कोरोनाका कारण इभेन्ट्सलाई घटाउँदै छैटौं नेपालगन्ज म्याराथन आयोजना गर्ने तयारी भएको छ । पश्चिम नेपालको प्रमुख म्याराथनको रूपमा रहेको नेपालगन्ज म्याराथन आगामी मंसिर ६ गते आयोजना गर्ने आयोजक क्रिएटिभ ह्यान्ड्सले बताएको छ ।
क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको म्याराथनलाई धारा तोरीको तेलले मुख्य प्रायोजन गरेको छ ।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीका बीचमा मंसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना हँुदै आएको छ । नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति पाइसकेको आयोजकले बतायो । त्यस्तै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रूपमा समेत लिएको छ । नेपाल एथलेटिक्स संघले विगतमा जस्तै नेपालगन्ज म्याराथनमा साथ दिएको छ ।
म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकले सह प्रायोजकको रूपमा सहयोग गर्नेछन् । खेल पोसाक उत्पादन कम्पनी साहस स्पोटर््ससँग पनि म्याराथनका लागि सहकार्य भएको छ । राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज
उप–महानगरपालिकाले म्याराथनलाई सहयोग गर्नेछन् । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको सहर हो । सामाजिक एकताको प्रतीक खेलकुदमार्फत सहरलाई चिनाउने उद्देश्यले विगत ५ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका आयोजक कमिटीका अध्यक्ष एवम म्याराथनका लिडर टिएस ठकुरीले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रकाशित: २५ कार्तिक २०७७ ०३:५९ मंगलबार