२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

बक्सिङ टोली स्वदेश फिर्ता

काठमाडौं – जोर्डनको ओमानमा सम्पन्न एसिया/ओसियाना टोकियो ओलम्पिक २०२० बक्सिङ छनोटमा प्रतिस्पर्धा गरेको नेपाली बक्सिङ टोली सोमबार राति स्वदेश फर्किएको छ।

मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मीनु गुरुङले प्रतिस्पर्धा गरेका थिए। दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता हुन्। सनिलले छनोट चरणमा एक बाउट जिते। उनले किर्गिस्तानका मुक्केबाज केजिरबेक उलु अर्जेनलाई पराजित गरेका थिए। दोस्रो खेलमा एसियाका नम्बर एक बक्सर ताजाकिस्तानका बाखोदुर उस्मानोभविरुद्ध हार बेहारेपछि सनिलको ओलम्पिक छनोट यात्रा समाप्त भएको थियो।

नेपाली बक्सिङको इतिहासमा कुनै पनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ संघले जनाएको छ। मीनुलाई भने कोरियाली खेलाडी इम अइजीले पहिलो चरणमै हराइन्। प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापामगर र अलिसेर राखिमोभ रहेका छन्। टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०२:२३ बुधबार

बक्सिङ काठमाडौं