको थियो। परिषद सदस्य सचिव रमेशकुमार सिलवालले पनि संघहरुको गुनासोलाई बढीमा डेढहप्ता भित्रमा निकासा गर्ने प्रतिबद्धता जनाए।  

 

 

प्रकाशित: २५ कार्तिक २०७७ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App