१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

भारतीय खेलाडीमाथि कोहलीको प्रश्न

माउन्ट माउनगनुई – भारतका कप्तान विराट कोहलीले मंगलबार आफ्नो टोलीको आलोचना गर्दै दबाबको सामना गर्न सक्ने क्षमता गुमाएपछि न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा क्लिन स्विपले स्तब्ध हुनुपरेको बताएका छन्।

माउन्ट माउनगनुईमा मंगलबार सम्पन्न तेस्रो एकदिवसीय क्रिकेटमा भारत  पाँच विकेटले स्तब्ध भएपछि न्युजिल्यान्डले शृंखला क्लिन स्विप गरेको थियो। दुर्लभ रूपमा क्लिन स्विपमा पर्ने भारतले न्युजिल्यान्डको भूमिमा लज्जापूर्ण असफलता प्राप्त गरेसँगै कोहलीले आफ्ना खेलाडीको क्षमतामाथि प्रश्न उठाएका हुन्। लोकेश राहुलको शतकप्रेरणाका बावजुद भारतले सात विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो।

यद्यपि, त्यो लक्ष्य न्युजिल्यान्डले १७ बलअगावै पूरा गर्दै शृंखला ३–० ले आफ्नो बनायो। यससँगै न्युजिल्यान्डले यसअघि ट्वान्टी–२० शृंखलामा भारतसँग बेहोरेको ५–० को हारको बदलासमेत लियो। निकै निरास देखिएका कोहलीले हरेक समय खराब फिल्डिङ गरेपछि यो नतिजा स्वभाविक रहेको समेत बताए। ‘हामी कुनै पनि तवरबाट शृंखलामा जितका लायक थिएनौं,’ कोहलीले भने, ‘हामीले खराब खेलेका थिएनौं। तर पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं भने निराशाभन्दा अर्को नतिजा पक्कै पाउनेछैनौं। साथै हामीले दबाबमा पनि खेल्ने क्षमता पनि गुमायौं।

सन् १९८९ पछि भारत पहिलो पटक एकदिवसीय क्रिकेट शृंखलामा क्लिन स्विपले स्तब्ध हुन पुगेको छ भने न्युजिल्यान्डसँगको पहिलो पटक नै सबै खेल गुमाएको छ। ओपनरद्वय हेनरी निकोल्सले ८० रन र मार्टिन गुप्टिलले ६० रन बनाउँदै न्युजिल्यान्डलाई राम्रो सुरुआत दिलाएका थिए। मध्यक्रमका ब्याट्सम्यान कोलिन डी ग्रान्डहोमले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अविजित ५८ रन बनाएपछि न्युजिल्यान्डले पाँच विकेटको क्षतिमा जित निकालेको थियो।

भारतका युजभेन्द्र चाहलले तीन विकेट लिँदा शार्दूल ठाकुर र रवीन्द्र जडेजाले १/१ विकेट निकाले पनि न्युजिल्यान्डको जित रोक्न सकेनन्। त्यसअघि लोकेश राहुलले ११२ रन बनाउँदा भारतले विशाल लक्ष्य बनाएको थियो। भारतका लागि श्रेयस ऐयर ६२ रन, मनीष पाण्डेले ४२ रन र पृथ्वी सले ४० रन बनाएका थिए। भारतले न्युजिल्यान्डसँगको टेस्ट शृंखला २१ फेबुअरीदेखि खेल्नेछ।

सन् १९८९ पछि भारत पहिलो पटक एकदिवसीय क्रिकेट शृंखलामा क्लिन स्विपले स्तब्ध हुन पुगेको छ।

प्रकाशित: २९ माघ २०७६ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App