५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सन् २०२१ को आइपिएलअगाडि इङ्ल्यान्डलाई निम्ता

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीले २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) अगाडि इङ्ल्यान्डलाई आतिथ्य गर्दै भारतमा टेस्ट खेल गर्ने प्रतिबद्धता जनाएका छन्।  

पाकिस्तानसँग टेस्ट खेलिरहेको इङ्ल्यान्डको सेप्टेम्बर–अक्टोबरमा भारत भ्रमण गर्ने तालिका रहेको थियो। विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही प्रतियोगिताहरूलाई असर पार्दा भारतमा हुने शृंखलालाई पनि असर पारेको हो। हाल भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता आइपिएल संयुक्त अरब इमिरेट्स (युएई) मा गर्न भारतीय सरकारबाट अनुमति पाएको छ। त्यसै कारण इङ्ल्यान्डसँगको टेस्ट तालिकामा असर परेको हो।  

बिसिसिआईका अनुसार भविष्यको तालिकाअन्तर्गत भारतले आगामी डिसेम्बरमा अस्ट्रेलिया भ्रमण गर्नेछ भने २०२१ मा इङ्लिस टोलीलाई निमन्त्रणा दिँदै टेस्ट शृंखला आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ। यही विषयलाई उल्लेख गरेर बिसिसिआईका अध्यक्ष गांगुलीले इङ्लिस क्रिकेट एसोसिएसनलाई इमेल पठाएका छन्।  

‘भारतीय क्रिकेट बोर्डले इमेलमा गरेको प्रतिबद्धतालाई पूरा गर्नेछ,’ अध्यक्ष गांगुलीले पठाएको इमेलमा भनिएको छ, ‘सिनियर क्रिकेट टिम डिसेम्बरमा अस्ट्रेलिया भ्रमण गर्नेछ र अर्को वर्षको फेबु्रअरीमा इङ्ल्यान्डलाई आमन्त्रण गर्छाैं।’

जारी गरिएको तालिका महामारीपछिको अवस्थालाई नियाल्दै तय गरिएको पनि गांगुलीले पठाएको इमेलमा प्रस्ट्याएका छन्। धेरै पटकको स्थगनपछि १३ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आगामी सेप्टेम्बर १९ बाट युएईमा सञ्चालन हुँदै छ। नोभेम्बर १० मा आइपिएलको फाइनल हुनेछ। यस्तै गांगुलीले २०२१ को ट्वान्टी–२० विश्वकप आयोजना गर्न तयार भएको पनि संकेत दिएका छन्। तर ट्वान्टी–२० विश्वकप २०२२ मा अस्ट्रेलियामा आयोजना हुने तालिका  छ। 

प्रकाशित: ८ भाद्र २०७७ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App