२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

भदौ पहिलो साता क्रिकेट संघको वार्षिक साधारण सभा

झण्डै साढे दुई वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा हुँदैछ । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी भदौ १५ भित्रमा आफ्नो वार्षिक साधारण सभा गर्ने निर्णयसँगै कास्की जिल्ला क्रिकेट संघले पनि वार्षिक सभा गर्ने निर्णयमा पुगेको हो । संघको बैंठकले आगामी भदौ ६ गते साधारण सभा गर्ने मिति तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी गराए ।

कोरोना भाइरस (कोभिड–१९) ले जारी लकडाउन अन्त्य भएपनि सरकारले खेलकुदजन्य गतिविधि तत्काल नगर्न निर्देशन गरेको छ । भदौ १ गतेपछि केही सहजको अपेक्षा गर्दै कास्की जिल्ला क्रिकेट संघले पनि साढे दुई वर्षपछि साधारण सभा गर्ने निर्णय गरेसँगै क्रिकेटको नयाँ खाका समेत कोर्ने योजना बनाउने छ ।

साढे दुई वर्षको अवधिमा कास्की जिल्ला क्रिकेट संघले सबैभन्दा महत्वपूर्ण साग महिला क्रिकेट, राष्ट्रिय खेलाडीको बन्द प्रशिक्षण, मलेसियासँग मैत्रीपूर्ण प्रतिस्पर्धा (जिल्ला तथा राष्ट्रिय टिमसँग), बेलायतको एमसिसी क्लबसँग मैत्रीपूर्ण प्रतिस्पर्धा, क्लबस्तरीय, विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता लगायतका गतिविधि सञ्चालन गरेको थियो । त्यही बीचमा मैदान सम्याउने संघले आफैले खर्च जुटाएको थियो ।

संघले भदौ १ गतेदेखि ‘सेन्ट्रल क्रिकेट एकेडेमी’ सुरु गर्ने जनाएको छ । आफनो योजना अनुसार लकडाउन अघि नै एकेडेमी सञ्चालन गर्ने योजना बनाएपनि सम्भव भएको थिएन । अध्यक्ष सिग्देलका अनुसार एकेडेमीको लागि पूर्व राष्ट्रिय खेलाडीहरुलाई समेटेर जिम्मेवारी दिँदै एकेडेमी सञ्चालनको योजना छ । एकेडेमीको लागि खेलाडीहरुको सम्पूर्ण विवरणसहित फाराम भराउने काम हुँदैछ ।  

संघले संघमा आवद्ध भएका क्लबहरुलाई खेलाडीको अद्यावधिक गर्न निर्देशन समेत दिएको छ । निर्देशनसँगै क्लबलाई संघले प्रतिक्लब १० हजार रुपैयाँ अनुदान दिने योजना समेत सारेको छ । ‘क्लबलाई १० हजार रुपैयाँ दिएर सक्रिय बनाउँदै छौं,’ अध्यक्ष सिग्देलले भने–‘जुन पैसा क्लबस्तरीय  क्रिकेट प्रतियोगिताको लागि टिम तयारी स्वरुप हुने छ ।’ उनका अनुसार क्यानले सातै प्रदेशमा क्रिकेट प्रशिक्षकको व्यवस्था गर्ने निर्णयसँगै कास्कीको क्रिकेटले पनि फड्को मार्ने विश्वास छ । पीच क्युरेटरको समेत क्यानले नियुक्ति गरेपछि पोखरा रंगशालाभित्रको क्रिकेट मैदान संरक्षण र सम्बद्र्धन हुने अपेक्षा छ ।

प्रकाशित: १० श्रावण २०७७ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App