१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

साग विजेतालाई वडाको सम्मान

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्नो वडाका खेलाडी र प्रशिक्षकलाई काठमाडौं महानगरपालिका वडा–३२ ले शनिबार नगदसहित सम्मान गरेको छ।

उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते, लन टेनिस र बास्केटबलमा पदक जितेका थिए। खेलाडीले तेक्वान्दोमा तीन स्वर्ण र दुई कांस्य, करातेमा १ स्वर्ण, बास्केटबल (थ्री बाइ थ्री) मा १ रजत र लन टेनिसमा २ कांस्य जितेका थिए। स्वर्ण विजेता तेक्वान्दोका सक्षम कार्की, काजल श्रेष्ठ र भूपेन श्रेष्ठ तथा करातेका विप्लवलाल श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार पाए। रजत विजेता बास्केटबलका मनीष केसी २० हजार नगदबाट पुरस्कृत भए।

कांस्य विजेता तेक्वान्दोका ज्ञानेन्द्र हमाल र मनोज मल्ल तथा लनटेनिसका दाजुभाइ संरक्षकभूषण वज्राचार्य र सम्यकलाई समान १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुने मुख्य प्रशिक्षकद्वय तेक्वान्दोका नवीनकुमार श्रेष्ठ र लन टेनिसकी रेणुदेवी कोण्डा वज्राचार्य छन्। नवीनले ५१ हजार तथा रेणुले ११ हजार नगद पुरस्कार पाए। सोही अवसरमा दक्षिण कोरियाको मुजुमा भएको कोरियन एम्बासडर कप वल्र्ड तेक्वान्दो च्याम्पियनसिपका रजतविजेता रञ्जित साउदलाई पनि २० हजार नगदसहित पुरस्कृत गरिएको थियो।

कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र वडा–३२ का अध्यक्ष नवराज पराजुलीले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका थिए।

प्रकाशित: १२ माघ २०७६ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App