२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबल खेलाडीको स्वाब सङ्कलन

२०२२ को कतार विश्वकप छनोट र एसियन कप छनोटका लागि बोलाइएका ३४ खेलाडीमध्ये सोमबार ११ खेलाडीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको  छ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगनखेलस्थित पाटन अस्पतालमा पहिलो दिन ११ खेलाडीको स्वाब सङ्कलन गरेको हो। स्वाब सङ्कलन गरिनेमा ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी कुल २५ जना छन्। खेलाडीबाहेकस्वाब दिनेमा फिजियो आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठ छन्।  

खेलाडीमा सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पूजन उपरकोटीले स्वाब दिएका छन्। यस्तै बाँकी खेलाडी र अफिसियलको स्वाब संकलन मंगलबार गरिने राष्टिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए।

‘पहिलो दिन ११ खेलाडीको पिसिआर परीक्षण गर्न दिएका छौं। उपत्यकाभन्दा बाहिर गएर उपत्यका फर्किएका खेलाडीलाई पहिलो प्राथमिकता दिएका हौं,’ टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले भने, ‘भोलि (मंगलबार) काठमाडौं उपत्यकाभित्र रहेर होम क्वारिन्टिनमा बसेका खेलाडीको परीक्षण गर्ने तालिका छ। रिपोर्ट आएपछि होस्टेलमा राख्ने तयारी गरेका छौं।’  

चैत ११ गतेबाट सरकारले गरेको लकडाउन खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ। एन्फाले बन्द प्रशिक्षणमा राख्दा विभिन्न समूह बनाई अभ्यास गराउने योजना बनाएको छ।  

फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीन होम खेल दशरथ रंगशालामा खेल्दै छ। तीन खेलमध्ये नेपालले असोज २२ गते चाइनिज ताइपेईसँग र त्यसको ५ दिनपछि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ। समूह ‘बी’ मा रहेको नेपालले छनोटको अन्तिम खेलमा कात्तिक २७ गते जोर्डनलाई आतिथ्य प्रदान गर्दै छ। समूह ‘बी’ मा रहेको नेपाल चार खेलबाट एक खेलमा जित निकाल्न सफल भएको छ भने अन्य खेलमा नतिजा सुम्पिएको छ। नेपाल ३ अंकका साथ चौथो स्थानमा छ। नेपालको समूहमा रहेको एसियाली पावर हाउस अस्ट्रेलिया ४ खेलबाट स्पष्ट जितका साथ १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। अंकविहीन चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईमाथि उसैको मैदानमा २–० को जित निकाल्न सफल भएको थियो। तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई ५–० र चौथो खेलमा जोर्डनलाई ३–० ले  को नतिजा सुम्पिएको थियो।

प्रकाशित: २७ श्रावण २०७७ ०१:४९ मंगलबार

फुटबल खेलाडी स्वाब सङ्कलन