२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

गण्डकी प्रदेश ‘खेलकुद नियमावली’ कानून मन्त्रालय पेश

शैक्षिक योग्यताको विषयमा फरक फरक मत : मन्त्री पुन

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय ।

राष्ट्रिय खेलकुद परिषदले सदस्य सचिव पाईसकेको छ । नेपाली खेलकुदकै इतिहासमा पहिलो पटक आवेदन मार्फत खुल्ला रुपमा छनोट गरिएको हो । परिषदले सदस्य सचिव पाईसकेपनि गण्डकी प्रदेशले भने खेलकुद नियमावली बनाउने चरणमै छ । विभिन्न खेलकुदका व्यक्ति विशेषसँग बैठक बसेर राय सुझाव लिइएको छ ।

गण्डकी खेलकुद परिषदको सदस्य १९ सदस्यीय बनाउने प्रारम्भिक निर्णय छ । परिषदको आवश्यक ड्राफ्ट समेत तयार भईसकेको छ । ड्राफ्ट कानून मन्त्रालयमा पुगेको छ । मन्त्रालयबाट मसिनो गरेर अध्ययन गरिने छ । सबैको राय सुझाव लिईने मन्त्रालयले जनाएको छ । सुझावसहितको ड्राफ्टलाई कानून मन्त्रालयमा पेश गरिएको छ । कानून मन्त्रालयमै छलफलकै चरणमा छ । त्यसपछि मन्त्रपरिषदमा पठाइने गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन् । ‘खेलकुद नियमावलीको ड्राफ्ट तयार भएको छ । कानून मन्त्रालयमा छलफलमै छ । त्यसपछि मात्रै मन्त्री परिषदमा लगेर टुग्याउँछौं ।’ मन्त्री पुनको भनाई थियो ।

* उमेरको हदबन्दी समेत तोक्नुपर्ने राय  

* राखिएको छैन खेल क्षेत्रको अनुभव  

* जिल्ला अध्यक्षहरुलाई पदेन/आमन्त्रित सदस्य बनाउने भन्ने बारे छलफल  

नयाँ खेलकुद नियमावली २०७७ ले सदस्य सचिवको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने तोेकेको छ । गण्डकी प्रदेशको गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवको योग्यता पनि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने प्रावधान राखिएको छ । ‘सदस्य सचिवले गण्डकी प्रदेशकै खेलकुदको योजना बनाउने, कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधि गर्नुपर्छ’, मन्त्री पुनले भनिन्, ‘त्यसको लागि पनि योग्यता भएकै व्यक्ति चाहिन्छ । त्यसको लागि शैक्षिक योग्यता राखेका छौं ।’ उनका अनुसार सबै तह र तप्कासँगको छलफलमा शैक्षिक योग्यताको विषयमा फरक फरक धारणा आएको छ । उनले शैक्षिक योग्यतालाई छलफलकै विषयमा राखिएको उल्लेख गरिन् ।

३० वर्ष नाघेको हुनुपर्ने प्रावधान छ । अर्को तर्फ उमेरको हदबन्दी समेत तोकिनुपर्ने सुझाव समेत आएको मन्त्री पुनको भनाई थियो । ‘उमेरको हदबन्दी समेत तोकिनुपर्ने सुझाव आएको छ,’ उनले थपिन्, ‘त्यो विषयमा पनि छलफलमै छौं ।’ प्रदेश खेलकुद परिषदको सदस्य सचिवको लागि भने खेलकुदको अनुभव भने उल्लेख गरिएको छैन । १९ सदस्य समिति बनाउने तयारी गरिरहदा गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षहरुलाई आमन्त्रित वा पदेन सदस्य बनाउने भन्ने निर्णय छलफलबाटै टुंग्याउने सामाजिक मन्त्रालयले जनाएको छ ।

प्रदेश खेलकुद परिषद सदस्य सचिव नियुक्तको लागि तीन सदस्य छनोट समिति गठन गरिने छ । छनोट समितिले नै ३ जनाको नाम सिफारिस गर्ने छ । सिफारिसको आधारमा मन्त्रीपरिषदले सदस्य सचिवको टुंगो लगाउने छ । सामाजिक विकास मन्त्री तथा राज्यमन्त्री अध्यक्ष रहने व्यवस्थाछ । प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष बन्ने छ । मन्त्रालयको सचिव, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीबाट दुईजना(एकजना महिला अनिवार्य), प्रादेशस्तरीय नेपाली सेना, नेपाल प्रहरी  तथा शसस्त्र प्रहरी बलबाट एक–एक जना प्रतिनिधिको रुपमा प्रदेश खेलकुद परिषदको सदस्यमा रहने व्यवस्था छ । त्यसैगरी गण्डकी विश्वविद्यालय, खेलकुद विभाग प्रमुख, अपांग महासंघ, उद्योग वाणिज्य संघ तथा स्थानीय तहबाट नियुक्त भएका खेलकुद प्रमुख सदस्य रहने गरी ड्राफ्ट तयार गरिएको मन्त्री पुनले जानकारी दिइन् ।

तयार पारिएको ड्राफ्टलाई यसै साउन महिनाभित्र फाईनल गरेर विधेयक प्रमाणिकरण गर्ने योजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘साउन भित्र विधेयक आउन सक्छ’, मन्त्री पुनले भनिन्, ‘सबै प्रक्रिया पुर्‍याएर समिति बनाउन अझै एकडेढ महिनाको समय लाग्न सक्छ ।’ मन्त्री पुनको भनाई अनुसार भए भदौमा नभए असोजसम्म खेलकुदमा नयाँ समिति बनिसक्ने छ ।

प्रकाशित: १३ श्रावण २०७७ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App