१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मनाङ सेमिफाइनलमा

मनाङ र बेलबारीका खेलाडीहरू मैदानमा भिड्दै। तस्बिर: रोहित राई

धरान - मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२औं बुढा सुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। धरान–१६ स्थित रंगशालामा सोमबार बेलबारी फुटबल क्लब मोरङमाथि ४–० को सहज जित निकाल्दै मनाङ सेमिफाइनल प्रवेश गरेको हो। मनाङले बुधबार पहिलो सेमिफाइनलमा भारतको युनाइटेड कर्साङ एफसीको सामना गर्नेछ। कर्साङले उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो।

मनाङ बुढा सुब्बा गोल्डकपको तीन पटकको विजेता हो। मनाङले यसअघि छैटौं, १३औं र १८औं संस्करण जितेको छ। मोफसलको बेलबारी क्लब भने गत असार ३१ गते धरानमा सम्पन्न मुख्यमन्त्री कप प्रदेश लिगको उपविजेता हो। खेल अवधिभर मनाङ बेलबारीमाथि हाबी भएको थियो। २३औं मिनेटमा निसान लिम्बुले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। उनले अन्जन विष्टको पासमा गोल गरे।

४३औं मिनेटमा विमल रानाले हेडमार्पmत गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए। कमल श्रेष्ठको कर्नर प्रहारमा अन्जन विष्टको हेडर बललाई विमलले पनि हेडमार्फत नै जाली चुमाए। बाँकी दुवै गोल दोस्रो हाफमा दयानन्द सिंहले गरे। उनले ५१औं  र ६७औं मिनेटमा गोल गर्दै मनाङलाई ४–० को जित दिलाउन मद्दत गरे। पेनाल्टी एरियाबाट बेलबारीका खेलाडीले क्लियर गर्न नसकेको बललाई दयानन्दले गोलमा परिणत गरे।

बेलबारीका गोलकिपरबाट रिबाउन्ड भएको बललाई जाली चुमाउँदै दयानन्दले चौथो गोल थिए। अन्जन विष्टको फ्रिकिक प्रहार बेलबारीका गोलकिपर अजित प्रजापतिले रोकेर फर्किएको मौकामा दयानन्दले गोल गरेका थिए। मनाङले आधा दर्जन गोल गर्ने अवसर गुमाउँदा बेलबारीले भने उल्लेखनीय आक्रमण गर्न सकेन। मनाङका महासचिव अनिल गुरुङले लिगपश्चात् खेलाडीले आराम पाएपछि लयमा फर्किंदै राम्रो प्रर्दशन गरेको बताए। बेलबारीका व्यवस्थापक सुनील पोखरेलले अनुभवी टोलीको अघि आफ्ना खेलाडीको अनुभवको कमी देखिएको बताए।

म्यान अफ दी म्याच घोषित मनाङका दयानन्द सिंहले १५ हजार पाए। मनाङकै निसान लिम्बुको गोल उत्कृष्ट साबित भयो। उनले नगद ५ हजार पाए। मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र भारत कोलकाताको सनडे क्लब एफबिसीबीच हुनेछ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App