१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

रियाल फेरि अगाडि

मालोर्काविरुद्ध गोल गरेपछि रियाल मड्रिडका खेलाडी। तस्बिर: एपी

मालोर्काविरुद्ध सर्जियो रामोसले फ्रिकिकबाट गोल गर्दा रियाल मड्रिडले बुधबार स्पेनिस ला लिगामा रियाल मालोर्काविरुद्ध २–० को जित निकाली बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ।  

पहिलो हाफमा १९ वर्षे भिनिसियस जुनियरले गोल गर्दै रियाललाई मालोर्काविरुद्ध अग्रता निकालेका थिए। लुका मोडरिचको पासमा भिनिसियसले १९औं मिनेटमा गोल गरेका थिए । ५६औं मिनेटमा रामोसले फ्रिकिकबाट अग्रता दोब्बर बनाउँदै जित निश्चित गरेपछि रियालले बार्सिलोनासँगको अंक बराबरी बनायो। गोल अन्तरमा अगाडि रहँदै रियाल पुनः शीर्ष स्थानमा फर्कियो।  

‘अझै सात फाइनल खेल बाँकी नै छन्,’ रियालका रामोसले भने, ‘कोरोना भाइरसले ग्रसित हुने वर्ष हामी उपाधि र समर्थकको साथ लिन चाहन्छौं।’

कोरोनाको कहरपछि सुचारु भएको लिगमा ग्यारेथ बेल बुधबार ला लिगामा फर्किएका छन्। गत फेब्रुअरीदेखि बेन्चमा रहेका बेललाई रियालका प्रशिक्षक जिनेदिन जिदानले सुचारु लिगमा पहिलो पटक मैदान फर्काएका हुन्। जिदानको पहिलो रोजाइमा परेका भिनिसियसले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेका थिए। सुरुआती गोल गरेका भिनिसियसको पहिलो प्रयास बारमा लागेको थियो।

५६औं मिनेटमा सर्जियो  रामोसले फ्रिकिकबाट अग्रता दोब्बर बनाउँदै जित निश्चित गरेपछि रियालले बार्सिलोनासँगको अंक बराबरी बनायो। गोल अन्तरमा अगाडि रहँदै रियाल पुनः शीर्ष स्थानमा फर्कियो।  

दोस्रो हाफमा फ्रिकिकबाट गोल गरेका रामोसको त्यो प्रहार परीक्षाको रूपमा हेरिएको थियो। ला लिगामा सबैभन्दा धेरै गोल गर्ने रक्षकको रूपमा चिनिएका रामोसको त्यो फ्रिकिक उनका उत्कृष्ट आठ गोलभित्र पनि अटाएको छ। रामोस यसअघि रियाल सोसिडाडविरुद्ध पेनाल्टी गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने ला लिगाका डिफेन्डर बनेका थिए।  

अग्रता लिइसकेको अवस्थामा भरपर्दा इडेन हाजार्डलाई रियालले सम्भावित चोटबाट बचाउनका ६२औं मिनेटमा निकालेको थियो। उनलाई टोनी क्रुजले प्रतिस्थापन गरेका थिए। बेल्जियमका स्ट्राइकर हाजार्ड पछिल्लो समय कुर्कुच्चाको चोटबाट गस्त थिए।  

बुधबार रियालविरुद्ध मालोर्काले प्रतिस्पर्धा गर्दा लुका रोमेरो ला लिगा खेल्ने सबैभन्दा कान्छा खेलाडी भएका छन्। उनी १५ वर्ष २ सय १९ दिनको उमेरमा रियालविरुद्ध मैदान  प्रवेश गरेका हुन्। मालोर्का तालिकाको पुछारबाट तेस्रो रेलिगेसन क्षेत्रमा रहेको छ।

ला लिगाअन्तर्गत बुधबारै सम्पन्न अन्य खेलमा डिपोर्टिभो अल्भेसले ओसासुनालाई र रियाल सोसिडाडले सेल्टा भिगोलाई १–० को नतिजा सुम्पिएका छन्। भ्रमणकारी टोली ओसासुना ११औं स्थानमा उक्लिँदा सेल्टा भिगोले रेलिगेसन क्षेत्रबाट भन्दा एक स्थान माथि रहेको एइबरसँग दूरी बढाएको छ। सेल्टा भिगोको ३३ अंक छ भने एक स्थान मुनि रहेको एइबरको २९ अंक छ। एइबरले एक खेल कम खेलेको छ। 

प्रकाशित: १२ असार २०७७ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App